उपनिर्वाचन परिणामलाई लिएर कांग्रेसमा मत बाझियो

मंसिर २६ को केन्द्रीय कार्यसमिति बैठकमा समीक्षा हुने
सरकारको अलोकप्रियताको स्तर अनुसार कांग्रेसले मत ल्याउन सकेन : पौडेल
धरान र भक्तपुरको नतिजा अर्थ र महत्वपूर्ण छ, यसले उत्साह ल्याएको छ : निधि
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसमा उपनिर्वाचनको परिणामलाई लिएर संस्थापन र संस्थापन इतरपक्षबीच मत बाझिएको छ । संस्थापन पक्षले निर्वाचन परिणामलाई सकारात्मक रुपमा लिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सरकारको अलोकप्रियताको फाइदा लिन नसकिएको धारणा राखेका छन् ।

ZenTravel


सरकारप्रतिको वितृष्णालाई मतमा परिणत गर्न नसक्नुमा पार्टी नेतृत्वको कार्यशैलीलाई संस्थापन इतरपक्षले दोषी देखाएको छ। पार्टीको सांगठनिक गतिविधि र कार्यक्रमले भन्दा सरकारप्रतिको असन्तुष्टिका कारण धरान, भक्तपुर र चितवनमा कांग्रेसको मत बढेको उनीहरुको तर्क छ। संस्थापन पक्ष यो तर्कसँग सहमत छैन। सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरुले कांग्रेसका पक्षमा जनमत आकर्षित हुन थालेको टिप्पणी गर्न थालेका छन्।

Meroghar


कांग्रेस वरिष्ठ नेता पौडेलले सरकारको अलोकप्रियताको स्तर अनुसार पार्टीले जनमत लिन नसकेको बताए। 'उपनिर्वाचनको मत परिणामलाई हेर्दा विशेष उत्साहजनक भएन। सरकारको अलोकप्रियताको फाइदा हामीले लिन सकेनौं' पौडेलले कान्तिपुरसँग भने, 'यसबारे पार्टीको बैठकमा पनि समीक्षा हुनेछ।'

पार्टीका आन्तरिक मुद्दा र उपनिर्वाचनका समीक्षाका लागि कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बोलाएका छन्। पौडेलले उक्त बैठकमै निर्वाचनको विस्तृत समीक्षा हुने बताए। 'तर यो निर्वाचनबाट मुलुकमा कांग्रेस र कम्युनिष्ट नै प्रमुख शक्ति हुन् भन्ने प्रमाणित भएको छ, तेस्रो शक्ति दिएन,' उनले भने, 'सरकार अलोकप्रिय बने पनि नेकपाको तलसम्मको पार्टी संगठनले काम गरेको देखियो।'

पार्टी उपसभापति विमलेन्द्र निधिले भक्तपुर, चितवन र धरानको मत परिणाम अर्थ र महत्वपूर्ण रुपमा लिनुपर्ने बताए। 'यो मत परिणामले आम कांग्रेसप्रति उत्साह छाएको छ' निधिले भने, 'कांग्रेसले विगतमा जितेका कतिपय ठाउँ गुमाउनु परेको छ तर समग्रमा कांग्रेसका लागि यो मत परिणाम सकारात्मक छ।' मंसिर १६ गते पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश २ को रौतहट, सुदूरपश्चिमको बैतडी, प्रदेश ५ को अर्घाखाँची , प्रदेश ३ को चितवन र प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरको प्राप्त परिणामले कांग्रेस उत्साही भएको बताएका थिए। उनले विगतमा जितेको १ गाउँपालिकाको अध्यक्ष, १ उपाध्यक्ष र केही वडा अध्यक्षहरु गुमाएकोमा सांगठिनक कमजोरी औल्याए पनि नेतृत्वको कार्यशैलीप्रति लक्षित गरेका छैनन्।

कांग्रेस नेता रामशरण महत अहिलेको नतिजाबाट सन्तुष्ट हुने ठाउँ नभएको बताउँछन्। 'हामीले यो भन्दा राम्रो नतिजा आउँला भन्ने सोचेका थियौं, सरकारको अलोकप्रियताका कारण पोखरा, बागलुङ र दाङमा समेत कांग्रेसको पक्षमा राम्रो मत आउँला भन्ने सोचिएको थियो। तर आउन सकेन' उनले भने।

महतले यसमा पार्टी नेतृत्वकै समस्यालाई कारण मानेका छन्। पार्टी सञ्चालनको कमीकमजोरी र संगठनप्रतिको आम निराशाका कारण कांग्रेसले सरकारको वितृष्णाकै तहअनुसार मत ल्याउन नसकेको महतको ठम्याई छ। कांग्रेसभित्र कास्की-२ को निर्वाचनलाई मुख्य रुपमा नियालिएको थियो। रविन्द्र अधिकारीको निधनपछि रिक्त उक्त निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्नेमै कांग्रेसभित्र सुरुमै विवाद भयो। सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि पौडेल र सिटौला पक्षले हार र जितको जिम्मेवारी लिनुपर्ने भन्दै उम्मेदवार चयनको जिम्मा सभापति देउवालाई दिएका थिए। देउवाले आफू निकटका पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएका थिए। नेकपाले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो। विगतको निर्वाचनमा भन्दा केही मत बढी अन्तरमा नेकपाका उम्मेदवार भट्टराईले चुनाव जितेपछि कांग्रेसभित्र यसैले बढी चर्चा पाएको छ। सहानुभूतिको मत मात्रै नभएर नेकपा उम्मेदवारलाई कांग्रेसकै मत समेत परेको विश्लेषण समेत कांग्रेसमा हुन थालेको छ।

'अघिल्लो पटक चुनाव जितेर संसदमै आएपछि हामीसँगै रविन्द्र अधिकारीले म त कांग्रेसकै मतले चुनाव जितेको हो भन्थे, त्यतिबेला पनि ८ हजार हाराहारीकै अन्तर परेको थियो, अहिले पनि त्यस्तै अन्तरमा कांग्रेस उम्मेदवारले चुनाव हारेको छ' सभापति देउवा निकट एक नेताले भने,'अहिले पनि कांग्रेसको धेरै मत नेकपाको उम्मेदवारलाई गएको हामीलाई आशंका छ।'

केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टीको सांगठनिक प्रभावले भन्दा सरकारको वितृष्णाको मत कांग्रेसमा परेको बताउँछन्। 'उपनिर्वाचन आन्दोलनको रुपमा उठ्नुपर्दथ्यो, लाखौं हजारौंको जुलुस भन्दा पनि उपनिर्वाचनको जनमतबाट सरकार सच्चिने अवस्था बन्थ्यो', उनले भने, 'तर सरकार सच्चिने गरी कांग्रेसले जनमत ल्याउन सकेन। वैकल्पिक शक्तिमा पनि कुनै भरोसा देखिएन।' उनले कांग्रेसले राम्रो काम गरेर भन्दा पनि सरकारप्रतिको असन्तुष्टिका कारण धरान, भक्तपुर चितवनमा केही सुधार गर्न सकेको बताए।

'हामीले पाएको फ्रस्टेशनको मत हो, कांग्रेसले राम्रो गरेर पाएको मत होइन' उनले भने, 'नेकपासँग हाम्रो धेरै गहिरो मतान्तर छ, यसलाई मेट्न धेरै काम गर्नुपर्छ र सन्तुष्टि गरेर बस्ने अवस्था छैन।'

प्रकाशित : मंसिर २०, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्मचारीकै कारण संघीयता कार्यान्वयन जटिल : दाहाल

कान्तिपुर संवाददाता

धनगढी — नेकपा अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था फेरिए पनि कर्मचारीतन्त्र पुरानै अवस्थामा रहेकाले संघीय व्यवस्थामा चुनौती देखापरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा शुक्रबार उनले कर्मचारीतन्त्र फेरबेदल गर्न नसक्नु कमजोरी भएको बताए । ‘खटाएको ठाउँमा जान नमान्ने कर्मचारीकै कारण संघीयता कार्यान्वयनमा जटिलता थपिएको छ,’ उनले भने, ‘कर्मचारीतन्त्रलाई परिवर्तन गर्न नसक्दा हात्ती छिर्‍यो पुच्छर अडयो भनेजस्तो भएको छ ।’

नेकपा अध्यक्ष दाहालले विभिन्न बहाना बनाएर कर्मचारीले कामै अगाडि बढ्न नदिने गरेको बताए। ‘गणतन्त्रपछि सुरुमा प्रधानमन्त्री भएको मैले नै कर्मचारीतन्त्र फेरबदल गर्न सकिनँ, अहिले त झन् जटिल भएको देख्छु,’ उनले भने, ‘पुरानै व्यवस्थामा काम गरेका मुख्य सचिव, सचिव र उपसचिव भएपछि कसरी काम हुनु?’

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको ‘दिमाग खराब’ गर्ने गरेको उनको टिप्पणी थियो। कर्मचारीले जित्ने र नेताले हार्ने अवस्था आउन नहुने उनको भनाइ थियो। ‘हरेक राजनीतिक परिवर्तनलाई कर्मचारीतन्त्रले नै असफल पार्ने गरेको छ,’ उनले भने, ‘अहिले पनि पुरानै शैली र सोचका कर्मचारीकै कारण नेतृत्वलाई सोचेअनुरूपका काम गर्न असजिलो छ।’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले धनगढी–गेटा औद्योगिक करिडोरको प्रक्रिया अघि बढेको जानकारी दिए। उनले ५ वर्षभित्र सबै पालिकामा उद्योग ग्राम स्थापना गर्ने पनि बताए।

प्रदेश सरकारले प्रदेशमा वित्तीय पहुँचमा सुधार ल्याउने उपायको खोजी गर्न भन्दै वित्तीय सम्मेलनको आयोजना गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले वित्तीय सूचकांकमा पछाडि रहेको प्रदेशका लागि संघीय सरकारले गरेको राजस्व बाँडफाँट न्यायिक नरहेको बताए। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले औद्योगिक क्षेत्रमा कर्जा प्रवाह न्यून रहेको औंल्याए। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सांसद रणबहादुर रावलले सुदूरपश्चिम स्रोतले समृद्ध हुँदाहुँदै पनि सरकारकै कारण २ वर्षको अवधिमा ठोस परिवर्तन हुन नसकेको टिप्पणी गरे।

प्रकाशित : मंसिर २०, २०७६ २१:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×