कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अप्टिकल फाइबर निर्माण गर्न समझदारी

काठमाडौँ — कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा अप्टिकल फाइबर (सूचना महामार्ग) बिछ्याउने काम नेपाल टेलिकमले गर्ने भएको छ । टेलिकम र दुरसञ्चार प्राधिकरणबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर (एमओयु) भएको छ ।

अप्टिकल फाइबर निर्माण गर्न समझदारी

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । कर्णाली र सुदुरपश्चिममा अप्टिकल फाइबर विछ्याउने काम पहिले स्मार्ट टेलिकमलाई जिम्मा दिइएको थियो । तर साढे दुई वर्षमा १ प्रतिशत मात्रै काम गरेपछि गत कार्तिकमा स्मार्टसँगको सम्झौता रद्द गरिएको थियो । स्मार्टबाट खोसिएको अप्टिकल फाइबर बिछ्याउने ३ अर्बको परियोजना नेपाल टेलिकमलाई दिन मन्त्री परिषदले नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।


प्राधिकरणका अध्यक्ष खनालले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको आधारशिलाका रुपमा महामार्गलाई अघि बढाइएको बताउँदै निर्धारित समयमै काम सम्पन्न हुने बताए । त्यस्तै टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सूचना र प्रविधिको कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणकालागि आयोजना महत्वपूर्ण रहेको उल्लेख गर्दै मुलुकमा प्राविधिक र आर्थिक रुपान्तरण ल्याउन मद्दत पुग्ने बताए । कर्णाली र सुदुरपश्चिम प्रदेशका मध्य पहाडी लोकमार्ग, पूर्व–पश्चिम,उत्तर–दक्षिण, हुलाकी मार्ग, जिल्ला सदरमुकाम र नगरपालिकालाई समेत यस आयोजनाले अप्टिकल फाइबरको सञ्जालमा जोड्ने लक्ष्य छ ।


टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुने छ । दुई प्रदेशसहित बाँके र बर्दिया सहित २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुने छ । आयोजना अन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्युनतम ९६ कोरको तथा सदरमुकाम र नगरपालिका सम्म न्युनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार हुने छ ।


त्यस्तै आवश्यकता अनुसार ४०० गिगाविट प्रति सेकेन्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १०० गिगाविट प्रति सेकेन्ड क्षमता पोर्ट तथा १० गिगाविट प्रति सेकेन्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइने छ । अप्टिकल फाइबर सञ्जालमा करिब २६ स्थानमा डिडब्ल्युडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउने छन् । विस्तृत अध्ययन पश्चात एक महिनाभित्र सम्झौता गरीसक्ने समझदारीमा उल्लेख छ ।

प्रकाशित : मंसिर १९, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?