१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पाउँदीमा बस दुर्घटना हुँदा १ मुत्यु, ५ घाइते

आश गुरुङ

(लमजुङ) — लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा आइतबार बिहान यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग१ख ५७९९ नम्बरको बस सडकबाट पाउँदी खोलामा खस्दा अन्दाजी २८/३० वर्षकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाउँदीमा बस दुर्घटना हुँदा १ मुत्यु, ५ घाइते

डीएसपी रबिन्द्रमान गुरुङका अनुसार मृत्कको सनाखत हुन सकेको छैन । शव सुन्दरबजारको कर्मदा सामुदायिक अस्पतालमा रहेको र एकजनाको उक्त अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । केही हराइरहेको आशंकामा खोजी भइरहेको उनले बताए । दुर्घटना क्षेत्र लमजुङ र तनहुँ सीमाक्षेत्रमा पर्छ । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार गरेका थिए ।


४ जना घाइतेलाई पुरानो चितवन मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । १ जनाको अवस्था सामान्य छ । बसमा १२ देखि १४ जना जना रहेको हुनसक्ने प्रहरीले बताएको छ । चालक तनहुँको भन्सारका कृष्णबहादुर आले सम्पर्कमा आएको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ । यात्रु बोकेर गएको उक्त बसमा सवार अन्यको अवस्था सामान्य रहेको उनले बताए । दुर्घटना पाउँदीको लमजुङ प्रवेश गेटमै राखिएको प्रहरी बिट नजिकै भएको हो । घटनाको सवै विवरण भने अझै आउन बाँकी छ ।


घटना बिहान करीब ७ बजेतिर भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार सवारी ओभरटेक गरी यात्रु बटुल्ने क्रममा पाउँदी पुगेको बस ओरालोमा रोकेर चालक र सहयोगी यात्रु खोज्न हिँडेको र त्यही बेला बस गुडेर दुर्घटनामा परेको हो । बस सडकबाट करीब डेढसय सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।


प्रत्यक्षदर्शी दूधपोखरी गाउँपालिका ४, सामघडेरीका जीवलाल तामाङका अनुसार सडकबाट गुडेको बस खसेर रुखमा अड्किएको थियो । ‘म पारीपट्टी (तनहुँतर्फ) गोरु जोत्दै थिएँ । बस एक्कासी खसेपछि के आयो भनेर म भागें’ उनले भने । रुखले पनि धान्न नसकेपछि बस पाउँदीखोलामा खसेको हो । भोटेओडारका प्रितम गुरुङका अनुसार बस पाउँदीमा आधा डुबेको अवस्थामा छ । केही हराइरहेको हुनसक्ने भन्दै खोजी भइरहेको छ ।


प्रकाशित : मंसिर २२, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?