सिकलसेल खुट्याउन नगरभरि रगत जाँच

ठाकुरसिंह थारू

(बर्दिया) — थारू समुदायमा सिकलसेलको समस्या बढ्दो देखिएपछि बाँसगढी नगरपालिकाले त्यस समुदायका सबै व्यक्तिको रगत जाँच्न थालेको छ । एकबाट अर्को पुस्तामा सिकलसेल सर्न नदिन नगरपालिकाले प्रयोगशाला (ल्याब) सञ्चालन गरेर जाँच थालेको हो । 

गत वर्ष बाँसगढी–६, दमौली गाउँमा गरिएको नमुना जाँचबाट चिन्ताजनक अवस्था देखिएपछि रोकथाममा जुटेको नगरपालिकाले जनाएको छ । उक्त दमौली गाउँका थारू समुदायका १ हजार १ सय ५० जनाको रगत परीक्षण गर्दा १ सय ८५ जनामा संक्रमण पाइएको थियो । १ सय २० जनालाई पूर्ण निदानका लागि इलेक्ट्रोफोर्सिस जाँच गर्दा आठ जनामा सिकलसेल रोग र तीन जनामा थालसेमिया र ७८ जनामा सिकलसेल ट्रेड देखापरेको थियो । बाँसगढी नगरपालिकाको जनसंख्या ६५ हजार छ । तीमध्ये आधा थारू छन् ।


१७ लाख रुपैयाँमा मेसिन किनेर ल्याब सञ्चालनमा ल्याइएको हो । नगरले सिकल बिरामीको जाँच र उपचारका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । एक सय जनाको सिकल जाँचका लागि एक लाख रुपैयाँ खर्च लाग्छ । उक्त जाँचका लागि निजी ल्याबमा दुई हजारसम्म शुल्क तिर्नुपर्छ ।


सरकारले सिकलका बिरामीलाई नि:शुल्क उपचार घोषणा गरेको वर्षौं हुँदा पनि कार्यान्वयन भएको छैन । नगरपालिका प्रमुख शालिकराम अधिकारीले ल्याब स्थापनापछि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले नि:शुल्क सेवा पाउने बताए । ‘सिकलको पहिचान गर्न सकिए अर्को पुस्तामा नसर्न सावधानी अपनाउन सकिन्छ,’ उनले भने । भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले थारू समुदायमा सिकल समस्याका रूपमा देखिएकाले नियन्त्रण आवश्यक रहेको बताए । ‘युवायुवतीले समयमै सिकल टेस्ट गरेर बिहेबारी गर्ने हो भने अर्को पुस्तामा सर्दैन र यसले महामारीको रूप लिन पाउँदैन,’ उनले भने । रोगको पहिचान समयमै नहुँदा बिहेबारीपछि जन्मिने अर्को पुस्तामा सर्ने गरेको छ । यसअघि सिकल जाँचका लागि काठमाडौंको टेकु, नेपालगन्ज र धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो । रोगको पहिचान समयमै नहुँदा उपचार अभावमा बिरामीको मृत्यु हुने गरेको छ । मुलुकभरि दुई हजार सिकलका बिरामी उपचारकै क्रममा छन् ।


सिकलसेल भएका बुबाआमाबाट जन्मिएका छोराछोरीमा पनि सर्ने भन्दै कतिपयका बिहेबारी रोकिन थालेका छन् । कतिपय चिकित्सकले सिकलसेल भएका अभिभावकलाई सन्तान नजन्माउन सुझाएका छन् । सिकलसेलले औलो रोग लाग्ने सम्भावना कम गर्छ । लामो समयसम्म एउटै वातावरणमा बस्ने, आफ्नै समुदायभित्र बिहेबारी गर्ने र गर्मी ठाउँमा बस्नेहरूलाई यो रोग लाग्ने गरेको छ । प्रकाशित : मंसिर १८, २०७६ ०९:०५

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गहुँलाई छैन मल

ठाकुरसिंह थारू

(बर्दिया) — किसानलाई गहुँ छर्ने चटारोसँगै मलको अभाव खट्किन थालेको छ । मल नहुँदा कतिपय किसानले गहुँ छर्न पाएका छैनन् । कतिपयले मलबिनै गहुँ छरेका छन् । कात्तिकको पहिलो सातादेखि मल सकिएको हो । मल बिक्री गर्ने सहकारी बन्द छन् भने भारतबाट चोरी तस्करी हुने क्रम बढेको छ ।

सीमावर्ती बलैगाउँ बजार आसपासबाट तस्करी हुने गरेको छ । तस्करीको मल प्रहरीले पक्राउ गरिरहेको छ । किसान भने सरकारले मल उपलब्ध गराउन नसके भारतबाट ल्याउन दिनुपर्ने माग गरिरहेका छन् । ‘सरकारले कि त मल दिनुपर्‍यो । होइन भने भारतबाट ल्याउँदा पक्राउ गर्नुभएन,’ स्थानीय किसान गयादिन यादवले भने, ‘धान रोप्ने बेला पनि मल पाइएन । गहुँ छर्ने समयमा फेरि हाहाकार भएको छ ।’ यादवले पैसा दिएर पनि मल किन्न नपाएको गुनासो गरे ।

कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बर्दियाका अनुसार जिल्लाका लागि कम्तीमा युरिया १२ हजार टन, डीएपी १० हजार टन र पोटास चार सय टन आवश्यक पर्छ । मागअनुसारको मल भने कृषि सामग्रीले उपलब्ध गराउन सकेको छैन । रोपाइँका बेला बर्दियामा ७५ सय टन मल बिक्री भएको थियो । बर्दियाका लागि भैरहवाबाट मल ल्याउने गरिएको छ । कृषि सामग्री संस्थान बर्दियाका प्रमुख मोहनसिंह केसीले हिउँदे बालीका लागि मल आउन सुरु भएको दाबी गरे । उनले केही परिमाणमा मल आइसकेको र थप मल भैरहवामा लोड भइरहेको जनाए । ‘भैरहवाबाट आइनपुगेका कारण मल अभाव देखिएको हो । तर, केही दिनदेखि मल आउन सुरु भइसकेको छ,’ उनले भने, ‘मल आइपुगेपछि सहकारीमार्फत किसानलाई बिक्री सुरु गरिनेछ ।’

कृषि सामग्री संस्थानले प्रतिबोरा युरिया ८ सय १, डीएपी २ हजार २ सय ५१ र पोटास १ हजार ४ सय ४५ रुपैयाँ मूल्य तोकेको छ । सहकारीहरूले भने केही नाफा र यातायात ढुवानी खर्च लिएर किसानलाई बिक्री गर्दै आएका छन् । बर्दियाका ९५ सहकारीले मल बिक्री गर्ने अनुमति पाएका छन् ।

प्रकाशित : मंसिर ८, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×