कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मागेरै अन्तरजातीय बिहे

वसन्तप्रताप सिंह

(बझाङ) — गाडी/घोडासहितको जन्तीको लावालस्कर खलापाटा गाउँबाट रैकोसीतिर जाँदै थियो । वडाध्यक्ष जयबहादुर मल्ल, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसहित करिब ३ सय गैरदलित जन्तीको लस्कर एकाएक दलित बस्तीतिर मोडियो । बेहुलीघर ध्वजा–पताकाले सिँगारिएको थियो । दुलहीका बुबा रमेश विकले जन्तीलाई टीका लगाइदिए । गाउँका अरू दलितले चिराग बालेर दुलाहा पक्ष र जन्तीको स्वागत गरे । 

दुलाहा थिए स्थानीय गैरदलित समुदायका दीपक बोहरा । दुलहीको माइती घरभित्र वैवाहिक कार्यक्रम हुँदै थियो । आँगनमा जन्ती र दुलही पक्षको रातभर नाचगान र रमाइलो चल्यो । सबै जन्तीले त्यहीँ खाना खाए । त्यो रात दलित बस्तीमै बिताए । जन्तीमध्ये ९५ प्रतिशतभन्दा बढी मानिस दलितको घरमा खाना खाएर त्यहीँ पहिलोपटक सुतेका थिए ।


अन्तरजातीय विवाह गरेका कारण आफ्नो जन्मथलो छाडेर भाग्नुपरेको, हिंसाको सिकार हुनुपरेको घटना थुप्रै छन् । झन् बझाङमा त छुवाछूत यतिसम्म व्याप्त छ कि कानुनले दण्डनीय भन्दाभन्दै पनि दलितहरूमाथि सार्वजनिकस्थलमै विभेद हुने गरेका छन् जसलाई यहाँको समाजले सामान्य रूपमा लिने गरेको छ । दलितसँग प्रेमसम्बन्ध भएका कारण समाज मात्रै होइन परिवारबाटै बहिष्कारमा पर्ने पनि जिल्लामा धेरै छन् । परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ सम्पन्न भएको यो विवाह भने छुवाछूतविरुद्ध नमुना भएको छ । बित्थडचिर गाउँपालिका–९ सुनकुडा, खलापाटाका दीपक बोहराले त्यही वडामा पर्ने रैकोसी गाउँकी रूपाकुमारी विकसँग मागीविवाह गरेको कुराले जिल्लाभरि चर्चा पाएको छ ।


‘सुरुमा त दलितको घरमा जन्ती कसरी जाने होला भनेर अप्ठ्यारो लागेको थियो,’ दीपकका एक छिमेकी केश विष्टले भने, ‘पछि उनीहरू बिहे नै गर्छन् भने हामीलाई जन्ती जान के अप्ठ्यारो भन्ने लाग्यो । गाउँका सबै जन्ती गयौं । घुमधामसँग विवाह भयो ।’ बेहुलाका बुबा कलकले भने मान्छे मान्छेबीचको विभेद तोड्न आफूले धुमधामसँग दलितकी छोरीलाई बुहारीका रूपमा भित्र्याएको बताए । ‘जमाना कहाँ पुगिसक्यो । हामी यो जात र त्यो जात भन्दै बसेका छौं,’ उनले भने, ‘हाम्रै पालामा यो अन्धविश्वास हटाउन सकेनौं भने अझै पछि पर्छौं ।’ उनले अन्तरजातीय विवाह भए पनि जन्तीमा गाउँलेको भव्य उपस्थितिले अन्धविश्वासको जरा कमजोर हुँदै गएको आफूले अनुभव गरेको बताए । दुलाहा दीपकले पनि आफूले चाहेको कन्यालाई जीवनसाथीका रूपमा पाउँदा निकै खुसी लागेको बताए । ‘गाउँलेले कुरा काट्छन् कि भन्ने लागेको थियो । तर सबै जन्ती गइदिए । मलाई त निकै खुसी लागेको छ,’ उनले भने ।


सामाजिक विभेद अन्त्यका लागि महत्त्वपूर्ण भुमिका खेलेको भन्दै बित्थडचिर गाउँपालिकाले यस जोडीलाई सम्मान गर्ने भएको छ । ‘जिल्लामै पहिलोपटक सामाजिक रूपमै स्वीकार गरेर अन्तरजातीय विवाह भएको यो पहिलोपटक हो,’ गाउँपालिकाका प्रवक्ता हर्क बोहराले भने, ‘यसले हाम्रो गाउँपालिकाको इज्जत बढाएको छ ।’

प्रकाशित : मंसिर २२, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

विद्यार्थीलाई १ लाखको उपचार

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई १ लाख रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा दिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरि अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगन्जबाट त्रिविले यस्तो सुविधा दिनेछ । 

हालै बसेको त्रिवि सभा (सिनेट बैठक) ले प्रतिविद्यार्थी दिइँदै आएको ५० हजार रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा बढाएर १ लाख पुर्‍याएको हो । त्रिविले ती अस्पतालसँग विद्यार्थीलाई नि:शुल्क उपचार सेवा दिने सम्झौता गरिसकेको छ । सम्झौताअनुसार अस्पतालले विद्यार्थीलाई प्रयोगशाला परीक्षण र नि:शुल्क रूपमा बेड उपलब्ध गराउनेछन् ।

त्रिविले विद्यार्थीबाट उपचार खर्चबापत प्रतिविद्यार्थी ५ सय रुपैयाँ शुल्क लिँदै आएको छ । आव ०७३/७४ देखि विद्यार्थीको स्वास्थ्योपचार कोष खडा गरी त्यसैबाट नि:शुल्क उपचार सेवा दिन थालेको हो । अन्य अस्पतालबाट समेत विद्यार्थीलाई उपचार सुविधा दिने गृहकार्य भइरहेको त्रिवि स्रोतले जानकारी दिएको छ । सम्बन्धनप्राप्त कलेजका विद्यार्थीलाई समेत उपचार सुविधा थप्ने तयारी त्रिविको छ । त्रिविमा ६२ आंगिक र एक हजार सम्बन्धन प्राप्त कलेज छन् ।

त्रिविले आफूसित सम्बन्धन लिएका कलेजलाई समेत अनिवार्य १० प्रतिशत विद्यार्थीलाई पूर्ण नि:शुल्क छात्रवृत्ति दिन निर्देशन दिएको छ । यसअघि त्रिविका आंगिक कलेजमा मात्र विद्यार्थीले छात्रवृत्ति पाउँदै आएका थिए । त्रिविले छात्रवृत्तिका लागि ३ करोड ७१ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित : मंसिर २२, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×