जसले आफैंलाई मत दिएनन्

राजेश मिश्र

काठमाडौँ — निर्वाचनमा उम्मेदवार हुन एक जना प्रस्तावक र एक जना समर्थक हुनुपर्छ । यसले घरपरिवारबाहेक आफूसमेत उम्मेदवारलाई कम्तीमा तीन जनाको साथ छ भन्ने बुझिन्छ तर उपनिर्वाचनमा २५ जना यस्ता उम्मेदवार भेटिए, जसले आफैंलाई मत दिएनन् । उनीहरूले शून्य मत ल्याए । 

ZenTravel

शून्य मत ल्याउनेमध्ये २४ जना स्वतन्त्र र एक जना दलका उम्मेदवार छन् । ११ जनाले एक मत मात्रै ल्याएका छन् । ९ जनाले २ र त्यति नै संख्याले ३ मत पाए ।

Meroghar


प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि मंसिर १४ मा भएको उपनिर्वाचनमा ३ सय ३७ उम्मेदवार थिए । त्यसको एक तिहाइ हिस्सा अर्थात् १ सय १२ जना उम्मेदवारले १० मत कटाउन सकेका छैनन् । त्यसमध्ये अधिकांश स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिनिधिसभाको कास्की–२ निर्वाचन क्षेत्रका २१ उम्मेदवारमा ६ जनाले १० मत कटाउन सकेका छैनन् । ती सबै स्वतन्त्र उम्मेदवार हुन् । प्रदेशसभाको भक्तपुर १ (१) का १९ उम्मेदवारमध्ये ११ जनाले पाएको मत १० भित्र छ । ती ८ स्वतन्त्र र २ जना दलका उम्मेदवार छन् । यहाँ नेपाली कांग्रेस (बीपी) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले क्रमशः २ र ५ मत ल्याएका छन् ।

प्रदेशसभाको बाग्लुङ २ (२) का १० उम्मेदवारमध्ये एक जनाले १० मत कटाउन सकेका छैनन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले ८ मत ल्याएका छन् । दाङ ३ (२) का १४ उम्मेदवारमध्ये तीन जना १० मत नकटाउने छन् । त्यसमा २ स्वतन्त्र र एक नेपाली कांग्रेस (बीपी) का उम्मेदवार छन् ।
सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको चुनावमा २३ उम्मेदवार थिए । तीमध्ये ८ जनाको मत १० मुनि छ । ती सबै स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरू हुन् । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लाग प्रतिस्पर्धी २० जनामध्ये ९ जनाले १० मत कटाउन सकेनन् । संखुवासभाको मकालु र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदको प्रतिस्पर्धामा सहभागी सबै उम्मेदवारले १० मत कटाएका छन् । मकालुमा ७ जना प्रतिस्पर्धी सबै दलबाटै थिए । फाल्गुनानन्दमा पनि स्वतन्त्र उम्मेदवारी परेको थिएन । ८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा थिए ।

सबैभन्दा रोचक महोत्तरीको बलवा नगरपालिका–८ को वडाध्यक्ष पदका लागि भएको चुनावमा देखिएको छ । त्यहाँ १२ जना उम्मेदवार थिए । त्यसमध्ये निर्वाचितसहित तीन जना उम्मेदवारले मात्रै १० मत कटाएका छन् । ५ जनाले शून्य मत ल्याएका छन् । शून्य मत ल्याउने सबै स्वतन्त्र उम्मेदवार हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–१० मा वडाध्यक्ष लागि भएको चुनावी प्रतिस्पर्धामा सहभागी १२ जनामध्ये ५ जनाले शून्य मत ल्याएका छन् । शून्य मत ल्याउनेमा राप्रपा (संयुक्त) का उम्मेदवार नूर मोहम्मद मनिहार पनि छन् । शून्य मत ल्याएका स्वतन्त्र उम्मेदवार मोहम्मद रफिक मनिहारले नेकपाका उम्मेदवार अदालत मनिहारलाई सहयोग पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताए । ‘पार्टीका उम्मेदवारलाई निर्वाचनमा पाउने गाडी, एजेन्टलगायत सुविधामा सहयोग पुगोस् भनेर मात्रै उम्मेदवारी दिएको हुँ,’ कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने, ‘मलाई उम्मेदवार बन्नु थिएन । पार्टीले भनेपछि बनें, त्यहीअनुसार पार्टीको उम्मेदवारलाई सहयोग गरें ।’

उनी मात्रै होइन, त्यहाँ प्रमुख दलका उम्मेदवार सबैले आफ्ना सहयोगी उम्मेदवारलाई चुनावमा उतारेका थिए । कारण थियो– प्रचारप्रसारका लागि सवारीसाधन, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र गणना प्रतिनिधि थपिनु । शून्य मत ल्याएका शिवलाल यादवले कांग्रेसका उम्मेदवारलाई समर्थन जनाएको बताए । अर्का शून्य मत ल्याउने उम्मेदवार शिवभक्त ठाकुर (नाउ) ले राजपाका उम्मेदवारलाई सघाएको कान्तिपुरलाई बताए । त्यहाँ राजपाका उम्मेदवार विजयी भए । ‘राजपालाई समर्थन जनाउँछु भनिसकेपछि घात त गर्न भएन,’ उनले भने, ‘त्यही भएर आफ्नो भोट पनि आफूलाई नदिएको हुँ ।’

उपनिर्वाचनमा खटिएका एक जना अधिकृतले उम्मेदवारी दिँदाकै बेला कतिपय स्वतन्त्र उम्मेदवार बलियो मानिएका उम्मेदवारको साथमै आएर उम्मेदवारी दिएको बताए । ‘उसको काम भनेकै जसको सहयोगमा उम्मेदवारी दिएको हो, उसका लागि खटिनु,’ उनले भने, ‘उनीहरू आफूले पाएको चिह्नमा मत नपरोस् भनेर बढी सतर्क हुँदा रहेछन् ।’ उनका अनुसार अर्को थरी बार्गेनिङका लागि मात्रै उम्मेदवारी दिन्छन् । तिनले मुख्य प्रतिस्पर्धामा रहेका उम्मेदवारसँग आर्थिक लाभ लिएर सघाउने गर्छन् ।

उम्मेदवार भएपछि कानुनले दिएको सेवा–सुविधा र व्यवहार सबैलाई एक जस्तै गर्नुपर्ने बाध्यताले निर्वाचन व्यवस्थापनमा कतिपय चुनौती आउने गरेको उनले सुनाए । निर्वाचन आचारसंहिताविपरीतको सवारीसाधन र खर्च, मतदान केन्द्र र गणना स्थलमा प्रतिनिधिको भीड चाहेर पनि नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनले बताए । अर्कातिर धेरै चिह्न छापिएर मतपत्र भद्दा हुनु, मतदाता झुक्किनु र बदर मत बढ्नु त्यसले पार्ने नकारात्मक प्रभाव हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बहुमतीय प्रणालीमा बढी फाइदा उठाउन दलका उम्मेदवारले ‘डमी’ उम्मेदवार उठाउने गरेको बताए । त्यस्ता उम्मेदवारले निर्वाचनको हरेक स्टेपलाई प्रभावित बनाउने गरेको उनको बुझाइ छ । मतदानपूर्व, मतदानका दिन र गणनाका बखतसम्म त्यस्ता डमी उम्मेदवारका कारण निर्वाचन कार्य प्रभावित हुन्छ । कानुनले दिएको अधिकारको उनीहरूबाट दुरुपयोग हुने गरेको छ,’ उनले भने, ‘यो कानुनको मौन उल्लंघन हो ।’

प्रकाशित : मंसिर २०, २०७६ ०७:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

धरहराका इँटा होटल र रेस्टुरेन्टमा

दामोदर न्यौपाने

काठमाडौँ — चारखाल मालपोत कार्यालयछेउ इचिबान नामको रेस्टुरेन्ट छ । यसलाई नेपाली वास्तुकला झल्कने मयूर झ्याल, आँखी झ्याल आदिले सजाइएको छ । भित्र पस्दा रिसेप्सनको ठीक पछाडि भित्तामा नौवटा हार लगाएर इँटा टाँसिएका छन् । टाँसिएका इँटाको छेउछेउमा फ्रेम हालेर आकर्षक देखाइएको छ ।

प्रत्येक इँटामा ‘श्री ३ चन्द्र’ लेखिएको छ । हलको बीचतिर पनि यस्तै इँटाले सजाइएको छ । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ का अनुसार पुरातात्त्विक सम्पदामा प्रयोग गरिएका कुनै पनि वस्तु व्यक्तिका घरमा राख्नु वा व्यावसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो । ‘पुरातात्त्विक महत्त्वका सामान व्यक्तिको घरमा राख्न पाइँदैन,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने ।

पुरातात्त्विक महत्त्वका यस्तै इँटा बबरमहलको बसेरा बुटिक होटलमा पनि राखिएको तस्बिर पत्रकार कसिसदास श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । श्रेष्ठले श्री ३ चन्द्र लेखेको धरहराको इँटा निजी होटलमा प्रयोग भएको फोटो ट्वीटरमा पोस्ट गरेका थिए । ‘मैले धरहराको इँटा भेटें,’ श्रेष्ठले भने, ‘होटलमा सोधपुछ गरेर कन्फर्म भएपछि सार्वजनिक गरेको हुँ ।’ उक्त होटलमा ६० वटा कोठा छन् । प्रत्येक कोठामा यस्ता एक–एकवटा इँटा फ्रेमभित्र राखिएको श्रेष्ठले बताए ।

केही महिनाअघि मात्र सञ्चालनमा आएकोयो होटल नेपाली वास्तुकला झल्कने गरीबनाइएको छ । बसेरा होटलकी व्यापार संयोजक हेलेन घिमिरेले भने धरहराको इँटा प्रयोग नगरेको दाबी गरिन्, तर ती पुरातात्त्विक महत्त्वका इँटा कहाँबाट आए भन्ने प्रश्नको स्पष्ट जवाफ उनले दिन सकिनन् या चाहिनन् । इचुबानका सञ्चालकले पनि यस्तै जवाफ दिए ।

‘हामीले किन्दा यहाँ यसैगरी इँटा सजाइएको थियो,’ इचुबानका सञ्चालक कुमार कट्टेलले भने, ‘हामीले सञ्चालन गरेको एक वर्षमात्रै भयो ।’ पुरातात्त्विक महत्त्वका सामग्रीको कसरी दुरुपयोग भइरहेको छ भन्ने उदाहरण हुन् यी दुई ठाउँमा प्रयोग भएका इँटा । संरक्षणविद् रवीन्द्र पुरीका भनाइमा कतै बुझेर र कतै नबुझेर पुरातात्त्विक महत्त्वका वस्तुहरूको दुरुपयोग भइरहेको छ ।

प्राचीन स्मारक संरक्षण ऐनले पुरातात्त्विक महत्त्वका वस्तुको स्थानान्तरणमा पनि बन्देज लगाएको छ । ‘स्थानान्तरण गर्न पाइँदैन भनेर ऐनले किटान गरेको छ,’ संरक्षणविद् पुरीले भने, ‘यस्ता सामान ओसारपसारसमेत गर्न पाइँदैन । किनबेचको त कुरै छाडौं ।’ २०७२ सालको भुइँचालो जानासाथ धरहराका इँटा भन्दै टिपेर लैजाने होडबाजी नै चलेको उनले बताए । पुरीलगायत संरक्षणविद्हरूले आवाज उठाएपछि सुन्धाराबाट उठाएर धरहराका इँटा टुँडिखेलमा राखिएको थियो । ‘हामीले सुरुमै सचेत गराएका थियौं,’ पुरीले भने, ‘हामी कराएपछि टुँडिखेलमा लगेर राखियो, तर त्यहाँ पनि सुरक्षित भएजस्तो लागेन ।’

इचिबान रेस्टुरेन्टमा‘श्री ३ चन्द्र’ लेखिएका इँटा ।

धरहरालगायत भूकम्पका बखत भत्केका अन्य सम्पदाका इँटालगायत वस्तुहरूको संरक्षण गर्न नसकिएको पुरातत्त्व विभागले पनि स्विकारेको छ । ‘संग्रहालयमा सबै राख्ने कुरा भएन, नमुना राख्ने हो,’ कुँवरले भने, ‘धरहराको पनि नमुना इँटा संग्रहालयमा राखेका छौं ।’ सम्पदामा प्रयोग भएका सामान नमुनाका रूपमा संग्रहालयमा राखेपछि अरू त्यहीं कतै गाडिदिने गरिएको कुँवरले बताए । ‘उत्खनन गर्दा पनि केही नमुना राखिन्छ, अरू गाडिन्छ,’ कुँवरले भने, ‘बढी भएको त्यतै डम्प गरिन्छ ।’ सम्पदाका प्रत्येक टुक्रासमेत बहुमूल्य मानिन्छ । ऐतिहासिक, दुर्लभ, कलात्मक पाटो हेरेर यसको महत्त्व निर्धारण गरिने कुँवरले उल्लेख गरे । अभिलेखसहितको इँटाले कुनै कालखण्डको इतिहाससमेत जनाउने भएकाले त्यसलाई ऐतिहासिक मूल्य भएको वस्तुको सूचीमा राखिन्छ । कुँवरका अनुसार धरहरामा श्री ३ जुद्ध र श्री ३ चन्द्र लेखिएका इँटा प्रयोग भएका छन् । अभिलेखसहितको इँटा बनाउने प्रचलन लिच्छविकालदेखि नै चलेको मानिन्छ । लिच्छवि राजाहरू मानदेव र अंशुबर्माको नाम अंकित इँटाहरूसमेत भेटिएका छन् ।

संरक्षणको सिद्धान्तअनुसार सम्पदा पुनर्निर्माण गर्दा पहिला प्रयोग भएका काम लाग्ने सामग्री प्रयोग गर्नुपर्छ । धरहरा संरक्षणको सिद्धान्तअनुसार पुनर्निर्माण भइरहेको छैन । अहिले बनाइँदै गरेको धरहरामा लिफ्टसहित आधुनिक सुविधा प्रयोग गरिनेछ । संरक्षणविद्ले यसलाई नक्कली धरहरा भन्दै आएका छन् । ‘यो नक्कली धरहरा हो,’ वास्तुकलाविद् सुदर्शनराज तिवारीले टिप्पणी गरे, ‘यहाँ हाम्रा प्राचीन सीप, सामग्री, प्रविधि सबै नष्ट हुँदै छ ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरामा पुराना इँटा प्रयोग नगर्ने गरी लागत स्टिमेट तयार पारेको छ ।

भीमसेन थापाले बनाएको धरहराको ठुटोलाई सिसाको फ्रेम लगाएर जोगाउने प्राधिकरणको योजना छ । प्राधिकरणबाट रहरा हेर्ने जिम्मेवारी पाएका विज्ञ राजु मानन्धरका अनुसार अहिले धरहराको काम लाग्ने इँटा एउटै छैनन् । ‘हामीले भुइँचालो गएको तीन वर्षपछि धरहराको जिम्मा लिएका हौं,’ मानन्धरले भने, ‘हामीले जिम्मा लिँदा सग्लो इँटा एउटै थिएनन् । टुटेफुटेका मात्रै बाँकी थिए । त्यसलाई तारबार लगाएर सुरक्षित राखेका छौं ।’ राष्ट्रिय विभूति भीमसेन थापाले धरहरा बनाएर मुलुकमा मुगल शैलीको संरचना भित्र्याएका थिए । उनले आफ्नो निवास बागदरबार छेउमै वि.सं. १८८१ सालमा धरहरा बनाएका थिए । थापाले यो धरहरा बनाएको अर्को वर्ष रानी त्रिपुरासुन्दरीले अर्को धरहरा बनाउन लगाइन् । यी दुवै धरहरा बनाउँदा थापा प्रधानमन्त्री थिए । १९९० सालको भुइँचालोले यी दुईमध्ये थापाले आफ्नो निवासछेउ बनाएको धरहरा ढल्यो ।

हालको धरहरामा चाहिँ आंशिक क्षतिमात्रै पुगेको थियो । ९० सालमा भुइँचालो आउनु पहिला नै चट्याङ परेर धरहरामा क्षति पुगिसकेको थियो । ११ तले धरहरालाई ९० सालको भुइँचालोपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तलामा झारेर पुनर्निर्माण गराएका थिए । त्यसबेला त्यसमा पुरानै इँटा प्रयोग गरिएको पुरीले बताए । ‘जीर्णोद्धार गर्दा पुराना सामान बढीभन्दा बढी प्रयोग गर्नुपर्छ,’ पुरीले भने, ‘जति पुराना सामान प्रयोग गर्‍यो, उति नै यसको प्राचीनता कायम रहन्छ ।’

साधारणतया छेउ चोइटिएको, बीचमा चर्किएको तर पूर्णतया भारवहन गर्न सक्ने इँटा मौलिक रंग केही फुस्रिएको भए पनि प्रयोग गर्नु उपयुक्त हुने
पुरातत्त्वविद् बताउँछन् । पुरातत्त्वविद् विष्णुराज कार्कीले भने, ‘प्रयोग भएका इँटा प्रयोगमा नआई टुटुफुट भएमा, कलात्मक इँटामा रहेको कलापक्ष पूर्णतया नष्ट भएमा तिनकै नाम, आकार, कलाकृति र गुणस्तर भएका नयाँ इँटा प्रयोग गर्नुपर्छ ।’ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यस्तो इँटा परीक्षण गर्ने ल्याब पनि छ । कार्कीका अनुसार पुराना इँटाको भारवहन क्षमता कमजोर हुनसक्छ । नुनिलो पदार्थ उत्पन्न भयो भने भारवहन क्षमता कमजोर हुन्छ । यस्तो अवस्था आएमात्रै नयाँ इँटा प्रयोग गर्नुपर्छ । नयाँ इँटा प्रयोग गर्दा पनि गुणस्तर भने कायम गरेको हुनुपर्छ । पूर्ण रूपमा पोलिएको, फोका नउठेको, नडढेको र सतह मिलेको इँटालाई गुणस्तरीय मानिन्छ ।

धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इँटाको गाह्रो थियो । यसको डिजाइन मुगल कालीगढले गरेका थिए । सबभन्दा माथिल्लो भागमा गुम्बज बनाई सुनको जलप लगाइएको धातुको गजुर थियो । धातुको गजुर राष्ट्रिय संग्रहालय, छाउनीमा लगेर राखिएको कुँवरले बताए । अन्य पुराना सामान प्रयोग नभए पनि आधुनिक धरहरामा गजुरचाहिँ राखिने मानन्धरले जानकारी दिए । ‘प्राधिकरणले मागेका बेलामा गजुर दिन्छौं,’ कँॅवरले भने । पुरातात्त्विक महत्त्वका इँटाहरू भने फर्काउन सजिलो छैन । काठमाडौं उपत्यका र यसका आसपास प्रयोग गरिने चिल्लो र सादा इँटालाई नेवारी भाषामा दाची अपा भनिन्छ । दाची अपालाई सम्पदा कलात्मक बनाउन प्रयोग गरिन्छ । ‘सम्पदा पुनर्निर्माणमा यसको भूमिका महत्त्वपूर्ण छ,’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘यति महत्त्व भएको इँटा व्यक्तिको घरघरमा पुग्नु दुःखद कुरा हो । हराएका यस्ता पुरातात्त्विक वस्तुको चर्चा नै हुने गरेको छैन । यसमा अब बहस हुनुपर्छ ।’

प्रकाशित : मंसिर २०, २०७६ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×