कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विवादै विवादमा ‘सिद्धबाबा’

१५ वर्षअघि चतरा आएका ‘सिद्धबाबा’ (कृष्णबहादुर गिरी) यतिबेला प्रहरी नियन्त्रणमा छन् । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप छ । पक्राउ परेसँगै उनका विवादास्पद गतिविधिहरु एकपछि अर्को खुल्न थालेका छन् । 
प्रदीप मेन्याङ्बो

सुनसरी — दशकयता जगद्गुरु, अनन्तश्री र महायोगी सिद्धबाबाका रूपमा चिनिँदै आएका ४५ वर्षीय कृष्णबहादुर गिरी यतिबेला गम्भीर विवादमा फसेका छन् । उनीमाथि आफ्नै अनुयायी एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । त्यही उजुरीका आधारमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

विवादै विवादमा ‘सिद्धबाबा’

गिरी यसअघि पनि पटक–पटक यस्तै विवादमा मुछिएका थिए । उनले करिब चार वर्षअघि इटहरीको बालग्रामबाट पढाउन भन्दै चतरास्थित आश्रममा लगेका १३ र १२ वर्षका चापागाईं थरका दुई बालिकालाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो । हाल इटहरीमा पीडित महिलालाई आश्रय दिने मायाघरकी सञ्चालक समिति सदस्यसमेत रहेकी महिला सञ्जालकी सचिव शुभद्रा प्याकुरेलका अनुसार ती बालिका चार महिना नपुग्दै भागेर बालग्रामस्थित घरमा आएपछि दुर्व्यवहारबारे खुलेको थियो ।

‘बालग्रामका स्थानीय बासिन्दाले गिरीले बालिकाहरूलाई आश्रमको कोठामा लगेर दुर्व्यवहार गरेको जानकारी दिएपछि सुनसरीको ओरेक (महिला पुनर्स्थापना केन्द्र) र महिला सञ्जालका प्रतिनिधिले घटना बुझ्ने प्रयास गरेका थिए,’ प्याकुरेलले भनिन्, ‘तर अभिभावक र गिरीका भक्तले हामीलाई ती बालिकासँग भेट्न दिएनन् ।’

यौनकाण्डको भन्डाफोर हुने भएपछि स्थानीय केही नेताले ती बालिकालाई भारतको आश्रममा पढ्न पठाउने योजना बनाएका थिए तर महिला सञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिले बालिकाहरूलाई जोगबनी कटाउन लाग्दा फर्काएका थिए । गिरीले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियामार्फत ‘भारतको आश्रममा अध्ययन गर्न पठाएको सिफारिस’ रातारात बनाएपछि आफूहरूले केही गर्न नसकेको प्याकुरेलले जनाइन् । ती दुई दिदीबहिनी अहिले भारतको दिल्लीस्थित कन्याकुमारी आश्रममा रहेको बताइए पनि अभिभावकले नै ढाकछोप गरेकाले थप खोजी हुन नसकेको प्याकुरेलले बताइन् ।

गिरीले दैनिक शक्तिबर्द्धक जडीबुटी दूधमा मिसाएर सेवन गर्ने गरेको र युवतीप्रति आशक्त नहुन सुझाउँदा ‘तैंले मलाई सिकाउने’ भन्दै विवाद गर्ने गरेको उनकै नातेदारले बताएका छन् । आश्रममा वर्षा नामकी युवतीका विषयमा दुईपटक यस्तै विवाद हुँदा उनले आफ्नै भाइ एनकुमार गिरीलाई समेत कुटेका थिए । गिरीले वर्षा र अस्वीना अधिकारीलाई चेली बनाएर आश्रममा राखेका छन् । अस्वीना मातातीर्थका नारायण बाबाकी चेली हुन् । उनी आफ्ना गुरु नारायण बाबाको मृत्युपछि गिरीसँग बस्न थालेकी हुन् । गिरीका भक्तहरूका अनुसार वर्षा राजस्थानकी हुन् ।

यसअघि सिन्धुलीकी कार्की थरकी एक महिलाका विषयमा पनि आश्रममा विवाद भएको थियो । गिरीप्रति आशक्त भएको भन्दै श्रीमान्‌सँग झगडा भएपछि ती महिलालाई गिरीले चेली बनाएर आश्रममा राखेका थिए । गिरीले राजस्थानका एक मारवाडी दम्पतीको पनि सम्बन्ध बिगारिदिएको उनका भक्तहरू बताउँछन् । ती महिलाको गिरीसँगको सम्बन्ध थाहा पाएपछि श्रीमान्‌ले छाडेका थिए ।

चतराको जग्गा कब्जा

बराहक्षेत्रको चतरामा बस्दै आएका बालसन्त मोहनशरण देवाचार्यका अनुसार उनी ०६१ सालमा सन्तको भेषमा घुम्दै चतरा आएका थिए । त्यसबेला कोइराला थरका शिष्य दम्पतीले भारतबाट आफूलाई कृष्णदास महाराज बताउने नेपाली साधु आएको भन्दै उसलाई शरण दिन अनुरोध गरेपछि बालसन्तले आश्रमको एउटा कोठा उपलब्ध गराएर नियमित जपतप, वेदपुराण उपनिषद् अध्ययन गर्न प्रेरित गरेका थिए । करिब पाँच वर्ष बालसन्तसँग बस्दाबस्दै कृष्णदासले आफ्नै अनुयायी बनाउन थाले ।

हाल बराहक्षेत्रको चतरा आश्रमबाहिर रहेका बालसन्तले फोनमा भने, ‘धर्म–संस्कृति जोगाउँदै समाजका हितमा धर्मकर्म गर्नुपर्छ भनेर मैले शरण दिएको हुँ । पाँच वर्षयतादेखि उनी र मेरो सम्पर्क भएको छैन । दुई–तीन दिनयता उनीसँग जोडिएका नराम्रा समाचार सुन्दै छु । साधु–सन्त–महन्त समाजको हुनसम्म बदनाम भएको छ । मान्छेले आफ्नो कर्मको फल भोग्नुपर्छ भनेर हिन्दु धर्मशास्त्रमै उल्लेख छ । योभन्दा अरू मैले के भन्ने र अब ।’

झापाको बुधबारेमा ०३३ सालमा जन्मिएका मोहनशरण ०५५ सालदेखि चतराधाममा बस्दै आएका छन् । उनले प्राचीन हरिद्वार भएको दाबी गर्दै उक्त स्थानमा कुम्भमेला आयोजना सुरु गरेका थिए ।

सोलुखुम्बुको जुवुमा ०३१ फागुन १९ गते जन्मेका गिरी स्थानीय स्कुलमा कक्षा सातमा अनुत्तीर्ण भएपछि ०४९ सालतिर घर छाडेर भारत गएका थिए । भारत जानुअघि जग्गाको सिमानाको विषयमा भएको विवादमा छिमेकीलाई मरणासन्न हुने गरी कुटपिट गरेकामा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दासमेत परेको थियो । त्यो मुद्दा अझै छ । उनले सुनसरी जिल्ला प्रशासन कार्यालयबाट ०६५ पुस १७ गते अर्को नागरिकता पनि लिएका छन् । त्यसमा ०३० मंसिर १० गते जन्ममिति उल्लेख छ । यसबारे प्रशासनले मौनता देखाएको छ ।

सुनसरी मोरङ सिँचाइ आयोजनाको जग्गामा ‘सिद्धबाबा’ ले बनाएको १२८ कोठे भवन । तस्बिर : प्रदीप/कान्तिपु

घर छाडेको ६ वर्षपछि नेपाल आएका उनले परिवारसँग भेट गरेका थिए । घर आउँदा उनी युवा सन्तको भेषमा थिए । बालसन्तसँग बस्दाबस्दै उनले बराहक्षेत्रस्थित सुनसरी मोरङ सिंचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरेर सुरुमा आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । ०६४ सालमा उनले चतराको सोइल कन्जरभेटिभ क्षेत्रमा सुरुमा ‘आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने’ भनेर २३ घरपरिवारलाई विस्थापित गराए । पछि घेराबार गरेर मन्दिर, हनुमानको प्रतिमा, रामानन्दचार्य सेवा पीठको भवन बनाए ।

सिँचाइ आयोजनाले भौतिक संरचना नबनाउन पटक–पटक ताकेता गरे पनि उनले त्यही स्थलमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर ‘भैंसी पूजन’ गर्न लगाए । दाहालले नै भैंसी पूजा गरेपछि आयोजनाका पदाधिकारी थप बोल्न सकेनन् ।

०६५ सालदेखि उनले आफूलाई आयुर्वेदमा विद्यावारिधि गरेको डा. महासिद्ध योगी भनेर पर्चा–पम्प्लेटमा लेखाउन थालेका थिए । उनले आफू भारतमा रहँदा विभिन्न विषयमा आचार्य गरेको भन्न थालिसकेका थिए । उनका अनुयायीहरू पनि बढ्दै गएका थिए । पछिल्लो समय उनले भारतको अयोध्यामा अनन्तश्री र सिद्धबाबा उपाधि पाएका थिए ।

उनले चतराको जग्गामा आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दलका शीर्षस्थ नेतादेखि प्रहरी, सेना र सरकारका सचिवसम्म लबिङ गर्दै आएका थिए । यसबीच दाताहरूको सहयोगमा ८ करोड रुपैयाँ लागतमा १२८ कोठे वातानुकुलित आलिसान भवन निर्माण गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउन सफल भए । यसका लागि उनले भण्डारीकी आमा मिथिला पाण्डेलाई प्रयोग गरेका थिए । पाण्डे चतरामै आश्रम बनाएर

वृद्धवृद्धाको सेवा गर्दै बसेकी छन् । रामानन्दाचार्य सेवा पीठमार्फत बनेको उक्त भवनको नक्सा पाससमेत नभएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।

बराहक्षेत्रलाई विश्वकै हिन्दु धार्मिक तीर्थस्थलका रूपमा विकास गर्दै हरित क्रान्ति गर्ने, आयुर्वेद, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडीबुटी प्रशोधन र उत्पादन गर्ने प्रमुख स्थल बनाउने भन्दै उनले बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई आश्रममा बोलाएरभवनको नक्सा पासको प्रमाणपत्र दिलाइदिन अनुरोध गरेका थिए । ‘त्यसबेला भवन निर्माण भइसकेको थियो तर जग्गाको स्वामित्व बराहक्षेत्र नगरपालिकामातहत नभएर सुनसरी मोरङ सिँचाइ आयोजनाको भएकाले नक्सापासको प्रमाणपत्र दिने अधिकार नगरपालिकालाई नभएको बताए । ‘जसको अनुमतिले भवन निर्माण गर्नुभयो, उसैसँग प्रमाणपत्र लिनु भनेर म फर्किएँ’, उनले भने ।

पूर्वाधार विस्तार गर्न जग्गा अभाव भइरहेका बेला गिरीले कब्जा गरेर भौतिक संरचना बनाएको विषयमा पटक–पटक जानकारी गराए पनि मन्त्रालयले बेवास्ता गरेको आयोजनाले बताउँदै आएको छ । गिरीले कब्जा गरेको जमिन चतरा नहरको मुख्य स्थानमा पर्छ । उक्त स्थानबाट नहरमा जम्मा भएको बालुवा फाल्ने ड्रेजर मेसिनमा जडान भएको पाइपलाइन भूमिगत रूपमा कोसीमा पुर्‍याइएको छ । ती पाइपलाइनमाथि १२८ कोठे भवन, करिब एक करोड लागतको निजी निवास, हनुमान प्रतिमा, केही मठमन्दिर, रामानन्दाचार्य सेवा पीठका भवन र अन्य भौतिक पूर्वाधार

निर्माण भएका छन् ।

गिरीले कब्जा गरेको जग्गा आयोजनाको स्वामित्वमा रहेको र त्यहाँ बनेका भौतिक संरचना हटाइदिन सुनसरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको तत्कालीन सुनसरी मोरङ सिँचाइ आयोजना प्रमुख हरिराम श्रेष्ठले बताएका थिए । आयोजनाका निमित्त प्रमुख आनन्द धामीले कब्जा भएको आयोजनाको जग्गाबारे खोजीनिती भइरहेको बताए । ‘खोजीनिती गरिरहेका छौं, हेरौं पछि के हुन्छ,’ उनले भने ।

गिरीको ‘आशीर्वाद लिन’ प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारीसमेत पटक–पटक चतरा आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, एनपी साउद, विजयकुमार गच्छदार, लालबाबु पण्डित, प्रदीप नेपाल, मोदनाथ प्रश्रित, पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीलगायत धेरै उच्चपदस्थ व्यक्तिले गिरीसँग भेटेका थिए ।

चतरामा आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई बोलाइए पनि उनी ‘पहिले उक्त जग्गाको स्वामित्व लिनु’ भन्दै पन्छिएका थिए । गिरीले विश्वमा वातावरण प्रदूषण बढेकाले ‘ओजन तहको प्वाल टाल्न’ भन्दै चतरामा गत फागुन तेस्रो साता नौ दिनसम्म श्रीराम तारकब्रह्म महायज्ञ गरेका थिए । त्यसक्रममा १२ करोडको अन्न, तेल, तिल र घ्यु जलाइएको भन्दै आलोचना भएको थियो । देउवा, नेपाल र पौडेल महायज्ञ चलिरहेका बेला बीचबीचमा सहभागी भएका थिए ।

गिरीले राष्ट्रपति भण्डारीलाई ०७४ सालको रामनवमीका अवसरमा आयोजित भूसमाधिमा पनि बोलाएका थिए । चतरा र पोखरामा भूसमाधि बसेर उनले चर्चा बटुलेका थिए । भूसमाधिका लागि सम्पूर्ण तयारी उनकै कान्छा भाइ एनकुमार गिरी, खगेन्द्र आचार्य र अर्जुन गुरुङले गरेका थिए । उनले पाँच वर्षसम्म भित्रिया भएर काम गरेका एनकुमारलाई आश्रम व्यवस्थापन, खगेन्द्रलाई कर्मकाण्ड र अर्जुनलाई भौतिक संरचना रेखदेखको जिम्मेवारी दिएका थिए ।

उनले सन्तको भेषमा अवैध गतिविधि गर्न थालेपछि तीनै जना विश्वासपात्रले एकसाथ आश्रम छाडेका थिए । अहिले तीनै जना घरव्यवहारमा रमाइरहेका छन् । ‘महाराज (कृष्णदास) ले तिमीहरू तीन जना मिलेर मेरो भविष्य पनि बनाऊ, आफ्नो पनि बनाऊ भनेका थिए तर उनको गतिविधि गलत हुन थालेको थाहा पाएपछि हामीले साथ छाड्यौं,’ एनकुमारले भने ।

अक्सिजनबिना नौ दिनसम्म भूसमाधि बसेको भनेर चर्चा चले पनि उनले मान्छेलाई मूर्ख मात्रै बनाएको एनकुमारले बताए । उनका अनुसार भूसमाधिमा बसेजस्तो देखाउने तर सबै मानिस गएपछि निस्कन सहज हुने गरी बनाइएको ढोकाबाट निस्केर गोप्य कोठामा बस्ने, खाने, दिसापिसाब गर्ने गर्थे ।

१००८ वैष्णव कृष्णदास महाराजको पद पाएका गिरीको चर्चा चुलिएसँगै ०७६ जेठ ३२ गते भारतको अयोध्यामा आयोजित अखिल भारतीय विराट सन्त सम्मेलनले उनलाई महायोगी सिद्धबाबा घोषणा गरेको थियो । प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले ‘ईश्वरीय अनुपम सामर्थ्यको सम्मानस्वरूप स्वामी रामकृष्णाचार्य जगद्गुरु रामानन्दाचार्य’ सम्मानले समेत विभूषित गरेका थिए । आफैंले जगद्गुरु घोषणा गरिसकेका गिरी सन्तहरूको सम्मेलनमा अनन्तश्री पदले विभूषित भएका थिए ।

गिरीले इटहरीको तरहरामा बसेका बेला सिंगापुर पठाउने भन्दै कान्छा भाइ एनकुमारमार्फत ११ जनाबाट ४ लाख रुपैयाँका दरले उठाउन लगाएका थिए । ४४ लाख रुपैयाँ लिएर उनी भारत फरार भए । सिंगापुर जान नपाएपछि पीडित युवाले कृष्णदास महाराजका नाममा उजुरीसमेत हालेका थिए । पछि आफूले जग्गा बेचेर रकम फिर्ता गरेको एनकुमारले बताए । ‘दिल्लीको एनआरआई सिटीकी युवती सोनल साह र उनका ब्वाइफ्रेन्ड सुलेमानसँग मिलेर सिंगापुर पठाउने भनी ११ जनाबाट चार लाखका दरले उठाउन भने, मैले रकम उठाएर दिएँ,’ उनले भने, ‘सिंगापुरमा सोनाल र सुलेमानका छोरा धीरज शरणार्थी बनेर बसेका रहेछन् । तिनैको माध्यमबाट युवालाई पठाउने योजना बनाएका रहेछन् ।’

०६७ सालमा गिरीले एनकुमारलाई चतरा आश्रममा आयुर्वेदको औषधि बनाउने भनेर सोलुखुम्बुबाट लोठसल्ला ल्याउन पठाएका थिए । ६० किलो लोठसल्लाको बोक्रा र पात लिएर आउँदै गर्दा बाटामा प्रहरीले पक्राउ गरेको थियो । गिरीले आफ्नो पोल खोलिने डरले एनकुमारलाई रिहा गर्न पहल गरेनन्, बरु चुपचाप जेलमै बस्न भनेर खबर पठाए ।

गिरीले स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेर सिंहदरबार वैद्यखानाबाट आयुर्वेदका निःशुल्क औषधि ल्याई अर्को प्याकेटमा राखी भक्तजनलाई महँगोमा बिक्रीसमेत गरेको एनकुमारले बताए । गिरी बलात्कार आरोपमा पक्राउ परेपछि त्यहाँको करोडौंको भौतिक संरचना सदुपयोग गर्न बराहक्षेत्र नगरपालिकाले तत्कालै बैठक बसेर वातावरण र पर्यटनसम्बन्धी प्रदेशको मन्त्रालय राख्न अनुरोध गरेको छ ।

प्रकाशित : मंसिर २०, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?