कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सर्तकताको घण्टी बज्यो : नेपाल

उपनिर्वाचनले नेकपा दबाबमा 
बबिता शर्मा

काठमाडौँ — ५२ पदका लागि भएको उप–चुनावमा बहुमत सीट आफ्नो खातामा गए पनि एउटा प्रदेशसभा र एक उपमहानगरपालिका गुमाएपछि नेकपामाथि दबाब बढेको छ । 

सर्तकताको घण्टी बज्यो : नेपाल

पार्टी एकता भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको दावी गरिरहँदा दुई महत्वपूर्ण ठाँउमा भएको हारले नेकपामाथि दबाब सिर्जना भएको हो । पार्टीका शीर्ष नेताले नै अपेक्षाकृत नतिजा नआएको भनेर पार्टी र सरकारको कामको समीक्षा गर्नुपर्ने माग गर्नाले पनि बढ्दो दबाबको संकेत गर्छ ।


यसबाहेक नेकपाको खाताबाट एउटा प्रदेशसभा र एक उपमहानगरपालिका खोस्न सफल भएको प्रमुख प्रतिपक्षी दल कााग्रेसले उपचुनावपछि पार्टीको आत्मबल बढेको भनेर नेकपामाथि दबाब बनाउने रणनीति शुरु गरिसकेको छ । यस्तोमा चुनावी समीक्षा नेकपाका लागि अव अनिवार्य बन्न गएको छ, जुन विषय शीर्ष नेताहरुले समेत उठाउन थालिसकेका छन् ।


नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले उपनिर्वाचनमा अपेक्षा अनुरुको परिणाम नआएको भन्दै पार्टी बैठकमा समीक्षा हुने बताए ।

‘नतिजाले के–के फ्याक्टरले गर्दा हामीले चुनावमा अपेक्षित सफलता हासिल गर्न सकेनौं, अपेक्षा गरिएको ठाउँमा जित्न सकेनौं,’ नेता नेपालले भने, ‘बलियो पकड भएको ठाउँमा गुमायौं । पार्टीको बैठकमा यसबारे राम्रो समीक्षा हुन्छ ।’


नेता नेपालले उपनिर्वाचनको नतिजाले सतर्कको घण्टी बजेको बताए । ‘राम्रो संकेत छैन । तर नराम्रो भइहाल्यो भन्ने निश्कर्षमा पुग्न हुँदैन,’ नेता नेपालले कान्तिपुरसँग भने, ‘एउटा घण्टी बज्यो, सतर्क हुने घण्टी बजेको हुँदा समीक्षा गर्नुपर्छ ।’


नेकपा नेता झलनाथ खनालले चुनावले नेकपालाई समीक्षा गर्नुपर्ने ठाँउमा पुर्‍याएको प्रतिक्रिया दिएका छन् । चुनावी नतिजालगत्तै उनले संचारमाध्यमहरुलाई दिएको प्रतिक्रियामा धरान र भक्तपुरको हार पार्टी बैठकमा समीक्षा हुने बताएका छन् ।


सरकारमाथि प्रश्न उठाउन मिल्दैन : सल्लाहकार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापा भने चुनावी नतिजालाई लिएर सरकारको काममाथि प्रश्न उठाउने ठाँउ नरहेको बताउँछन् । सरकार र पार्टीको अनुचित आलोचना जनताले अस्वीकार गरेको थापाको दावी छ ।


थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१ (५९ दशमलव ८५) स्थानमा विजय हासिल गरेको छ । ‘एकताअघि दुई पार्टीले २८ स्थान (५३.८५) जितेको थियो । अहिले ३ सीट (५ दशमलव ८५) बढी हासिल भयो ।’


नेकपाकै विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने नेकपाका लागि उपनिर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । ‘पार्टी एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेद्वार चयन जस्ता कारणहरू आˆनो ठाउँमा छन्, यस परिणामले हामीलाई थप सजग पक्कै बनाएको छ । समय छ, परिणाममुखी काम गरेर मात्रै यसको क्षतिपूर्ति हुन्छ, तर्कले होइन,’ रिजालले सामाजिक संजालमा लेखेका छन् ।


५२ स्थानमध्ये नेकपा नेतृत्वको वाम गठबन्धनले ३१ स्थानमा जित निकालेको छ । कांग्रेसले १३, समाजवादी पार्टीले ४, राष्ट्रिय जनता पार्टीले ३ र स्वतन्त्रले १ स्थानमा जितेका छन् । तर, २०७४ मा जितेको भक्तपुर १ ‘ख’ को प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिका प्रमुख भने नेकपाले गुमाएको छ । यद्यपि यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष नेकपाको हातमा आएको छ ।


नेकपालाई दबाबमा राख्ने कांग्रेसको रणनीति

चुनावी नतिजा लगत्तै विपक्षी कााग्रेसले पनि नेकपालाई दवावमा राख्ने रणनीति लिने संकेत दिइसकेको छ ।


‘अनेक प्रतिकूलताकाबीच मतदाताले मत प्रदान गरेर नेपाली कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिनुको अर्थ हो बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदन’ भनेर कांग्रेसले सरकार र नेकपामाथि प्रश्न उठाएको छ ।


चुनावी नतिजाले पार्टीका हौसला बढेको कााग्रेसको बुझाई छ । ‘२०७४ को तुलनामा नेपाली कांग्रेस र नेकपाका बीचको मतान्तर २०७६ मंसिर १४ मा आइपुग्दा घटेको छ । यसले एकातर्फ नेपाली कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तविश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।’


कांग्रेसको विज्ञप्तीमा अव थप आक्रामक विपक्षी हुने संकेत छ । यसले कांग्रेस अव अर्को चुनावसम्म नेकपामाथि दवाव बनाईराख्न चाहन्छ भन्ने सन्देश दिएको छ ।


र, दवावसहित कांग्रेसले नेकपलाई सचेत बनाएको छ, ‘व्यापक प्रभाव राख्ने केही सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने की भोलि सक्कीने’ सन्देश दिएको छ । ‘सक्कीने’ शब्दलाई भोलिको परिणाम झनै प्रतिकूल आउने तर्फ गरिएको संकेत भनेर प्रष्ट्याई रहनु नपार्ला ।’

प्रकाशित : मंसिर १७, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?