चीनतर्फ लर्को, १० महिनामा ३० हजार नेपाली गए

बिनु सुवेदी

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंसिर अन्तिम साता चीन भ्रमणमा जाने आफ्नो पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् । प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार यही विषयमा छलफल गरेपछि सोमबार दाहालले पूर्वानिर्धारित कार्यतालिका संशोधन गरेका हुन् ।

‘पार्टीका अर्का अध्यक्षलाई अस्पतालको शय्यामा छोडेर आफू विदेश भ्रमणमा जाँदा राम्रो सन्देश नजाने भन्दै दाहालले भ्रमण स्थगित गरेका हुन्,’ उनीनिकट एक नेताले भने, ‘भ्रमण रद्द भएको होइन, करिब दुई महिनाका लागि पर सरेको मात्र हो । प्रधानमन्त्री ओली नियमित काममा फकिर्नेबित्तिकै दाहाल नेतृत्वको टोली चीनतर्फ लाग्नेछ ।’

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेकपाको उच्चस्तरीय टोली तत्काल चीन भ्रमणमा जाने समझदारी भएको थियो । त्यही समझदारीअनुसार दाहाल चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीकै चाहनामा चीन जान लागेका थिए ।

दाहालको भ्रमण केही महिनाका लागि स्थगित भए पनि नेकपासहित दलका नेता र सरकारी अधिकारीहरू चीन जाने र चिनियाँ अधिकारीहरू नेपाल आउने क्रम भने निकै बढेको छ । यो वर्षभरिमा केन्द्रीय समितिका सबै ४ सय ४५ जनालाई नै चीन पठाएर त्यहाँको विकास, विचार र समाजवादबारे अध्ययन–अवलोकन गराउने नेकपा विदेश विभागको तयारी छ ।

पछिल्ला वर्ष चीनसँगका सरकारी र गैरसरकारी तवरका दुईपक्षीय भ्रमण र नेपाली नागरिकसमेतको चीन आवतजावत निकै बढेको छ । चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोङका अनुसार गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म १० महिनामा ३० हजार ९ सय ३६ नेपालीले चीन जाने भिसाका लागि आवेदन दिएका थिए । यस्तो संख्या दुवैतर्फबाट बर्सेनि बढिरहेको छ ।

अहिले पनि तिब्बतका गभर्नरको टोली नेपाल भ्रमणमा छ भने गत साता फुदान युनिभर्सिटी, युनान र हुवेई प्रान्तका अधिकारी नेपाल आएर फर्किएका छन् । नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल असोज ३० गते चीन पुगेर फर्किए । सैन्य खेलकुद प्रतियोगिताका लागि गएका पोखरेलले ६ दिने बसाइका क्रममा विभिन्न राजनीतिक भेटघाट गरे ।
नेकपा स्कुल विभागका उपप्रमुखद्वय वेदुराम भुसाल र देवेन्द्र पौडेलसहितको टोली असोज २८ गते चीन पुगेर फर्कियो । करिब एक साता चीन बसेको उक्त टोलीले चीनको गरिबी निवारण, सी विचारधारालगायत विषयमा अध्ययन गर्‍यो । यही समयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि टोलीसहित चीनमै अध्ययन भ्रमणमा थिए । केन्द्रीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिको छुट्टाछुट्टै टोलीले चीनको लगातार भ्रमण गरिरहेको छ । कतिपय जाने पालो कुरेर बसेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच असोज ७ गते भएको समझदारीमा सम्बन्ध विस्तारका लागि आपसी भ्रमण बढाउने सहमति भएको थियो । समझदारीमा भ्रमण आदानप्रदान गराउने, वैचारिक र राजनीतिक छलफल बढाउने, दुवै कम्युनिस्ट पार्टीका सिद्धान्तबारे जानकारी गराउनेलगायत विषय थियो ।

उक्त सहमतिपछि झन् चीन जाने नेकपा कार्यकर्ता र चीनबाट नेपाल आउने चिनियाँ कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको संख्या बढ्दै छ । नेकपाले आफ्ना कति नेता–कार्यकर्ता चीन पुगे भन्ने यकिन तथ्यांक भने राखेको छैन । ‘सामान्यतः विदेश विभागबाटै जानुपर्ने हो तर सबै काम विभागबाट भइसकेको छैन,’ विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘कति नेता त चीन गइसकेपछि मात्रै थाहा पाइन्छ, त्यसैले नेकपासँग अहिले ठ्याक्कै कति नेता चीन भ्रमणमा गए भन्ने तथ्यांक छैन ।’ उनले कतिपय नेताहरू व्यक्तिगत सम्बन्धको आधारमा जाने गरेको बताए । चिनियाँ कम्युनिस्ट पार्टीसँग समझदारी भएपछि दुवै पार्टीका नेता–कार्यकर्ताको आउजाउ बाक्लो भएको रिजालको भनाइ छ ।

यो वर्ष प्रदेश ७ र २ बाहेक अरू प्रदेशका मुख्यमन्त्रीको टोली चीन पुगिसकेको छ । साउनयताको चार महिनामा मात्रै स्थानीय तहका २१ जनप्रतिनिधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएर चीन गएका छन् । कतिपय जनप्रतिनिधि मन्त्रालयमा जानकारी नगराई पनि जाने भएकाले उनीहरूको संख्या योभन्दा धेरै रहेको मन्त्रालयका प्रवक्ता भूपाल बरालको भनाइ छ ।

के हुन्छ चीनमा ?
चिनियाँ अधिकारीले नेपालबाट राजनीतिक भ्रमणमा जानेहरूलाई मुख्यतः आफ्नो विकासको मोडल देखाउँछन् । राष्ट्रपति सीले अघि सारेको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ को सैद्धान्तिक व्याख्या सुनाउँछन् र चीनले पछिल्लो समय गरेको प्रविधिको विकासको बखान गर्छन् । ‘उनीहरूले आफ्नो विकासको मोडेल नै देखाउने हुन्,’ हालसालै चीनबाट फर्किएका नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भने, ‘त्यहाँको सहरी क्षेत्रको विकासबारे हामीले धेरै कुरा जानेर फर्कियौं ।’ उनले त्यहाँ आफूहरूलाई दिनको छ घण्टा क्लासमै राखेर पढाएको जानकारी दिए ।

नगरपालिकाहरूको विकासको मोडेलबारे अनुभव आदानप्रदान गर्न चीनका विभिन्न नगरपालिका र नेपालका नगरपालिकाबीच भगिनी सम्बन्धमा पनि हस्ताक्षर भएको छ । चिनियाँले व्यक्तिको पृष्ठभूमिको आधारमा पनि आफ्ना अनुभव साटासाट गर्दै आएको नेकपा स्कुल विभाग उपप्रमुख बेदुराम भुसालको भनाइ छ । आफ्नो भ्रमणका क्रममा त्यहाँको विकास, गरिबी निवारणका लागि खेलेको भूमिका र गरेको प्रगतिका विषयमा चीनका प्रतिनिधिले जानकारी गराएको उनले बताए । ‘यसबाहेक हामीले चिनियाँ विशेषताको समाजवाद र सी विचारधाराको भूमिकाबारे पनि छलफल गर्‍यौं र जानकारी लियौं,’ भुसालले भने, ‘चीनले नेपाली मात्रै होइन, अरू विदेशीलाई पनि उत्तिकै निम्त्याउँदो रहेछ ।’

चीनले किन यति धेरै भ्रमण गराउँदै आएको छ त ? चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले भने, ‘आफूले तीव्र गतिमा गरेको विकास बाहिरी दुनियाँलाई देखाउने चाहना नै मुख्य हो ।’ उनले छिमेकी मुलुकले गरिरहेको विकास बुझ्न जाने प्रक्रिया बढ्नुलाई अन्यथा सोच्न नहुने बताए । ‘चीन नयाँ शक्तिका रूपमा उदाएपछि सुनेको कहानी आफैं हेरौं न त भन्ने हाम्रै पनि सोच हुन्छ नि,’ उनले भने ।

कार्कीले अरू देशसँगको आफ्नो सम्बन्ध जनस्तरसम्मै होस् भन्ने चीनको नयाँ नीतिका कारण पनि उसले जतिसक्दो धेरै नेपालीलाई चीन लगेको हुनसक्ने बताए । राजनीतिक दल, व्यक्तिगत तथा संस्थागत सम्बन्धबाहेक पनि बर्सेनि सरकारी कोटामा चीन जानेको संख्या छुट्टै छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार चीनले दुईपक्षीय सहयोग कार्यक्रमअन्तर्गत वार्षिक ८ सयको हाराहारीमा छोटो अध्ययनका लागि विभिन्न क्षेत्रका व्यक्तिहरूलाई चीन लैजाने गरेको छ । नेपाल भ्रमणमा आउने चिनियाँ नागरिकको संख्या पनि अघिल्ला दुई वर्षको तुलनामा बढेर १ लाख ४२ हजार कटेको अध्यागमन विभागको रेकर्डमा छ ।

प्रकाशित : मंसिर १७, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

१३औं दक्षिण एसियाली खेलकुद  :  दुई/दुई स्वर्णको कथा

विनोद पाण्डे, कुशल तिमल्सिना

काठमाडौँ — १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक खेल सुरु भएको पहिलो दिनमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एकै दिन २–२ स्वर्णको कीर्तिमान बनाएका छन् । उनीहरूको कीर्तिमानसँगै सोमबार नेपालले १५ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । 

करातेका मन्डेकाजीले व्यक्तिगत काता र टिम काता तथा आयशाले तेक्वान्दोमा २९ वर्षमाथि एकल पुम्से र २९ वर्षमाथि युगल पुम्सेमा स्वर्ण पदक जितेका हुन् । काता र पुम्से दुवै मार्सल आर्ट कला प्रदर्शनी खेल हुन् ।

धावक राजेन्द्र भण्डारीले सन् २००६ को १०औं सागमा ५ हजार मिटर र स्टेपल चेजमा स्वर्ण जितेका थिए । तर डोपिङ परीक्षणमा असफल भएपछि उनका दुवै स्वर्ण खोसिएका थिए । त्यसअघि र पछि पनि कुनै नेपाली खेलाडीले एकै सागमा दुई स्वर्ण जित्न सकेका थिएनन् ।

सातदोबाटोस्थित ५० मिटरको फरकमा रहेको तेक्वान्दो र कराते हलमा मन्डेकाजी र आयशाले इतिहास रचेका हुन् । मन्डेकाजीसँग टिम कातामा महसुस तामाङ र प्रवीण मानन्धर तथा आयशासँग २९ वर्षमाथि युगल पुम्सेमा सञ्जीवकुमार ओझा थिए । मन्डेकाजीले २०१० मा अन्तिम समयमा आएर खेल्न पाएका थिएनन् । शारीरिक बनोट नमिलेपछि आयशा संन्यासको संघारमा थिइन् । सागमा मन्डेकाजीको यो पहिलो सफलता हो । पुम्सेका दुई स्वर्णले आयशालाई सागमा सबैभन्दा सफल नेपाली महिला खेलाडी बनाएको छ ।

सागमा आयशाका ३ स्वर्ण पुगेका छन् । २००६ को श्रीलंका साग र २०१६ को भारत सागमा उनले फाइनलमा पराजित भएपछि रजतमै चित्त बुझाउनुपरेको थियो । २०१० को ढाका सागमा नेपाली तेक्वान्दोले २ स्वर्ण जितेको थियो ।
एउटा स्वर्ण आयशाको थियो, अर्को स्वर्ण दीपक विष्टले जितेका थिए । त्यसको अर्को वर्ष यी दुई दाम्पत्य जीवनमा बाँधिएका थिए । दीपक पुरुषतर्फ नेपालका कीर्तिमानधारी खेलाडी हुन् । उनले १९९९ देखि २०१० सम्म गरी सागमा लगातार ४ स्वर्ण जितेका थिए । अहिले यी दुईका ६ र २ वर्षका दुई छोरा छन् ।

‘सबैले मलाई विश्वास गर्नुभयो, त्यसैले मैले जितें । यो जितको श्रेय ज–जसले मलाई विश्वास गर्नुभयो, उहाँहरूलाई नै जान्छ । २ स्वर्ण मेरा २ छोरालाई समर्पित गर्न चाहन्छु,’ आयशाले भनिन्, ‘म पहिलेदेखि नै उदाहरणीय बन्न चाहन्थें । त्यो अहिले पूरा भए जस्तो लाग्छ ।’ इच्छाशक्ति, लगनशीलता र मिहिनेती भए सफलतालाई उमेर र शारीरिक अवस्थाले नछेक्ने उनको भनाइ छ ।

११औं सागमा मन्डेकाजी नेपालबाट छानिएका थिए । ३–४ महिना नेपालमा क्याम्प बसेर वैदेशिक प्रशिक्षणका लागि एक महिना थाइल्यान्डमा रहँदा उनको तौल समूह काटिएपछि साग खेल्न पाएनन् । ‘त्यो क्षण म सम्झन पनि चाहन्नँ । रुँदैरुँदै फर्केको थिएँ । अर्को साफ खेल्नुपर्छ र नेपाललाई पदक दिलाउनुपर्छ भनेर लागिपरें । कारणवश १२औं साफमा कराते थिएन । त्यो अर्को दुःखद क्षण थियो,’ मन्डेकाजीले भने, ‘म इख लिएर खेलिरहें । तिमीले दायाँबायाँ कतै नहेरी खेलतर्फ मात्र ध्यान देऊ भनेर बुबाले प्रोत्साहन दिनुहुन्थ्यो । त्यसले पनि मलाई जित हासिल गर्न सघायो ।’

मन्डेकाजीले २० वर्षपछि नेपाली पुरुष टोलीलाई कातामा सफलता दिलाएका हुन् । सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा गंगाराम महर्जनले एकल कातामा र प्रविन राना, गोपीलाल बम्जन, कृष्ण राई र विजय लामाले टिम कातामा स्वर्ण जितेका थिए । उनै गंगाराम अहिले नेपाली काता टोलीका प्रशिक्षक छन्, जसले नेपाललाई सोमबार कातामा ४ मध्येका ३ स्वर्ण दिलाए । त्यसमा दुई मन्डेकाजीको नाममा परे ।

भारत यस पटक करातेमा सहभागी छैन । भारतीय कराते निलम्बनमा रहेकाले १३औं सागमा उसले सहभागिता जनाउन पाएन । त्यसको फाइदा नेपाललाई भएको मान्न मन्डेकाजी तयार छैनन् । ‘तीन साताअघि बंगलादेशमा भएको दक्षिण एसियाली कराँते च्याम्पिनसिपले हौसला दियो,’ उनले भने, ‘त्यसमा पनि नेपालले टिम कातामा स्वर्ण जितेको थियो । नेपालले त्यसमा भारतलाई नै फाइनलमा पराजित गरेको थियो ।’

प्रकाशित : मंसिर १७, २०७६ ०७:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×