१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

होटलको सेफ्टी ट्याङ्कीमा गैंडा मृत्यु प्रकरण : अभियुक्तलाई सफाइ 

रमेशकुमार पौडेल

चितवन — होटलको सेफ्टी ट्याङ्कीमा परेर गत वर्षको चैत्रमा गैंडाको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जले दायर गरेको मुद्दामा अदालतले बुधबार अभियुक्तलाई दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । पश्चिम चितवनको भरतपुर–२३ जगतपुरमा रहेको पर्यटकीय होटल टाइगर ल्याण्डको सेफ्टी ट्याङ्गीमा परेर गत वर्षको चैत्र १० गते एउटा पोथी गैंडाको ज्यान गएको थियो ।

होटलको सेफ्टी ट्याङ्कीमा गैंडा मृत्यु प्रकरण : अभियुक्तलाई सफाइ 

गैंडा मृत फेला परेपछि चितवन निकुञ्जका रेञ्जर शान्तबहादुर मगरको तर्फबाट चैत्र २६ मा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । निकुञ्जले होटलका सम्बन्धित व्यक्तिहरु अजित राणा भन्ने अजित विक्रम शाह, प्रद्युम्न घिमिरे, दीपक खनाल, कान्ति थापा, दिलबहादुर गुरुङ र भाष्कर भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले उनीहरुविरुद्ध दाबी नपुग्ने फैसला गरेका हुन् ।


चितवन जिल्ला अदालतले गत वर्षको मंसिर २६ मा गैंडा मृत्युसम्बन्धि एउटा मुद्दामा भने सजाय गरेको थियो । पश्चिम चितवन मेघौलीको होटल मेघौली सेराईमा करेन्ट लागेर २०७३ साउन २५ मा एउटा गैंडा मरेको थियो । यस मुद्दामा फैसला गर्दै अदालतले होटलका चारजना कर्मचारीलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवना गरेको थियो ।


सेफ्टी ट्याङ्कीमा पहिले पनि गैंडा परेका थिए । २०७४ सालको माघमा पनि सौराहाको एक होटलको सेफ्टी ट्याङ्कीमा गैंडा परेको थियो । तर त्यो बेला गैंडा मरेको थिएन । सो घटनापछि २०७४ सालको माघ २६ मा चितवन निकुञ्जको सौराहामा रहेको पुर्वी सेक्टर कार्यालयले सुचना निकालेर सेफ्टी ट्याङ्की वा गोबर ग्याँसको खाल्डो पुर्न वा सुरक्षित तरिकाले बनाउन भनेको थियो । बेवास्ता गरी दुर्घटना भए खाल्डो बनाउने व्यक्ति, संघ, संस्था वा कार्यालय जिम्मेवार हुने निकुञ्ज कार्यालयले चेतावनी नै दिएको थियो ।


लोपोन्मुख दुर्लभ गैंडा मारेमा वा त्यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना, पाँचदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ । गैंडाको अंग खागका लागि तस्करहरुले गैंडा मार्ने गर्छन् । यसबाहेक स्थानीयको खेत वा होटलहरुमा करेन्ट लागेर गैंडा मरेमा पनि सम्बन्धित व्यक्तिहरुलाई कारबाही हुने गरेको छ ।

प्रकाशित : मंसिर १९, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?