रुघाखोकीको औषधि बनाउने धूलो तस्करी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुघाखोकीको औषधि बनाउने धूलो तस्करी

पक्राउ परेका चाओ न्युजिल्यान्डमा लगेर स्युडोइफेड्रिन बेच्ने तयारीमा थिए ।
कान्तिपुर संवाददाता

काठमाडौँ — रुघाखोकीको औषधि बनाउने रासायनिक पदार्थ स्युडोइफेड्रिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी हुने गरेको भेटिएको छ । गिरोहले स्युडोइफेड्रिनको धूलो विदेश लगेर आइसड्रग (सेन्थेटिक ड्रग) बनाउन प्रयोग गर्ने गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले बताएको छ । यसअघि मंसिर १३ मा प्रहरीले सोही लागूऔषधबाट निर्मित १ केजी २ सय ग्राम र असोज १४ मा १ केजी आइसड्रग बरामद भएको थियो ।

शनिबार ३१ वर्षीय चिनियाँ नागरिक झाङ चाओ ४ केजी २ सय ग्राम रसायन पदार्थसहित ठमेलबाट पक्राउ परेका छन् । नेपालमा उक्त धूलोको मूल्य २ लाख रुपैयाँ पर्छ । तर, न्युजिल्यान्डमा त्यसको मूल्य करिब ५० हजार अमेरिकी डलर पर्ने ब्युरोका अधिकारीले बताए । चीनबाट मंसिर १५ मा काठमाडौं आएका उनलाई ब्युरोले कार्गोबाट न्युजिल्यान्ड पठाउन लागिएको लागूपदार्थसहित समातेको हो । प्रहरीलाई दिएको बयानमा चाओले न्युजिल्यान्डमा लगेर बेच्ने तयारीमा रहेको उल्लेख गरेका छन् ।


चीनबाट तेस्रो मुलुक जान कडाइ गरिएकै कारण नेपाली हवाईमार्ग हुँदै उनी उक्त लागूपदार्थ न्युजिल्यान्ड पठाउने तयारीमा थिए । चिनियाँ नागरिकबाट आइसड्रगको कच्चापदार्थ बरामद भएको घटना यो पहिलो रहेको ब्युरोका एसपी वीरेन्द्र बस्यालले बताए । पक्राउ परेका चाओ लागूऔषध तस्करीका मुख्य कारोबारी भएको ब्युरोको दाबी छ । यसअघि भारत हुँदै औषधि बनाउने कच्चापदार्थ आयात हुने गरेकोमा तस्करले चीन र अन्य मुलुकबाट पनि नेपाल हुँदै यसको तस्करी गर्न थालेको अनुसन्धानबाट देखिएको छ । पछिल्लो ६ वर्षमा मात्रै लागूऔषध तस्कर र नेपालका केही औषधि उत्पादक कम्पनीले स्युडोइफेड्रिनसहितको ४ सय ९४ केजी धूलो बरामद भएको थियो ।


‘आयात र उत्पादनबीच तालमेल खान्छ कि खाँदैन भनेर अनुगमन र नियमन गर्ने हो भने औषधि बनाउने कच्चापदार्थको धूलो कति तस्करी हुन्छ भन्ने यकिन विवरण आउँछ,’ बस्यालले भने, ‘औषधि उत्पादनको नियमनमा औषधि व्यवस्था विभाग र कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त पहल आवश्यक छ ।’ गत वर्ष यस्तो पाउडर ६ सय ८४ ग्राम बरामद भएकोमा ०७४ मा ४ सय ९१ केजी र ०७१ मा १५ केजी बरामद भएको ब्युरोले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर २२, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा बुद्धबारे प्रवचन

कम्बोडिया, म्यानमार, श्रीलंका, कोरिया, भियतनाम, नेपाल, लाओस र थाइल्यान्डलगायत मुलुकका डेढ सयभन्दा बढी भिक्षु/भिक्षुणी, बौद्ध विद्वान् र अनुसन्धानकर्ताका अघि नेपाली पुरातत्त्वविद्ले दिए उत्कृष्ट प्रस्तुति
मनोज पौडेल

महाराष्ट्र, भारत — वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी बुद्ध दर्शनबारे चासो राख्नेका लागि नयाँ नाम होइन । गत साता उनले भारतका दुई सहरमा यहाँका बुद्ध सम्पदाबारे प्रवचन दिए । सुरुमा भारतको कान्छो राज्य तेलङ्गना पुगे ।

त्यहाँको राज्य सरकारको ‘डिपार्टमेन्ट अफ हेरिटेज’ द्वारा मंसिर १ देखि ४ गतेसम्म आयोजित अन्तर्राष्ट्रिय तेलाङ्गना बौद्ध संगीतका प्रमुख वक्ता उनै थिए । विभिन्न १२ मुलुकका बौद्धस्थल, साहित्य र सभ्यताका जानकार पुरातत्त्वविद् सहभागी कार्यक्रममा उनले ‘बुद्धिष्ट हेरिटेज अफ नेपाल–तराई’ विषयमा कार्यपत्र प्रस्तुत गरे । ‘बुद्धलाई शान्तिका लागि उत्प्रेरित गर्ने भूमि नेपाल हो,’ उनले भने, ‘त्यहीँ पाएको ध्यानलाभले भारतमा ज्ञान प्राप्त गरे ।’

बुद्ध जन्मस्थल लुम्बिनी हो र यो सगरमाथाको मुलुकमा रहेको छ भन्ने सन्देश पनि उनले प्रस्ट शब्दमा राखे । संसारभर अशान्ति र द्वन्द्व बढ्दै गएका बेला बुद्धको शान्ति शिक्षाबाट सबैले प्रेरणा लिन सकेमा जीवन र जगत् सार्थक हुने उनले सुनाए । कार्यक्रममा उनले शान्तिमा जोड दिएपछि अफगानिस्तानको ‘इन्स्टिच्युट अफ आर्कजोजी’ का निर्देशक नूर अगहा नुरीले मञ्चमै पुगेर उनीसँग अंकमाल गरे । उत्कृष्ट प्रस्तुतिका लागि धन्यवाद दिए ।

गौतम बुद्धभन्दा अघिका कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल कपिलवस्तुको निग्लिहवा र गोटिहवा पनि नेपालकै रहेको उनले बताए । शाक्यवंशीय राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतमले २९ वर्षको युवावस्था बिताएको प्राचीन कपिलवस्तु (तिलौराकोट) बारे जानकारी गराए । ‘त्यहाँ भएका अध्ययन/अनुसन्धानले पुष्टि भइसकेको कुरा हो,’ उनले भने, ‘समग्रमा नेपाललाई बुद्ध संग्रहालय भन्न सकिन्छ ।’ लुम्बिनी र आसपास २ सय ४० भन्दा बढी बुद्धस्थल छन् । तेलङ्गनामा पनि बुद्धसँग सम्बन्धित धेरै ठाउँ छन् । त्यसैले पर्यटन प्रवर्द्धनदेखि शान्तिका लागि सहकार्य गर्न सक्यौं भने दुवै मुलुकलाई उत्तिकै फाइदा पुग्ने बिडारीले बताए । चारदिने कार्यक्रममा १२ मुलुकका पुरातत्त्वविद्ले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल, भारत, श्रीलंका, बंगलादेश, थाइल्यान्ड, पाकिस्तान, भुटान, अस्ट्रेलिया र अफगानिस्तानलगायत मुलुकका ३० भन्दा बढी बौद्ध सम्पदाका पुरातत्त्वविद् र अन्वेषक सहभागी थिए । त्यस्तै तेलङ्गना सरकारका मन्त्री, सांसद, उच्च अधिकारी, पुरातत्त्वविद्, पर्यटन उद्यमी र बौद्ध अनुयायी सहभागी थिए । बिडारीको विद्वत्ता, तर्कसंगत तथ्य र प्रमाण प्रस्तुतीकरणका कारण उनलाई तेलङ्गना सरकारले पुरातात्त्विक परामर्शदाता बन्न आग्रह गरेको छ । त्यस्तै उनीसँग तस्बिर खिचाउनेको उत्तिकै भीड थियो ।

तेलङ्गनापछि बिडारी नजिकैको अर्को महाराष्ट्र राज्यमा पुगेका थिए । औरंगावाद जिल्लाको बाबासाहेब अम्बेडकर विश्वविद्यालय अडिटोरियममा नेपालका बौद्ध सम्पदा विषयमा मंसिर ७ देखि ९ गतेसम्म आयोजित कार्यक्रममा उनले कार्यपत्र प्रस्तुत गरे । ‘संसारकै शान्तिमय धरोहर लुम्बिनी हो, जहाँ राजकुमार सिद्धार्थको जन्म भएको थियो,’ उनले भने, ‘यो नेपालमा पर्छ । लुम्बिनी विश्व शान्तिको मुहान हो । त्यही भएर संसारभरबाट लुम्बिनी दर्शन गर्न सबै लालायित हुन्छन् । त्यहाँको माटो छुन पाउँदा भाग्यमानी सम्झन्छन् ।’

यस्तो ठाउँ लुम्बिनीमा पुगेर शान्तिको पुण्य सञ्चय गर्न उनले सबैमा आग्रह गरे । त्यहाँका मुख्य आकर्षण मायादेवी मन्दिर र सम्राट अशोकले बनाएका अशोक स्तम्भ रहेको, मन्दिर परिसरमा बुद्धजन्म स्मारक शिला, मायादेवीको मूर्ति, पुष्करणी पोखरी र स्तूपहरू उत्तिकै श्रद्धा र आस्थाका प्रतीक रहेको उनले बताए ।

पश्चिम नवलपरासीदेखि कपिलवस्तुसम्मका धेरै बौद्धस्थल करुणा र भ्रातृत्वको सन्देश दिन प्रतीक्षारत रहेको बताउँदै तीनदिने ऐतिहासिक अन्तर्राष्ट्रिय धम्म परिषद्को दोस्रो दिन उनले डेढ घण्टा बढी प्रस्तुति दिए । कार्यक्रममा कम्बोडिया, म्यानमार, श्रीलंका, कोरिया, भियतनाम, नेपाल, लाओस र थाइल्यान्डलगायत मुलुकका डेढ सयभन्दा बढी भिक्षु/भिक्षुणी, बौद्ध विद्वान् र अनुसन्धानकर्ता सहभागी थिए । बालबालिकादेखि पाकासम्मको थामी नसक्नु भीड थियो । सयौंको संख्याका बीच उपासक उपासिका, भिक्षु/भिक्षुणी र विद्वान् सहभागी कार्यक्रममा नेपालका बौद्धस्थल, त्यसको महत्त्व र गरिमाका बारे प्रस्तुति गर्न पाउँदा संसारका धेरै मुलुकमा लुम्बिनी र अन्य बुद्धस्थलको पवित्रता र आध्यात्मिकता फैलाउन सहयोग पुगेको उनले बताए । ‘यसले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने भयो,’ उनले भने, ‘हैदराबाद र औरंगाबादमा आयोजित सम्मेलनमा नेपालको पर्यटन प्रवर्द्धनलाई राम्रो उपयोग गरियो ।’

प्रकाशित : मंसिर २२, २०७६ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×