१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बागलुङ दुर्घटना : घुम्तीमा नमोडिँदा खस्यो जिप

१४ को मृत्यु
प्रकाश बराल

बागलुङ — कुलपूजाका लागि हिँडेका यात्रुले खचाखच जिप घुम्तीमा मोड्न नसकी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकाको देवीस्थानतर्फ जाँदै गरेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भीमगिठेबाट मंगलबार बिहान साढे ९ बजे खोलामा खसेको थियो ।

बागलुङ दुर्घटना : घुम्तीमा नमोडिँदा खस्यो जिप

दुर्घटनामा ३ जना घाइते भएका छन् भने एक जनालाई बडिगाड खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

कार्की परिवारका सदस्य जिपमा सवार रहेको जिल्ला प्रहरीका नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिए । १८ जना यात्रु रहेको जिप बढी भार, तीव्र गति र स्टेयरिङको खराबीका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । सडक छेउमा गाडिएका ४ पिल्लर भाँचेर जिप दुई सय मिटर तल खसेको थियो ।


दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भीमगिठेका प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।


बडिगाड–४ स्थित खार प्रहरी चौकीले २४ जना चढेर आएको देखेपछि जिप रोकेको थियो । प्रहरीले ८ जनालाई झारेर अर्को जिपमा पठाएको थियो । ‘उनीहरू हिँडेको १० मिनेटमै जिप खोलामा खसेको खबर आयो,’ स्थानीय कमल पौडेलले भने, ‘प्रहरीको सक्रियताले थप ८ को जनाको ज्यान बच्यो ।’ मृतकमध्ये ९ महिला, ४ पुरुष र एक बालिका छन् ।


मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ की ३० वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, उनकी २ वर्षीया छोरी अनुशा, ६५ वर्षीय झवि कार्की, २५ वर्षीया मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की छन् । बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसी, इस्मा–५ की वसुन्धरा कार्की, इस्मा–३ की २३ वर्षीया माया थापा, पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुमा कार्की र सीता कार्कीको पनि मृत्यु भएको छ । कञ्चनपुरका ५५ वर्षीय धनबहादुर कार्की, इस्मा–४ का २५ वर्षीय चालक रेशम थापा र इस्मा–४ कै ४० वर्षीय महेन्द्र कार्कीको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।


बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, इस्माका ८ वर्षीय हिमाल कार्की र २४ वर्षीय रेशमा कार्की घाइते भएका छन् । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । बडिगाडमै उनीहरूको प्राथमिक उपचार गराइएको थियो । बडिगाड खोलाले बगाएर १५ वर्षीय धनबहादुर कार्की बेपत्ता भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । मृतक सबैको पोस्टमार्टम गरेर परिवारले मंगलबारै शव बुझिसकेका छन् ।


दुर्घटनालगत्तै उद्धारका लागि घटनास्थलमा पुगे पनि अधिकांशको मृत्यु भइसकेको प्रत्यक्षदर्शीले बताए । जिप उल्टो परेको थियो । ‘भीर र खोलाको खोंचमा जिप फसेकाले शव निकाल्न धेरै गाह्रो भयो,’ उद्धारमा खटिएका स्थानीय दिनेश शर्माले भने, ‘शव क्षतविक्षत थिए ।’ साँघुरो सडकमा धेरै घुम्ती भएकाले चालकले नियन्त्रणमा लिन नसकेको स्थानीयको भनाइ छ । घटनास्थल सदरमुकामदेखि ८० किमि पश्चिममा पर्छ ।


प्रकाशित : मंसिर १७, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?