अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री

बिनु सुवेदी

काठमाडौँ — उपप्रधानमन्त्री उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्याबाट कानुन मन्त्रालयमा सरुवा हुँदा भारत थिए । सरुवाको पर्सिपल्ट अर्थात् गत मंसिर ६ गते फर्किएका यादव ९ गतेबाट मात्रै नयाँ मन्त्रालय गए । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत चौमासिक समीक्षा बैठक राखेका थिए । नयाँ मन्त्रालयबारे आफूलाई केही थाहा नभएको बताउँदै यादव बैठकमा उपस्थित भएनन् । ९ गते राति प्रधानमन्त्री ओली बिरामी परे । उनी १० गतेदेखि अस्पतालमा छन् ।

अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री

यता यादवले कतिपय जरुरी विषयमा प्रधानमन्त्रीसँग सरसल्लाह गर्न नपाएको बताएका छन् । ‘म यो मन्त्रालयमा आएपछि प्रधानमन्त्रीज्यूसँग एकपटक पनि भेट हुन पाएन, समन्वय गर्नुपर्ने कुरा थिए, धेरै विषयमा सरसल्लाह गर्नुपर्ने छ,’ मन्त्री यादवले कान्तिपुरसँग भने, ‘तर बिरामी मान्छेलाई दु:ख दिनु भएन ।’


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङले पनि प्रधानमन्त्रीसँग यथेष्ट सरसल्लाह गर्न पाएका छैनन् । ‘समीक्षा बैठकमा प्रधानमन्त्रीज्यूले दिएको लामो निर्देशन र उहाँको गाइडलाइनअनुसार नै वार्षिक कार्यक्रम बनाउने, विधेयकबारे छलफल गर्ने र कार्यविधि बनाउने गरेका छौं,’ उनले भने, ‘आवश्यक विषयमा प्रधानमन्त्रीज्यूको सचिवालयसँग छलफल भइरहेको छ । अलि अप्ठेरो परिस्थिति आइहाले पनि सम्बोधन भइहाल्छ ।’

गत ९ गतेको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरूलाई आफ्नो मन्त्रालय राम्रोसँग बुझेर कार्ययोजना बनाउन र पुराना मन्त्रीहरूलाई मन्त्रालयमा दह्रो पकड बनाउन निर्देशन दिएका थिए । उनले योजनाअनुसार काम किन भइरहेको छैन भन्ने विषयमा सबै मन्त्रीहरूसँग एक्लाएक्लै पनि छलफल गर्ने बताएका थिए । लगत्तै बिरामी भएपछि प्रधानमन्त्री ओलीको त्यो योजना कार्यान्वयन हुन सकेको छैन । साप्ताहिक रूपमा बस्दै आएको मन्त्रिपरिषद् बैठकसमेत यो साता भएन ।


प्रधानमन्त्री बिरामी भएकै कारण सरकारले गर्नैपर्ने काम भने नरोकिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । ‘सरकारको काम चलिरहेको छ, प्रधानमन्त्रीज्यूले हस्ताक्षर नै गर्नुपर्ने काम तत्काल केही छैनन्,’ उनले भने, ‘आवश्यक विषयमा सचिवालय र सल्लाहकारमार्फत समन्वय भइरहेको छ ।’ उनले मन्त्रीहरूको तहमा गर्नुपर्ने संयोजन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रशासनिक तहमा गर्नुपर्ने समन्वय मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत भइरहेको जानकारी दिए ।


प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । पछिल्लो पटक पोखरेलले दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहलाई सम्बोधन गरे । निर्धारित कार्यतालिकामा प्रधानमन्त्रीले सागलाई सम्बोधन गर्ने उल्लेख थियो । प्रधानमन्त्री ओलीले भने अस्पतालको आईसीयूबाटै समारोहको उद्घाटन हेरेका थिए । प्रधानमन्त्रीको सचिवालयले सरकारको काम रोकिने स्थिति नआएको दाबी गरेको छ । ‘मानवीय संवेदनाका कुरा पनि आउलान्, उहाँ अहिले बिरामी हुनुहुन्छ,’ रिमालले भने, ‘एक साताभित्र कुनै पनि दिन उहाँ डिस्चार्ज हुनुहुन्छ, काम निरन्तर भइहाल्छ ।’


प्रधानमन्त्री ओलीले पछिल्लोपटक अस्पताल भर्ना हुनुअघि सरकार पुनर्गठन र पार्टीका मिलाउनैपर्ने कतिपय विवाद टुंग्याएका थिए । तर संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा पदपूर्ति तथा विधेयक तयार, संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति, भारतीय पक्षबाट अतिक्रमणमा परेको कालापानी क्षेत्रको समस्या समाधानका लागि लिनुपर्ने पहलकदमी ओलीले तत्काल गर्नुपर्ने काम हुन् ।


सचिवालय बैठक आह्वान

स्पष्ट कार्यविभाजनपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भेट अस्पतालमा मात्रै भयो । सरकार ओली र दल दाहालले सम्हाल्ने गरी काम बाँडफाँट भएलगत्तै दाहाल चुनावी दौडाहामा जिल्ला निस्किएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीसँग अस्पतालमा भएको भेटमा भएको सामान्य सल्लाहअनुसार दाहालले बुधबार बिहान ९ बजेका लागि पार्टी सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बस्नेछ । यो बैठक दाहालले कार्यकारी भूमिका पाएपछिको पहिलो बैठक हुनेछ । ‘प्रधानमन्त्रीको स्वास्थ्यका कारण भेटघाट हुन नपाएपछि छलफल रोकिने भयो, अहिले हाम्रो सम्पूर्ण ध्यान उहाँको स्वास्थ्यमा केन्द्रित छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुध्रिँदै गएपछि अर्का अध्यक्ष दाहालले सामान्य रूपमा छलफल गर्नुभयो र दुई अध्यक्षको परामर्शमा सचिवालयको अनौपचारिक बैठक बोलाइएको छ ।’


प्रवक्ता श्रेष्ठले बुधबारको बैठकपछि सचिवालयका अरू बैठक, स्थायी समिति र केन्द्रीय कमिटीको बैठक आह्वान गर्नेबारे छलफल र निर्णय हुने जानकारी दिए । उनका अनुसार अध्यक्ष दाहालले ओलीसँगको परामर्शमा छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्नेछन् ।


प्रधानमन्त्रीसँग पछिल्लो पटक गत आइतबार करिब १५ मिनेट भेटेका दाहालले उपचुनाव, पार्टी कामबारे आफ्नो योजना र तत्कालका लागि स्थगित भएको चीन भ्रमणबारे छलफल गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि नै दाहालले निर्धारित चीन भ्रमण रोकेका थिए । पार्टीमा कार्यकारी भूमिका पाएलगत्तै दाहालले छिट्टै पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेका थिए । तर ओली बिरामी भएपछि उनले सोचेको समयमा बैठक बोलाउन भने सकेका थिएनन् ।

उनले पार्टी कामलाई कसरी अघि बढाउने भन्ने विषयमा आन्तरिक छलफल भने तीव्र पारेको स्थायी समिति सदस्य अग्नि सापकोटाले जानकारी दिए । ‘अध्यक्ष दाहालले समग्र पार्टीलाई कसरी व्यवस्थित बनाउने र पार्टी बैठकहरू कहिले कहिले बोलाउने भन्ने विषयमा छलफल गरिरहनुभएको छ,’ सापकोटाले भने, ‘तर कुन कुन तहको बैठक कहिले बोलाउने भन्ने विषय यकिन भइसकेको छैन ।’ दाहालले पार्टीको समग्र कामबारे महासचिव विष्णु पौडेलसँग छलफल गरेर योजना बनाइरहेका छन् ।


नेपाल र खनाल अस्पताल पुगेनन्

प्रधानमन्त्री ओली आठ दिनदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, ओलीकी श्रीमती राधिका शाक्य र सचिवालय तथा सल्लाहकार समूहका सदस्यबाहेक अरूले प्रत्यक्ष भेटेका छैनन् । उनको स्वास्थ्य अवस्थाबारे बुझ्न दैनिक अस्पताल जानेको संख्या भने धेरै छ । सरकारका सबै मन्त्री, नेकपाका नेता कार्यकर्ता, प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरू, सांसद अरू राजनीतिक दलका प्रतिनिधि तथा सरकारी उच्च निकायका अधिकांश पदाधिकारीले अस्पताल पुगेर ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । उनीहरूले स्वकीय सचिवालयका सदस्य या उपचारमा संलग्न डाक्टहरूमार्फत स्वास्थ्यबारे जानकारी लिएका हुन् ।


प्रधानमन्त्रीलाई भेट्न जाने सूचीमा पूर्वप्रधानमन्त्रीद्वय एवं नेकपा सचिवालय सदस्यहरू झलनाथ खनाल र माधवकुमार नेपालको नाम भने छैन । ओली बिरामी भएर अस्पताल भर्ना हुँदा खनाल र नेपाल दुवै विदेश थिए । चीनमा रहेका खनाल १३ गते स्वदेश फर्किए भने टर्कीमा रहेका नेपाल १४ गते काठमाडौं आए । उनीहरू प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझसम्म अस्पताल पुगेका छैनन् । डाक्टरहरूले कसैलाई पनि भेट्न नदिएको खबर पाएकाले भेट्न नगएको प्रतिक्रिया उनीहरूको छ ।

नेपाल निकट स्रोतले बताएअनुसार प्रधानमन्त्रीलाई नै भेटेर स्वास्थ्यबारे जानकारी लिने योजनामा उनी छन् । खनालले पनि अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेट्न नपाउने भएपछि आफू नगएको प्रतिक्रिया दिए । कान्तिपुरसँग खनालले भने, ‘डाक्टरले कसैलाई पनि प्रधानमन्त्रीसँग भेट्न नदिएको खबर पाएपछि म नगएको हुँ ।’


प्रकाशित : मंसिर १८, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?