गढीमाईमा साढे ८ हजारको बलि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गढीमाईमा साढे ८ हजारको बलि

कान्तिपुर संवाददाता

बारा — गढीमाई मन्दिरमा मंगलबार साढे ८ हजार* पाडाको बलि दिइएको छ । हरेक ५ वर्षमा लाग्ने गढीमाई मेलामा अघिल्लोपटक करिब ५ हजार पाडाको बलि चढाइएको थियो । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा तान्त्रिक विधिअनुसार पञ्चबलि दिएर पूजा गरिएको हो । मन्दिरमा ब्रह्मस्थान र गढीमाईलाई रंगशालामा जम्मा गरिएका पाडा बलि चढाइएको थियो ।


पूजा समितिका सदस्य र प्रत्यक्षदर्शीले यसपालि साढे ८ हजारभन्दा बढी पाडाको बलि दिइएको अनुमान गरे पनि मेला व्यवस्थापन समितिले संख्या सार्वजनिक गरेको छैन । समितिका पदाधिकारीले सबै रसिद संकलन भइसकेपछि संख्या यकिन हुने बताए । २५ वर्षदेखि मार हान्दै आएका आदर्शकोतवाल गाउँपालिका–६ टेढाकट्टी गाउँका ५५ वर्षीय महेन्द्र मण्डलले यसपालि पाडाको बलि बढेको बताए । बरियारपुरका स्थानीय विजय स्वर्णकारले गढीमाईप्रति विश्वास र आस्था बढेकाले धेरै राँगाको बलि दिइएको बताए । पशुअधिकारकर्मीको बलि विरोधी अभियान र सर्वोच्च अदालतको बलि निरुत्साह गर्ने आदेशविपरीत धार्मिक आस्थाका कारण बलि बढेको स्थानीयको स्थानीयको बुझाइ छ ।


पाँच वर्ष अघिको मेलामा भारतीय अदालतको फैसलाका कारण त्यहाँबाट आउने पाडाको संख्या घटेको थियो । यसपालि नाकामा कडाइ नहुँदा बलि बढेको स्थानीयले बताए । गढीमाई मेलामा भारतबाट ७० प्रतिशत पाडा आउने गरेको छ ।


बलि व्यवस्थापन उपसमितिका सचिव भुवनेश्वर पासवानले रंगशालामा जम्मा गरिएको पशुको हिसाब मूल समितिलाई जानकारी गराइसकेको बताए । ‘हाम्रो जिम्मा बलिका लागि ल्याइएकापाडा व्यवस्थापन गर्नुपर्ने थियो,’ उनले भने, ‘हामीले इमान्दारीसाथ काम पूरा गरेर हिसाब किताब मूल समितिलाई जिम्मा लगाइदियौं ।’ पाडा बलि दिने, नदिने सम्पूर्ण जिम्मेवारी मूल समितिको भएको उनले जिकिर गरे । आफूलाई पनि रंगशालामा जम्मा गरिएको पाडाको संख्या थाहा नभएको उनले दाबी गरे ।


बलि दिँदाको भिडियो र तस्बिर खिच्न सञ्चारकर्मीलाई पूजा व्यवस्थापन उपसमितिले रोक लगाएको थियो । बलिका लागि मार हान्न यसपालि गढीमाई मेला मूल व्यवस्थापन समितिले कसैलाई अनुमति नदिएको महासचिव मोतीलाल कुशवाहाले बताए । झन्डै एक हजारको संख्यामा खुँडा लिएर मार हान्न युवा जमात ब्रह्मस्थानमा गढीमाईको आशीर्वाद लिन आइपुगेका थिए । २०३६ सालदेखि मेला व्यवस्थापन मूल समितिसँग अनुमति लिएर मार हान्दै आएका महागढीमाई नगरपालिका १ बरियापुरका ५५ वर्षीय चन्द्रप्रसाद साहले भने, ‘यसपालि मेला समितिले मार हान्न कसैलाई अनुमति दिएको छैन ।’ गढीमाई मेलामा बलि दिइएका पशुको आधिकारिक तथ्यांक आफूकहाँ नआएको गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए ।


बलि हेर्न जाँदा ५१ घाइते


पाडाको बलि हेर्न तारबार गरिएको रंगशालाको पर्खाल चढ्ने र झर्ने क्रममा ५१ जना दर्शनार्थी घाइते भएका छन् । प्रहरीलाई देखेर हतारमा हामफाल्दा तारले काटिएर उनीहरू घाइते भएको मेलामा सञ्चालित स्वास्थ्य शिविरका इन्चार्ज अजयकुमार सिंहले बताए । ‘घाइते भएकाहरू उपचार गराएर फर्केका छन्,’ उनले भने । बिरामी र घाइते भएर मंगलबार मध्याह्नसम्ममा २ हजार १ सय ६० जना दर्शनार्थी शिविरमा उपचार गराउन आएको उनले जानकारी दिए ।

*अघिल्लो समाचारमा अपडेट गरिएको

प्रकाशित : मंसिर १७, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्

कार्यकारी अध्यक्षको जिम्मेवारीपछि दाहालले बोलाए सचिवालय बैठक

बबिता शर्मा

काठमाडौँ — दुई अध्यक्षको जिम्मेवारी तयभएपछि सत्तारुढ नेकपाको पहिलो सचिवालय बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् । 

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारको शिलशिलामा अस्पतालमै रहेकाले उनी बैठकमा सहभागी हुने छैनन् । प्रधानमन्त्री ओलीसँग सहमति लिएर दाहालले सचिवालय बैठक बोलाएका हुन् । मंगलबार सचिवालयका अन्य नेताहरुसँग पनि दाहालले छलफल गरेका थिए ।

मंसिर ४ को सचिवालय बैठकले कार्यकारी भूमिकासहित पार्टी सञ्चालनको जिम्मेवारी दिएपछि दाहालको अध्यक्षतामा बस्न थालेको यो पहिलो बैठक हो ।

बुधबार बिहान पार्टी कार्यालयमा बैठक बस्न लागेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना, उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रिय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगाएतका एजेण्डामा छलफल हुने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै अध्यक्ष दाहालले मंसिर २४ गतेलाई तय भएको आफ्नो चीन भ्रमण पनि स्थगित गरेका थिए ।

मंसिर ४ गतेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अध्यक्ष दाहालले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पार्टी एकताको लामो समयपछि पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएपछि जिम्मेवारीलाई लिएर हुने गरेको ओली र दाहालबीचको विवाद पनि टुंगिएको थियो ।

अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्दित हुने र अर्का अध्यक्ष दाहाल कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्दित हुने नेकपाको निर्णयसँगै दाहालले सक्रियता बढाएका थिए । उनी उपनिर्वाचनको प्रचारमा धेरै ठाँउ पुगेका थिए ।

यसअघि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्थात भदौ ९ गते पनि दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । पार्टी कार्यालयमा बसेको उक्त बैठकले सांगठनिक एकीकरणका केही काम टुङ्गायको थियो भने नेताकार्यकर्तालाई लागू हुने गरेर अनुशासनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको थियो ।


प्रकाशित : मंसिर १७, २०७६ २०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×