योगेशको गुनासो- नगरकोटको सडक देखाएर भ्रमण वर्षलाई गाली गरे

'विमानस्थलकी कर्मचारीबारे हजारौं मेन्सन आए, सरुवा गरिदिएँ'
सुरज कुँवर

काठमाडौँ — नेपाल भम्रण वर्ष २०२० को औपचारिक थालनीको दिनगन्ती सुरु भइरहेका बेला यस अभियान मूल आयोजक समितिका संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार दिउँसो एउटा सम्मेलन गरे ।

योगेशको गुनासो- नगरकोटको सडक देखाएर भ्रमण वर्षलाई गाली गरे

सबै राजनीतिक दल, तीनका भातृ तथा जनवर्गीय संगठनका नेतालाई सिंहदरबारमा बोलाएर उनले रचनात्मक सुझाव मागेका थिए । तर, अधिकांशले अझै केही नभएको, भत्के बिग्रेकै अवस्था रहेका पूर्वाधार अभावबारे बताए ।


काठमाडौं धुलोमुक्त नभएको, फोहोर थुप्रिएको, सडकको अवस्था दयनीय नै रहेको, पर्यटकहरुका लागि सुरक्षा व्यवस्था कमजोर भएको, विमानस्थलमा जहाज अवतरणमा कठिनाइ भइरहेको, पर्यटकले एक बोतल पानीकै ४/५ सय रुपैयाँ तिर्नुपरेको जस्ता गुनासा उनीहरूले सुनाए । सबै गुनासा सुनेपछि अन्तरक्रियाको संयोजन पनि गरिरहेका मन्त्री भट्टराई बोल्न थाले ।


‘हामी सधैँ समस्याका गीत गाइरहेका छौँ तर यो समाधान होइन,' उनले भने। समाजमा टुप्पलुक्क कुनै नयाँ अवतार आएर समस्याको समाधान नहुने बताउँदै आफूलाई सामाजिक सञ्जालमा खेद्नेहरुका कथा भन्न थाले। जब उनले सामाजिक सञ्जालमा आफूलाई सम्बोधनमै ‘तँ’ आउने मेन्सनबारे सुनाउन थाले, मन्त्रालयको चौथो तलामा रहेको सभाहलमा सबैको ध्यानार्कषण भयो। हाँसो गुन्जियो। उनी पनि रौसिदै कथा सुनाउन थाले। ‘मेरो ट्विटरमा नगरकोटको बाटोका सडकको फोटो खिचेर मेन्सन आउँछ, नगरकोटको बाटो यस्तो छ ! तेरो भम्रण वर्ष !’ सबै गलल हाँसे।


त्यसपछि उनले अमेरिकाबाट लामो हवाइ यात्रा गरेर नेपाल आइपुगेको तर आफ्नो लगेज नपाएको यात्रुको मेन्सन सुनाए। ‘लामो यात्रा गरेर काठमाडौं आएपछि लगेज नपाउने यात्रुले एयरपोर्टको फोटो खिचेर मलाई यी तेरो एयरपोर्ट ! भनेर पठाउँछ।’


उनले यस्तै यस्तै खाले सयौं म्यासेज र मेन्सन आउने गरेको बताउँदै विमानस्थलमा ड्युटीमा रहेकी एक महिला कर्मचारीले फोनमा कुरा गरिरहेको भिडियो करिब एक हजारले आफूलाई ट्याग गरेको पनि बताउन भ्याए।


‘एयरपोर्ट ड्युटीमा फेसबुक चलाउन पाइदैन। फोन उठाउन पाइदैन। तर एक महिला कर्मचारीले फोन चलाइ रहेको भिडियो करिब एक हजारले मलाई ट्याग गरे।’ उनले यस घटनाको सामाजिक सञ्जालबाट थुप्रै विरोध भएपछि ती महिला कर्मचारीलाई अन्यत्रै सरुवा गरिसकेको पनि जानकारी गराए।


उनले सारमा यस्ता प्रतिनिधि घटनाको बढी प्रचार गरेर मुलुकबारे नकारात्मक प्रचार भइरहेको बताउँदै चिन्ता व्यक्त गरे। बुधबार मात्रै यसै सभाकक्षमा तीन दर्जन बढी मुलुकका राजदूत तथा प्रतिनिधिसँग भम्रण वर्षकै बारेमा अन्तरक्रिया भएको सुनाउँदै उनले भने, ‘टाढाका विदेशी राजदूतले मुक्तकण्ठले प्रशंसा गर्ने ? नजिक बसेकाले विरोध गर्ने यो राम्रो हुँदैन । ’


उनले पर्यटकको पूर्ण सुरक्षा भएको बताउँदै काठमाडौंको भृकुटीमण्डपमा चौबिसै घन्टा पर्यटक प्रहरी अलर्ट रहेको बताए । ‘कतै पर्यटकको पर्स चोरी हुन्छ । तर कतिपयले पर्यटकको पर्स भेटेर सम्बन्धितलाई बुझाएका पनि छन्। तर त्यतातिर मान्छेको ध्यान जाँदैन । एउटा पर्स चोरी भएको घटनाले बढीप्रचार गरिन्छ।’


उनले केही समय पहिले बीबीसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सगरमाथा जाम बारे सोधेको प्रश्नको पनि खण्डन गरे। ‘सगरमाथा एकदम जाम भयो भनेर बीबीसीले हाम्रा प्रधानमन्त्रीलाई सोधेको त्यो प्रश्न बेकारको थियो।’ उनले यसपटक दुईदिन मात्रै आरोहण खुलेकाले चुचुरोमा आरोहीको लाइन लागेको बताए । उनले यसलाई कन्ट्रोर्भसीको उदाहरण बताउँदै राजनीतिक दल र भातृ संगठनलाई ट्विटर,फेसबुक मार्फत् भ्रमण वर्ष बारे केही न केही प्रचार पोष्ट गरिरहन भने ।

प्रकाशित : मंसिर १९, २०७६ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?