कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाललाई देउवाको बधाई

कार्यकारी अध्यक्ष भएपछि दाहालले आन्तरिक तथा बाह्य भेटघाट र देश दौडाहालाई तीव्र पारेका छन्
बिनु सुवेदी

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।

‘दाहाल कार्यकारी अध्यक्ष भएपछि सभापतिसँग एक्लै भेटेको पहिलो पटक हो,’ भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘उहाँहरूबीच शिष्टाचार भेट भयो, सामान्य कुराकानी भयो ।’ भेटमा देउवाले दाहालसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका थिए । दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी देउवालाई गराएका थिए ।


भेटमा दाहालले आफूले पार्टीमा कार्यकारी अध्यक्षको हैसियत पाएको र सबै राजनीतिक दलसँग मिलेर अघि बढ्ने बताएका थिए । राष्ट्रिय हितका विषयमा सबै दल एक हुनुपर्ने भन्दै सघाउनसमेत आग्रह गरेका थिए ।


भेटमा देउवाले राष्ट्रहितका विपक्षमा आफू कहिल्यै नजाने तर सरकारले पनि विपक्षीलाई पेल्न नहुनेमा जोड दिएका थिए । केही समयअघि भारतीय पक्षबाट अतिक्रमणका परेको पश्चिम नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबारे दाहाल र देउवाबीच सार्वजनिक कार्यक्रममै जुहारी चलेको थियो । संवैधानिक आयोगहरूमा पदपूर्तिका लागि सरकारले ल्याउन लागेको अध्यादेशबारे पनि कांग्रेस असन्तुष्ट छ ।


देउवा र दाहालबीच सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगहरूमा पदपूर्ति, विधेयक निर्माणलगायत विषयमा पनि छलफल भएको दाहाल निकट स्रोतले जनाएको छ । ‘संक्रमणकालीन न्याय निरूपण ढिलो हुनुहुन्न भन्नेमा दुवैको जोड छ,’ दाहाल निकट नेकपाका एक नेताले भने, ‘छिटो गरेर टुंगो लगाऔं भन्नेमा उहाँहरू सहमत हुनुभयो ।’ यस्तै संक्रमणकालीन न्याय निरूपणसम्बन्धी ऐन बनाउने विषयमा दुई दलबीच सहमति भएर पीडितबाट रायसुझाव संकलनका लागि सातै प्रदेशमा जाने निर्णय भएको थियो । ‘यसअघि पार्टीको अध्यक्ष मात्रै र द्वन्द्वकालीन मुद्दामा उस्तैउस्तै स्थितिमा भएको नेताका हैसियतमा उहाँहरूबीच छलफल हुन्थ्यो,’ ती नेताले भने, ‘बिहीबार भने कार्यकारी भूमिकासहितको अध्यक्षका हैसियतमा भेट भयो ।’ उनका अनुसार दाहाल आफैंले फोन गरेर देउवालाई भेट्न पुगेका थिए । उनीहरूबीच बिहान करिब आधा घण्टा छलफल भयो । बुधबार सचिवालय बैठक राखेर चुनावी समीक्षाका लागि तल्लो तहमा सर्कुलर पठाउने निर्णय गरेलगत्तै दाहाल फ्रेस हुन भन्दै परिवारसहित भक्तपुरको एक रिसोर्टमा पुगेका थिए । बिहीबार बिहान त्यहाँबाट फर्किएपछि उनी देउवालाई भेट्न गएका हुन् । त्यसलगत्तै दाहाल धनगढी पुगे ।


दाहाल कार्यकारी अध्यक्षको भूमिकामा आएपछि उनले आन्तरिक तथा बाह्य भेटघाट र देश दौडाहालाई तीव्रता दिएका छन् । पार्टी जिम्मेवारीमा दुई अध्यक्षको स्पष्ट कार्यविभाजन नहुँदा काम गर्न नपाएको गुनासो गर्दै आएका दाहालले जिम्मेवारी बाँडफाँटपछि आफूलाई काम गर्न सजिलो भएको बताएका छन् । कार्यविभाजनसँगै दाहालसँग पार्टीको आन्तरिक विषयमा छलफल गर्न चाहने नेता–कार्यकर्ताको संख्या बढेको दाहाल निकटस्थहरूको भनाइ छ ।

प्रकाशित : मंसिर १९, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा मोबाइल प्रयोगकर्तामाथि कडाइ

सेवा लिन अब अनुहार स्क्यान गर्नुपर्ने
एजेन्सी

बेइजिङ — चीनले मोबाइल सेवा प्रयोगकर्तामाथि कडाइ गरेको छ । सरकारले लागू गरेको नयाँ नियमअनुसार अबदेखि मोबाइल फोन सेवा लिन चाहने नागरिकले आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ ।

अधिकारीहरूले देशका करोडौं इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्न नयाँ नियम लागू गरिएको जनाएका छन् । सेप्टेम्बरमा घोषणा गरिएको नियम यसै सातादेखि कार्यान्वयनमा आएको हो ।

गत सेप्टेम्बरमा चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रीले एक सूचना जारी गर्दै ‘इन्टरनेटमा नागरिकको वैधानिक अधिकार तथा स्वार्थ रक्षाका लागि’ नयाँ नियम कार्यान्वयनमा ल्याइएको बताएका थिए । उनका अनुसार टेलिफोन सेवा प्रदायकहरूले मोबाइल प्रयोगकर्ताको परिचय पुष्टि गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्राविधिक उपायहरू’ प्रयोगमा ल्याउनेछन् ।
चीनले आफ्ना नागरिकलाई निगरानी गर्न अनुहार पहिचान गर्ने प्रविधि यसअघि नै प्रयोगमा ल्याइसकेको छ । यस्तो प्रकृतिको प्रविधि प्रयोग गर्ने देशहरूमा चीन अग्रपंक्तिमा रहेको छ ।

चीनले देशभर अनुहार पहिचान गर्ने प्रविधि विस्तार गरेपछि त्यसको पक्ष/विपक्षमा बहस हुँदै आएका छन् । सरकारले अनुहार स्क्यान गर्ने नियमको घोषणा गरेपछि हजारौं मानिसले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । तीमध्ये अधिकांशले आफ्ना तथ्यांकको गोपनीयता र सुरक्षाबारे प्रश्न उठाएका थिए भने कतिपयले आफूहरूमाथि निगरानी गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
गत आइतबार कार्यान्वयनमा ल्याइएको व्यवस्थाअनुसार स्क्यान गरिएका सेवाप्रदायकका अनुहारका तस्बिर चीन सरकारको केन्द्रीय तथ्यांक भण्डारमा राखिएका व्यक्तिगत परिचयपत्रसँग भिडाएर हेरिनेछ ।

चीनमा यसअघि मोबाइल सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र र तस्बिर आवश्यक थियो । नयाँ नियमपछि स्क्यान गरिएको अनुहार र परिचयपत्रसम्बन्धी तथ्यांक मिलेको खण्डमा मात्र पहिले लिएको सेवा निरन्तर हुने जनाइएको छ ।
चीनले वर्षौंदेखि मानिसले आफ्नो ‘वास्तविक परिचय’ प्रयोग गरी इन्टरनेट प्रयोग गर्ने सुनिश्चित गर्ने गरी नियम ल्याउने प्रयास गर्दै आएको छ । चीनले सन् २०१७ मा इन्टरनेटमा कुनै सामग्री पोस्ट गर्नका लागि नयाँ नियम लागू गरेको थियो । नियमअनुसार वेबसाइटहरूले कुनै पनि व्यक्तिलाई अनलाइनमा कुनै सामग्री राख्न स्वीकृति दिनुअघि प्रयोगकर्ताको परिचय प्रमाणित गर्नुपर्छ ।

चीनलाई आफ्ना नागरिकको चर्को निगरानी गर्ने देशका रूपमा परिचित छ । चीन सरकारले सन् २०१७ मा देशका विभिन्न स्थानमा १७ करोड सीसीटीभी क्यामेरा जडान गरेको थियो । सरकारी अधिकारीका अनुसार चीन सरकारले सन् २०२० सम्म थप ४० करोड त्यस्ता क्यामेरा जडान गर्ने तयारी गरेको छ ।

सुरक्षा अधिकारीका अनुसार त्यस्ता सीसीटीभीका सहयोगले खोजीको सूचीमा रहेको तथा भगौडालाई पक्रन सहयोग पुगेको जनाउने गरेका छन् । गत वर्ष सुरक्षाकर्मीबाट भागेका एक व्यक्तिलाई ६० हजार दर्शक सहभागी भएको एक सांगीतिक कार्यक्रमबाट पक्राउ गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका थिए ।

अधिकांश चिनियाँले आफ्नो मोबाइल फोनबाट इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता जेफरी डिङका अनुसार ‘पहिचान लुकाइएका फोन नम्बर तथा इन्टरनेट अकाउन्टबाट उन्मुक्ति खोज्न’ चीनले नयाँ नियम कार्यान्वयमा ल्याएको हो । उनका अनुसार नयाँ नियमले साइबर असुरक्षा घट्ने तथा इन्टरनेटबाट हुने ठगी नियन्त्रण हुने चीनको अपेक्षा छ ।

प्रकाशित : मंसिर १९, २०७६ २०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×