कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

३१ देशका राजदूतसँग छलफल

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूलाई भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

३१ देशका राजदूतसँग छलफल

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्थाका प्रमुखहरूलाई मन्त्रालयमै बोलाएर सहयोगको आग्रह गरेका हुन् । नेपालस्थित राजदूतहरू महत्त्वपूर्ण भएको जनाउँदै भट्टराईले भ्रमण वर्षका बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरेका थिए । सम्बन्धित देशका पर्यटन मन्त्रीहरूलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको समेत उनले जानकारी गराए ।


राजदूतहरूले नेपाल भ्रमण वर्ष सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटकमा चीन दोस्रो रहेको उल्लेख गर्दै भ्रमण वर्ष सफल बनाउन साथ र सहयोगको प्रतिबद्धता जनाएकी थिइन् । उनले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू चिनियाँ कम्पनीले बनाइरहेको उल्लेख गर्दै समयमै निर्माण सम्पन्न गर्ने बताएकी थिइन् । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामग्री उपलब्ध गराए आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


अस्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलान्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले पनि भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


मन्त्री भट्टराईले भूकम्पबाट भत्किएका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को पुनर्निर्माण सम्पन्न भइसकेको र बाँकी निर्माणक्रममा रहेको जानकारी गराए । उनले अहिले पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको र १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताए । नेपालमा पर्यटकले हाल प्रतिदिन ४४ अमेरिकी डलर खर्च गरिरहेको उल्लेख गर्दै उनले अब ८० डलर पुर्‍याउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए ।


उनले आगामी २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताए । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको र लगानी जुटाउने मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको उनले बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरूलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए ।


मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिँदै आगामी १० वर्षभित्र सबै आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने योजना सुनाएका थिए । कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलगायतले पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीबारे जानकारी गराएका थिए ।


प्रकाशित : मंसिर १९, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?