कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामुकै भरमा ६ विश्वविद्यालय

सुदीप कैनी

काठमाडौँ — छ विश्वविद्यालय तीन महिनादेखि कायममुकायम उपकुलपतिका भरमा चलिरहेका छन् । पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् । रिक्त पदाधिकारीमा नियुक्तिका लागि नाम सिफारिस हुन नसक्दा ती विश्वविद्यालय उपकुलपतिविहीन बनेका हुन् । 

कामुकै भरमा ६ विश्वविद्यालय

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित उपकुलपतिको नाम सिफारिस समितिले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्भावित उपकुलपतिहरूको नाम सिफारिस गर्न नसकेको हो । विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि सूची तयार पार्न सिफारिस समितिले सार्वजनिक रूपमा आवेदन माग गरेको थियो । आवेदन दिने म्याद सकिएको एक महिना बितिसक्दा पनि आवेदकको सूचीसमेत सार्वजनिक गरिएको छैन ।


उपकुलपति रिक्त सात विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि विश्वविद्यालय ऐनअनुसार सिफारिस समिति गठन गरिएको थियो । समितिको सिफारिसमा कुलपतिले त्रिभुवन विश्वविद्यालयमा एक महिनाअघि उपकुलपति नियुक्त गरेका थिए । शिक्षामन्त्री पोखरेल र शिक्षा सचिव महेशप्रसाद दाहाल युनेस्कोको बैठकमा सहभागी हुन दुई साताको विदेश भ्रमणमा रहेकाले अन्य विश्वविद्यालयमा सिफारिस गर्न ढिलाइ भएको जानकारी मन्त्रालय स्रोतले दिएको छ । उनीहरू मंसिर पहिलो साता स्वेदश फर्किसकेका छन् । त्यसपछि समितिको बैठक बसे पनि नाम सिफारिस गर्न सकेको छैन । उपकुलपति बन्नका लागि प्रत्येक विश्वविद्यालयमा १० जनाभन्दा बढीले इच्छा देखाएकाले तीमध्ये योग्य र सक्षम व्यक्तिको खोजी गरिरहेको सिफारिस समितिका एक सदस्यले बताए ।


पोखरा, पूर्वाञ्चल, संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा सर्च कमिटी बनेका छन् । सुदूरपश्चिम र मध्यपश्चिममा शिक्षा सचिव महेश दाहाल र अर्थ सचिव राजन खनाल सदस्य छन् ।


पोखरामा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी र शिक्षा सचिव दाहाल सदस्य छन् । पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सिफारिस कमिटीमा झा र शिक्षा सचिव दाहाल सदस्य छन् । कृषि विश्वविद्यालयको सर्च कमिटीमा दाहाल र अध्यक्ष सुवेदी सदस्य छन् । यी विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी बन्न ७० जनाभन्दा बढीले आवेदन दिएका छन् । सिफारिस समितिले भने नाम रुजु गर्ने क्रममा रहेको भन्दै रोस्टर सार्वजनिक गरेको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रोस्टर तयार पार्ने र त्यहीभित्रबाट विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति गर्ने बताउँदै आएका छन् ।


शिक्षा मन्त्रालयका उपसचिव पुष्प ढकालले सिफारिस समितिले केही दिनमै नाम टुंगो लगाउने गरी काम गरिरहेको जनाए । ‘विभिन्न कारणले गर्दा सिफारिस गर्न केही ढिलाइ हुनपुग्यो, रोस्टर तयार गर्न पनि समय लाग्यो,’ उनले भने, ‘एक/दुई दिनमै सिफारिसको काम सक्ने गरी तयारी छ ।’ छुट्टाछुट्टै सिफारिस समितिको बैठक बस्नसमेत असहज भएकाले ढिलाइ हुन पुगेको दाबीसमेत उनको छ । उनले भने, ‘कुलपति पनि स्वास्थ्य उपचारमा हुनुहुन्छ, पर्याप्त परामर्श पनि हुन सकेको छैन, अब धेरै ढिला हुँदैन ।’


मन्त्रालयका अधिकारीहरूले सिफारिस समितिले प्रधानमन्त्रीकै चाहनाअनुसार नाम सिफारिस गर्ने हुँदा निर्णय लिन नसकेको जनाए 

प्रकाशित : मंसिर २२, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?