२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको अस्पताल बसाइ डेढ महिना !

काठमाडौँ — एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर बिहीबार डिस्चार्ज भए । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिए पेटमा पनि संक्रमण भएको पाइएपछि उनको अस्पताल बसाइ लम्बिएको थियो ।

दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको अस्पताल बसाइ डेढ महिना !

२०७५ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री भएपछि विगतमा भन्दा ओलीको अस्पताल बसाइ धेरै भएको छ । प्रधानमन्त्री ओलीको उपचार नेपालमा मात्रै नभएर सिंगापुरमा लगेर पनि गराइएको थियो ।

दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको पटक–पटक गरेर अस्पताल बसाइ डेढ महिना भएको छ । यसअघि प्रधानमन्त्री ओली २०७६ मंसिर ८ मा ग्राण्डी अस्पताल पुगेर चौथोपटक हेमोडायलसिस गराएका थिए । त्यसभन्दा अगाडि २०७६ कात्तिक ३० गते ग्राण्डी अस्पतालमै हेमोडायलसिस गराएका थिए । त्यसअघि पनि कात्तिक १३ गते ग्रान्डी अस्पतालमा भर्ना भएर दुई दिन बसेका थिए ।

२०७६ भदौ ५ देखि २० सम्म पनि ओली सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएर फर्किएका थिए । त्यसको एक महिना अगाडि २०७६ साउन १८ देखि २७ सम्म सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भएको थियो । २०७६ साउन १० गते उनी सैनिक अस्पतालमा स्वस्थ्य परिक्षण गराउन पुगेका थिए । दोस्रोपटक प्रधानमन्त्री भएपछि ओली २०७५ फागुन २२ गते पहिलोपटक शिक्षण अस्पताल भर्ना भई तीन दिन पछि डिस्चार्ज भएका थिए । दोस्रोपटक प्रधानमन्त्री हुनुभन्दा अघि पनि उनी २०७५ कात्तिक १२ गते शिक्षण अस्पताल भर्ना भई पाँच दिनपछि डिस्चार्ज भएका थिए ।


एपेन्डिसाइटिसको शल्यक्रियापछि ओलीको तत्काल केही समयका लागि मिर्गौला प्रत्यारोपण रोकिएको छ । उनी पूर्ण रुपमा स्वास्थ्य भएपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि उनी पुनः अस्पताल भर्ना हुने सम्भावना छ ।


बुधबार बसेको नेकपाको सचिवालय बैठकमा समेत ओलीको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाका बारे छलफल भएको थियो । बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गौला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको थियो । २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित : मंसिर २०, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?