१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कार्यकारी अध्यक्षको जिम्मेवारीपछि दाहालले बोलाए सचिवालय बैठक

बबिता शर्मा

काठमाडौँ — दुई अध्यक्षको जिम्मेवारी तयभएपछि सत्तारुढ नेकपाको पहिलो सचिवालय बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् । 

कार्यकारी अध्यक्षको जिम्मेवारीपछि दाहालले बोलाए सचिवालय बैठक

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारको शिलशिलामा अस्पतालमै रहेकाले उनी बैठकमा सहभागी हुने छैनन् । प्रधानमन्त्री ओलीसँग सहमति लिएर दाहालले सचिवालय बैठक बोलाएका हुन् । मंगलबार सचिवालयका अन्य नेताहरुसँग पनि दाहालले छलफल गरेका थिए ।

मंसिर ४ को सचिवालय बैठकले कार्यकारी भूमिकासहित पार्टी सञ्चालनको जिम्मेवारी दिएपछि दाहालको अध्यक्षतामा बस्न थालेको यो पहिलो बैठक हो ।

बुधबार बिहान पार्टी कार्यालयमा बैठक बस्न लागेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना, उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रिय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगाएतका एजेण्डामा छलफल हुने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै अध्यक्ष दाहालले मंसिर २४ गतेलाई तय भएको आफ्नो चीन भ्रमण पनि स्थगित गरेका थिए ।

मंसिर ४ गतेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अध्यक्ष दाहालले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पार्टी एकताको लामो समयपछि पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएपछि जिम्मेवारीलाई लिएर हुने गरेको ओली र दाहालबीचको विवाद पनि टुंगिएको थियो ।

अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्दित हुने र अर्का अध्यक्ष दाहाल कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्दित हुने नेकपाको निर्णयसँगै दाहालले सक्रियता बढाएका थिए । उनी उपनिर्वाचनको प्रचारमा धेरै ठाँउ पुगेका थिए ।

यसअघि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्थात भदौ ९ गते पनि दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । पार्टी कार्यालयमा बसेको उक्त बैठकले सांगठनिक एकीकरणका केही काम टुङ्गायको थियो भने नेताकार्यकर्तालाई लागू हुने गरेर अनुशासनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको थियो ।


प्रकाशित : मंसिर १७, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?