कांग्रेसले नेकपालाई भन्यो ‘आजै सच्चिने कि भोलि सक्किने’

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले १४ मंसिरमा भएको उपनिर्वाचनमा आएको परिणामले सत्तारुढ नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ सन्देश दिएको बताएको छ । 

कांग्रेसले नेकपालाई भन्यो ‘आजै सच्चिने कि भोलि सक्किने’

कांग्रेसले चुनावको समिक्षार्थ पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो निर्वाचनमा नजितेका केही गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जित्यौं भन्नु आत्मसन्तोषको सुविधा मात्रै भएको बताए । ‘एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षको अंक हासिल भएको तथ्य अघिल्तिर राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ,’ प्रवक्ता शर्माले भने, ‘तर त्यसभन्दा व्यापक प्रभाव राख्ने केही सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ सन्देश दिएको छ । ‘सक्किने’ शब्दलाई भोलिको परिणाम झनै प्रतिकूल आउने तर्फ गरिएको संकेत भनेर प्रस्ट्याइरहनु नपार्ला ।’


कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि बढेको पुष्टि गत वर्ष भएको निर्वाचनमाभन्दा अहिले मतको अग्रता घट्नुले देखाएको बताएको छ । तत्कालिन दुई पार्टीले तालमेलमा चुनाव लड्दाभन्दा अहिले एउटै पार्टी भएर चुनाव लड्दा मत घट्नु नेकपाप्रतिको अपेक्षामा ह्रास आएको प्रमाण भएको कांग्रेसले बताएको छ । ‘मतदाताको मन बदलिँदै गएको प्रष्ट चित्र हो’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाग्लुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाईले प्राप्त विजय । कास्की र दाङमा वस्तुगत राजनैतिक प्रभाव भन्दा सहानुभूतिमा मत संयोजन गर्नु परेको अवस्था । परिणाम हासिल नगरे पनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र । सरकार सच्याउनकै लागि पढ्न जरुरी पाठ हुन नेकपाका लागि ।’


प्रवक्ता शर्माले जस्तो वातावरण र परिस्थितिमा निर्वाचन भएपनि लोकतान्त्रिक अभ्यासबाट प्राप्त परिणामलाई कांग्रेसले शिरोधार्य गर्ने बताए । शर्माले विगतमा कांग्रेस नेतृत्वको सरकारले आफ्नो पार्टीको पराजयको पूर्वानुमानका बावजुद स्वस्थ, निष्पक्ष निर्वाचन गराएपनि अहिले सरकार त्यो कर्तव्य निर्वाहमा भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखिएको बताए । अनेक प्रतिकूलताबीच मतदाताले मत प्रदान गरेर कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिनु बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदन भएको शर्माले बताए ।


निर्वाचनबाट आफूहरुले आन्तरिक सांगठनिक समीक्षा गहिरोसँग गरेर आगामी दिनको तयारी गर्नुपर्ने टड्कारो आवश्यकताको सन्देश प्राप्त गरेको समेत शर्माले बताए । ‘समग्रमा मत बढे पनि कतिपय भू–भागमा मत घट्नुको आन्तरिक सांगठनिक समीक्षा गहिरोसँग गरेर आगामी दिनको तयारी गर्नुपर्ने टड्कारो आवश्यकताको सन्देश पनि हामीले प्राप्त गरेका छौं’ शर्माले भने । निर्वाचनको परिणामले कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराउँदै आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको बताए ।

प्रकाशित : मंसिर १६, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?