२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्न २ देखि ४ महिना लाग्न सक्ने

डाक्टरहरू भन्छन्– कमजोर मिर्गौलाले शल्यक्रिया, संक्रमण आदि जटिलता झेलेकाले नियमित डायलसिसमा जानुपर्ने हुन सक्छ
अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने ।

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्न २ देखि ४ महिना लाग्न सक्ने

एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि ८ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो । स्वास्थ्यमा निरन्तर राम्रो सुधार भए दुईदेखि चार महिनापछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सकिने डा. काफ्लेको भनाइ छ ।


यसअघि गत शुक्रबार प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा हतार गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन् । अनुकूल समय पारेर प्रत्यारोपण गरिने उनको भनाइ थियो ।


मिर्गौला प्रत्यारोपणका क्रममा अर्को मिर्गौला राख्न सक्ने ठाउँ ठीक हुनुपर्ने डा. काफ्ले बताउँछन् । ‘पेटको संक्रमणले प्रधानमन्त्रीको आन्द्रा वरिपरिको झिल्लीमा कस्तो प्रभाव पारेको छ,’ उनले भने, ‘त्यसले शल्यक्रियाको जटिलतासमेत निर्धारण गर्छ ।’


पछिल्लो समय डाक्टरहरूले प्रधानमन्त्रीको छिटोछिटो डायलसिस गरिरहेका छन् । आइतबारसम्म ६ दिनमा ४ पटक डायलसिस गरेका थिए । प्रधानमन्त्री ग्रान्डी हस्पिटलमा रहेका बेला भने २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो ।


जटिल शल्यक्रिया, संक्रमण, शरीरमा फोहोर बढी जम्मा हुनु आदि कारणले प्रधानमन्त्री ओलीका मिर्गौलामा परेको भार घटाउन डायलसिस गरिरहनुपरेको डाक्टरहरूको भनाइ छ । ‘अहिलेको जटिल शारीरिक समस्याले मिर्गौला कमजोर नपारेको भए फाट्टफुट्ट गरिएको डायलसिसले काम गर्थ्यो,’ डा. काफ्लेले भने ।


पछिल्लो शल्यक्रिया गर्नुअघिकै अवस्थामा प्रधानमन्त्रीको मिर्गौला रहिरहेमा डायलसिसको संख्या घटाउन सकिने डाक्टरहरू बताउँछन् । अन्यथा निरन्तर डायलसिसमा जानुपर्ने स्थिति आउने उनीहरूको भनाइ छ ।

पत्रकार सम्मेलनमा गत शुक्रबार डा. रमेशसिंह भण्डारीले प्रधानमन्त्री अस्पताल आउँदा धेरै बिरामी रहेको र शल्यक्रियापछि संक्रमणको असर पेट र रगतमा समेत परेको बताएका थिए । तर पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा बढी राम्रो सुधार देखिएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १७, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?