नेपालगन्ज विमानस्थलमा बँदेल आतंक 

पप्पुले काम नसक्दा बढेको घाँसमा बँदेल र बाँदरकाे बास
मधु शाही

बाँके — सरकारले स्तरोन्नतिको लक्ष्यसहित नेपालगन्ज विमानस्थलमा गुरुयोजना अघि सारेको छ । तर, ठूलो योजना भित्र स–साना काम नहुँदा कसरी नचिताएका समस्या आइलाग्छन् भन्ने उदाहरण भएको छ– विमानस्थलमा मच्चिएको बँदेल आतंक ! 

नेपालगन्ज विमानस्थलमा बँदेल आतंक 

खासमा भएको के छ भने, जहाज अवतरण हुने रनवेको घाँस बेलैमा नकाटिँदा यो घाँसे मैदानमा परिणत भएको छ । र, यो घाँसे मैदानमा लुकामारी खेल्न नजिकैको जंगलबाट बँदेल र बाँदर आउन थालेका छन् । घाँसमा लुकेर बस्ने यी अनपेक्षित पाहुनाहरुले जहाज उडानलाई नै असर पार्न थालेका छन् ।


मंगलबार काठमाडौंबाट आएको बुद्ध एयरको ४५० जहाज अवतरण गर्ने क्रममा साँझ ६ ः ३० मा रनवेमा लुकीबसेको बँदेलको बच्चासँग ठोक्कियो । जहाजसँग ठोक्किएको बँदेलको बच्चा त्यहीं मर्‍यो । जहाजमा भने खासै क्षति पुगेन । तर, यसरी रनवेमै जंगली जनावरसँग जहाज ठोकिनु निकै जोखिमको कुरा भएको बुद्ध एयरका नेपालगञ्ज म्यानेजर विनीत शाह बताउँछन् ।


‘धन्न थोरै स्पीड भएको बेला जहाज बँदेलसँग ठोक्किएछ, धेरै स्पिड भएको भए जे पनि हुनसक्थ्यो,’ उनले भने । विमानस्थलमा घना झाडी भएको र ८ देखि १० वटा बँदेल दिउसै देखिने गरेको पनि उनले बताए ।


नेपालगञ्जमा पनि पप्पुले सकेन काम

झाडी फाँडेर जनावरको आवतजावत रोक्न विमानस्थल प्रशासन भने खासै संवेदनशील भएको पाइदैन । आफूले लिएका ठेक्का समयमा पूरा नगर्ने ठेकेदारका रुपमा सुचीकृत पप्पु कन्स्ट्रक्सनले नै नेपालगञ्ज विमानस्थल रनवे स्तरोन्नतिको ठेक्का पाएको हो । एक वर्षअघि नै सक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नेपालगन्ज विमानस्थलका नागरिक उड्डयन प्राविधकरण प्रमुख प्रेमनाथ ठाकुरले बताए ।


धवन मार्ग पिच गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) ठेक्का पप्पु कन्सट्रक्सनले १३ करोड रुपैयाँमा लिएको थियो । जसमा ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने सकिएको छैन । ठेकेदारले बेलैमा नसम्याउँदा विमानस्थलभरि घाँसे मैदान भएको पनि उनले बताए । ‘हामीलाई ठेकेदारले टेरपुच्छर नलगाएपछि क्यानको कार्यालयमा कारवाहीका लागि निवेदन दिएका छौं,’ प्रमुख ठाकुरले भने ।

जनावरबाट बच्न विमानस्थलको वरिपरि काँडेतार गरिएको ठाकुरले बताए । ‘तारले छेक्न सकेन, रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ,’ ठाकुरले भने ।


प्राधीकरणले पप्पुको धरौटी जफत गर्ने

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल काम पूरा नगर्ने पप्पुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको बताउँछन् । ‘धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रियामा छौं,’ महानिर्देशक पोख्रेलले भने, ‘अधिकांश काम अधुरै छोडिएको छ, कारबाही हुन्छ ।’


गुरु योजना झन्डै १२ अर्बको हो । गुरुयोजना अनुसार अझै १ सय २६ विघा जमिन अतिक्रमण गर्नुपर्ने छ । प्रमुख ठाकुरका अनुसार ६ वटा ठूला जहाज अटाउने पार्किङ–वे निर्माणाधीन छन् । विमानस्थलमा २ वटा मात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ हुन्थ्यो ।


प्रकाशित : मंसिर १९, २०७६ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?