व्यक्तिका आर्थिक विवरण बटुल्दै गुप्तचर विभाग

मातृका दाहाल

काठमाडौँ — राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसा/व्यवसायमा संलग्न रहेका व्यक्तिहरूको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षासम्बन्धी सूचना संकलन गर्दै आएको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचना बटुल्नसमेत क्रियाशील बनाएको हो । 

ZenTravel

प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार राअविले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा ‘शंकास्पद’ व्यक्ति तथा तिनका परिवारको आर्थिक स्थितिको अभिलेख राख्न थालेको छ । नागरिक तहको सम्पत्ति विवरण संकलन थाल्नुअघि राअविका मुख्य अनुसन्धान निर्देशक (प्रमुख) गणेश अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्तरिक सुरक्षा र सुशासन विषय समेटिएको ‘विशेष कार्ययोजना’ प्रस्तुत गरेका थिए ।
२०७५ पुस २३ गते राअवि प्रमुखमा नियुक्त अधिकारीले प्रधानमन्त्री कार्यालयकै स्वीकृतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमाआफ्नो संयन्त्र तैनाथ गराएका थिए । त्यसपछि विशेष कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीले निर्देशन दिएकोस्रोतले जनाएको छ ।

Meroghar


राअविका पूर्वप्रमुख देवीराम शर्माका अनुसार २०३२ सालमा विभागभित्रै ‘राजस्व महाशाखा’ गठन गरेर भ्रष्टाचार, सीमा तस्करी, राजस्व चुहावट, बैंकिङ घोटालालगायत वित्तीय अपराध र अकुत सम्पत्ति आर्जनविरुद्ध सूचना संकलनको जिम्मा दिइएको थियो । पछि वित्तीय अपराधमा संलग्न गिरोह र राजनीतिक दलका कतिपय नेताले महाशाखालाई काम नथाल्दै निष्क्रिय बनाएको शर्माले उल्लेख गरे । २०४७ को अन्तरिम सरकारले राअविलाई नागरिकको आर्थिक विवरण संकलनमा रोक लगाएको थियो । अहिले राष्ट्रिय सुरक्षा र राष्ट्रिय चासोका विषयमा राअविले छुट्टाछुट्टै रणनीति बनाएर काम गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ‘सार्वजनिक पदधारण गरेका बहालवाला तथा अवकाशप्राप्त सबै निकायका कर्मचारी/पदाधिकारीदेखि विभिन्न पेसा/व्यवसायमा आबद्ध र आवश्यकताअनुसार सर्वसाधारणको आर्थिक हैसियत के छ भनेरविवरण संकलन गर्ने काम जारी छ,’ सम्बद्ध अधिकारीले कान्तिपुरसँग भने ।

पहिलो चरणमा ‘परीक्षण संकलन’ अन्तर्गत केही व्यक्तिको विवरण संकलन भइसकेको छ । व्यक्तिको आर्थिक विवरण खोज्न राअवि प्रमुखको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहने गरी एक छुट्टै एकाइ खडा गरिएको छ । गत साउनबाट विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता, बहालवाला तथा अवकाशप्राप्त सरकारी पदाधिकारी तथा कर्मचारी, उद्योगी/व्यापारी, बैंक/वित्तीय संस्था एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (गैसस) का सञ्चालक एवं तिनका परिवारका नाममा रहेको चल/अचल सम्पत्तिको विवरण संकलन भइरहेको छ । विवरण संकलनका लागि अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र आवश्यकताअनुसार अन्य सरकारी कार्यालयसँग समन्वय र सहकार्य भइरहेको स्रोतले जनाएको छ ।

सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाल विशेष सेवा ऐन–२०७६’ सम्बन्धी विधेयकमा पनि विभिन्न संघसंस्था, समूह वा व्यक्तिका गतिविधिमाथि सूचना संकलन गर्न राअविमै ‘विशिष्टीकृत कार्यालय’ स्थापना गरिने उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले व्यक्तिगत आर्थिक विवरण संकलनका विषयमा प्रतिक्रिया दिन मानेनन् । प्रधानमन्त्री कार्यालयको राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय र शासकीय सुधार महाशाखा प्रमुखसमेत रहेका भुसालले भने, ‘यो विषय मेरो लेबलभन्दा माथिको हो, माथि नै बुझ्नुहोला ।’

पूर्वगृहसचिव गोविन्द कुसुमले नागरिकको आर्थिक विवरण संकलनमा गुप्तचर विभागलाई खटाइनु अनुचित रहेको टिप्पणी गरे । विभागलाई उक्त जिम्मेवारीमा सक्रिय बनाइँदा मुलुकमा त्रास र आतंक सिर्जना हुने उनले बताए । ‘भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, राजस्व छलीजस्ता आर्थिक र संगठित अपराध नियन्त्रण गर्ने सरकारी निकायहरू हुँदाहुँदै राष्ट्रिय अनुसन्धान विभागलाई व्यक्तिको आर्थिक विवरण संकलनमा सक्रिय पार्नु कुनै पनि हिसाबले उपयुक्त मान्न सकिँदैन,’ उनले कान्तिपुरसँग भने, ‘प्रजातान्त्रिक मुलुकमा त्रास र आतंक फैलाएर सुशासनको वातावरण बन्दैन ।’
राज्यविरुद्धका गतिविधि नियन्त्रणमा प्रतिजासुसी भूमिकालाई चुस्त र प्रभावकारी बनाउन छाडेर आर्थिक विवरण संकलनमा विभागलाई खटाउँदा सरकार निरंकुश बन्ने खतरा रहेको उनले टिप्पणी गरे ।

राअविका पूर्वप्रमुख शर्माले भने आर्थिक अनुशासन, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न गुप्तचर विभागलाई व्यक्तिको आर्थिक हैसियतसम्बन्धी विवरण संकलनमा सक्रिय बनाउनु उपयुक्त भएको तर्क गरे । ‘देशका लागि भ्रष्टाचार र अनियमितता आतंकवाद जत्तिकै प्रमुख समस्या हो । यसलाई समयमै नियन्त्रणमा लिन सकिएन भने माफिया र तस्करले घोषित रूपमै सत्ता चलाउँछन्,’ शर्माले कान्तिपुरसँग भने, ‘विभागलाई अकुत धन आर्जन र सम्पत्ति शुद्धीकरणविरुद्धका सूचनामा पहुँच स्थापित गराउन सरकारले लिएको निर्णय सही छ । सुशासन र अपराध नियन्त्रणमा यो निकै महत्त्वपूर्ण कदम हो ।’

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले आठ दिनपछिको मन्त्रिपरिषद् बैठकबाट गृह मन्त्रालयमातहत रहेको राअवि र अर्थ मन्त्रालयअन्तर्गतका सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएका थिए । उक्त बैठकले एनजीओ, आईएनजीओको मापदण्ड तोक्ने अधिकार पनि प्रधानमन्त्री कार्यालयलाई नै दिएको थियो ।

प्रकाशित : मंसिर २०, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरा नजन्मिएपछि सम्बन्धविच्छेद

८२ वर्षीय खनालले दिए ५३ वर्षीयालाई डिभोर्स
वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका–८ की ५३ वर्षीया कमला अर्यालको अनुहार चाउरी परेको छ । बाबुआमा बितिसके । भाइबुहारीको परिवार अमेरिकामा छ । माइतीमा उनी एक्लै बस्छिन् । सानै उमेरमा ढिकुरा गाउँमा विवाह भयो ।

दुई वर्षमै पति बेपत्ता भए । त्यसपछि ३६ वर्षमा भूमिकास्थान नगरपालिका–७ कबली पोखराका ८२ वर्षीय ईश्वरीप्रसाद खनालले उनलाई दोस्रो श्रीमतीका रुपमा भित्र्याए । दुई वर्षसम्मसँगै बसे । मायाप्रेम राम्रै भयो । छोराछोरी नजन्मिएपछि श्रीमानसँग उनको सम्बन्ध बिग्रियो । खाना खान नदिने, गाली गर्ने, पिट्ने गरेपछि उनी माइती आएर बसिन् । भेटघाट, फोन केही भएन ।

सम्बन्धमा सुधार नभएपछि मंगलबार अर्घाखाँची जिल्ला अदालतबाट उनीहरुले सम्बन्धविच्छेद गरेका छन् । त्यसबापत कमलालाई ईश्वरीले डेढ लाख रुपैयाँ दिए । ईश्वरीकी पहिलो पत्नी बिरामी भएर थला परेपछि कमलासँग बिहे गरेका थिए ।

छोराछोरी नजन्मिएको र पहिलो श्रीमतीलाई निको भएर काम गर्न थालेपछि दोस्रीलाई पन्छाए । ‘मलाई वास्ता नगरेपछि म माइती आएर बसेकी छु, मेरो पहिलो श्रीमान् बेपत्ता भएपछि धेरै दुःख पाएँ, दोस्रो विवाह गरेर सुख पाउँछु भनेको त्यो पनि भएन,’ कमलाले भनिन्, ‘माइती घरमा आमाबाबु बितिसके । अब एक्लै जीवन बिताउँछु ।’ अमेरिका बस्ने परिवारका आफन्तले केही खर्च पठाइदिने र घरमा बाख्रा पालेर आएको आम्दानीले खर्च चलाउने गरेको उनले बताइन् ।

बुटवलमा उनका तीन दिदीबहिनी छन् । कहिलेकाही त्यही गएर पारिवारिक प्यास मेटाउँछिन् । ‘बाआमा र भाइबुहारीको माया पाएँ,’ उनले भनिन्, ‘श्रीमानको मायाको अनुभव नै गर्न पाइएन ।’ पतिले दिने माया आफूले कहिल्यै महशुस गर्न नसकेको उनले गुनासो पोखिन् । बुढेसकालमा श्रीमानले माया दिने आशामा यौवन बिताए पनि अहिले आएर सम्बन्धविच्छेद हुँदा उनी दुःखी छन् ।

‘कुनै दिन माया फर्किन्छ भन्ने मेरो मनमा थियो,’ उनले भनिन्, ‘त्यही भएरै अर्को विवाह गरिनँ, अहिले साहारा चाहिने बेलामा एक्लिनु पर्‍यो ।’ सन्तान नजन्मिएकै कारण अपहेलित भएको उनले सुनाइन् ।

इश्वरीप्रसादलाई छोराको रहर थियो । दुवै श्रीमतीबाट जन्मिएनन् । पहिलो श्रीमतीकी छोरीको विवाह भएर नातिनातिना जन्मिसकेका छन् । उनको पहिलो पत्नीसँग मायाप्रेम राम्रै छ । उनी भारतीय सेनाका अवकाश प्राप्त हुन् ।

पेन्सनले बुढाबुढीलाई खर्च धानेको छ । जवानीमा कुरा नमिलेपछि माइती गएर बसेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेरै बस्नु राम्रो भएकाले छुट्टिएको उनले बताए । ‘मैले बोलाउँदा पनि उनी आउन खोजिनन्,’ उनले भने, ‘त्यसैले सम्बन्धविच्छेद गरेको हुँ ।’

प्रकाशित : मंसिर २०, २०७६ ०६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×