३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एमबीबीएसको प्रश्नपत्र आउट, विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ — एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको परीक्षा विद्यार्थीले बहिष्कार गर्ने क्रममा बिहिबार प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको एक घण्टा अगावै प्रश्नपत्र परीक्षा हल बाहिर पुगेको विद्यार्थीले दावी गरेका छन् ।

एमबीबीएसको प्रश्नपत्र आउट, विद्यार्थीद्वारा परीक्षा बहिष्कार

परीक्षा सुरु भएको १ घण्टासम्म प्रश्नपत्र परीक्षा हल बाहिर लैजान पाइदैंन् । गण्डकी मेडिकल कलेजमा विद्यार्थीले परीक्षा बहिष्कार गर्न खोज्दा प्रहरीसँग हुलदंगा भएको थियो । त्यहि बेला प्रश्नपत्र बाहिरिएको अनुमान गरिएको छ । बिहान १० बजेबाट परीक्षा थियो । गण्डकी मेडिकल कलेजका प्रिन्सिपलका छोरा र सिईओकी छोरी लगायत केहि विद्यार्थी परीक्षा दिन हलमा प्रवेश गरेका थिए । त्यसपछि बहिष्कार गर्ने विद्यार्थी पनि हल भित्र पसेर प्र्रश्नपत्र लिएर बाहिरिएको एक विद्यार्थीले बताए ।


चिकित्सा शिक्षा संघर्ष समितिले भने कलेज प्रशासनले नै प्रश्नपत्र आउट गरेको दावी गरेको छ । ‘आफ्ना छोराछोरीको मात्र परीक्षा लिने तयारी रहेछ,’ गण्डकी मेडिकल कलेजका छात्र अनित सिंन्हाले भने, ‘परीक्षा सुरु हुनुभन्दा अघि नै प्रश्नपत्र आउट गरेर हामीलाई दोष दिइएको छ ।’

अतिरिक्त शुल्क फिर्ता नपाएका विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा पनि बहिष्कार गर्ने कार्यक्रम थियो । त्यही क्रममा गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र नै आउट भएको हो । आन्दोलनरत विद्यार्थीले बुधबार बीडीएस र नर्सिङको परीक्षा बहिष्कार गरेका थिए । बिहिबार ४ मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन् ।


परीक्षा बहिष्कार गर्ने क्रममा कलेजमा तोडफोड गरेको आरोपमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका ८ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । ‘विद्यार्थी परीक्षा छाडेर बाहिर निस्किदैं थिए, प्रहरी आएर हस्तक्षेप गर्‍यो’ समितिका प्रवक्ता समेत रहेका सिंन्हाले भने, ‘प्रहरी र विद्यार्थीबीच धकेलाधकेल हुँदा केहि सिसाहरू फुटयो, तोडफोड गरेको आरोपमा ३ जनालाई प्रक्राउ गरियो ।’


पक्राउ परेका विद्यार्थीलाई छुटाउन जाँदा अन्य ५ जनालाई पनि नियन्त्रणमा लिइएको उनले जनाए । बढि शुल्क लिने कलेज संचालकलाई कारवाही गर्न नसक्ने प्रहरी प्रशासनले उल्टै विद्यार्थीलाई प्रक्राउ गरेको विद्यार्थीले गुनासो गरे । कलेज प्रशासन र डिन कार्यालयले भने परीक्षा सुरु भएको एक घण्टा पछिमात्र प्रश्न बाहिरिएको दावी गरेका छन् । डिन कार्यालयको परीक्षा महाशाखाले प्रश्नपत्रका बिषयमा विस्तृतमा बुझने काम भइरहेको जनाएको छ ।


अवैध शुल्क फिर्ताको माग राख्दै महिनौदेखि आन्दोलनरत मेडिकल विद्यार्थीले चितवन मेडिकल कलेज, युनिर्भसल कलेज अफ साइन्सेस, नेसनल मेडिकल कलेजमा परीक्षा बहिष्कार गरेका हुन् । यी कलेजमा बुधबारको परीक्षामा पनि विद्यार्थीले दिएनन् । अतिरिक्त शुल्क फिर्ता पाएपछि मात्र शैक्षिक कार्यक्रममा सहभागी हुने विद्यार्थीको अडान छ । कात्तिक २० देखि हुने परीक्षा विद्यार्थीको बहिष्कार गर्ने चेतावनी पछि मंसिर १८ देखि हुने गरि सारिएको थियो । शिक्षा मन्त्रालय र मेडिकल कलेज संचालकबीचको सम्झौतामा असहमति जनाउँदै विद्यार्थीले परीक्षा छाडेका हुन् । पहिलो र दोस्रो वर्षको बीडीएस र एमबीबीएसको शुल्क समायोजन गर्ने सहमति गरिएको थियो । कलेजहरूले समायोजन गर्ने प्रक्रिया थालेका छैनन् । विद्यार्थीले चार वटै वर्ष र सबै विषयको बढि शुल्क फिर्ता गरिनु पर्ने जनाएका छन् ।

प्रकाशित : मंसिर १९, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?