कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उपनिर्वाचन समीक्षा : लोकप्रिय मतमा नेकपालाई पछ्याउँदै कांग्रेस 

राजेश मिश्र

काठमाडौँ — उपनिर्वाचनमा जितेको पद संख्यामा सत्तारूढ नेकपाले कांग्रेसलाई धेरै पछाडि पारे पनि लोकप्रिय मत भने थोरै मात्र अन्तर रहेको छ । 

उपनिर्वाचन समीक्षा : लोकप्रिय मतमा नेकपालाई पछ्याउँदै कांग्रेस 

प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका रिक्त ५२ स्थानका लागि भएको उपनिर्वाचनमा नेकपा र जनमोर्चाको गठबन्धनले ३१ स्थान जित्दा कांग्रेसले १३ मात्रै जितेको छ । वाम गठबन्धनले ६० र कांग्रेसले २५ प्रतिशत स्थान जितेका हुन् । लोकप्रिय मत अन्तरमा भने कांग्रेस वाम गठबन्धनभन्दा ५ प्रतिशतले मात्रै पछाडि छ ।


तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपा र जनमोर्चाको गठबन्धनले कुल सदर मतको ४७ दशमलव २० प्रतिशत मत प्राप्त गरेको छ । कांग्रेसका सबै उम्मेदवारले प्राप्त गरेको कुल मत प्रतिशत ४१ दशमलव १६ हो । उपनिर्वाचनमा २ लाख ९४ हजार १७ मत सदर भएको थियो । त्यसमा नेकपाले १ लाख २७ हजार ३८, कांग्रेसले १ लाख २१ हजार १८ र राष्ट्रिय जनमोर्चाले ११ हजार ७ सय ३९ मत ल्याएका छन् । उपनिर्वाचनको ५२ वटै स्थानमा नेकपा–जनमोर्चाले प्राप्त गरेको मत र कांग्रेसको मत अन्तर १७ हजार ७ सय ५९ छ । नेकपा र कांग्रेसबीचको मत अन्तर ६ हजार २० छ । नेकपाले ४३ दशमलव २०, कांग्रेसले ४१ दशमलव १६ र जनमोर्चाले ३ दशमलव ९९ प्रतिशत मत ल्याएका छन् ।


०७४ मा भएको प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको दलगत मत अन्तर उपनिर्वाचनमा घटेको देखिन्छ । त्यतिबेला प्रत्यक्षतर्फ तत्कालीन एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ५१ दशमलव ४८ प्रतिशत मत प्राप्त गर्दा कांग्रेसले प्राप्त गरेको मत ३५ दशमलव ७४ प्रतिशत थियो । समानुपातिकतर्फ वाम गठबन्धनको कुल मत ४७ दशमलव ५४ प्रतिशत र कांग्रेसको ३२ दशमलव ७७ प्रतिशत थियो । प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहतर्फ नगरप्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ पदका लागि उपनिर्वाचन भएको हो । नेकपाले यसअघि जितेका प्रदेशसभाको भक्तपुर १(१) र धरान उपमहानगरपालिकाको प्रमुख पद यसपटक गुमाएको छ । ती दुवै पद कांग्रेसले जितेको छ । यसअघि कांग्रेसले जितेका पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद यसपटक नेकपाले हात पारेको छ ।


निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको एक सिटमा नेकपाले ५४ दशमलव २७ प्रतिशत मत ल्याउँदा कांग्रेसले ३५ दशमलव ५८ प्रतिशत ल्याएको छ । प्रदेशसभामा कांग्रेसले ४३, नेकपाले ३६ दशमलव ५६ र जनमोर्चाले ११ दशमलव ५७ प्रतिशत मत प्राप्त गरेका छन् ।


स्थानीय तहमा १ लाख ५२ हजार ४ सदर मतमध्ये नेकपाले ४४ दशमलव १८ प्रतिशत मत ल्याउँदा कांग्रेसले ४१ दशमलव ६२ प्रतिशत मत प्राप्त गरेको छ । नेकपाले ६७ हजार १ सय ५२ र कांग्रेसले प्राप्त गरेको मत संख्या ६३ हजार २ सय ५८ छ । स्थानीय तहमा दुई दलबीचको मत अन्तर ३ हजार ८ सय ९४ मात्रै छ । स्थानीय तहमा जनमोर्चाले ५ सय ४ मत ल्याएको छ । समाजवादी पार्टीले तीनवटै तहमा उम्मेदवारी दिएकामा उसले ३ दशमलव ४६ प्रतिशत मत प्राप्त गरेको छ । स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको राजपाले ४ दशमलव ०५ प्रतिशत मत ल्याएको छ । स्थानीय तहमा समाजवादीले प्राप्त गरेको मत राजपाको भन्दा थोरै बढी ५ दशमलव ११ प्रतिशत हो । ०७४ को चुनावमा प्रत्यक्षतर्फ समाजवादीले ५ दशमलव २५ र राजपाले ४ दशमलव ५६ प्रतिशत प्राप्त गरेका थिए ।


प्रकाशित : मंसिर २१, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?