अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश- ‘म स्वस्थ हुँदैछु’ [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै आफू स्वस्थ रहेको जानकारा दिएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले सोमबार भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य सुधार हुँदै गएको जानकारी दिएका हुन् । 

ZenTravel

प्रधानमन्त्री ओलीको गत साता एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो। उनको सघन कक्षमा उपचार भइरहेको छ। ओलीले भिडियो सन्देशमा एउटा मेजर अप्रेशन पछि आफू बोल्न र हिँड्डुल गर्न सक्ने भएको बताएका छन्।

Meroghar

‘मेरो स्वास्थ्य राम्ररी सुधार भइरहेको छ। एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्। उनले १३ औं ‘साग’ को उद्घाटन समारोह पनि हेरेको बताए।
यस्तो छ प्रधानमन्त्री ओलीको भिडियो सन्देशको पूर्ण अंश:
‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन। यो अचानक आइलाग्छ। मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ। र, त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो। तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ। एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसाग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु।
हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरो। हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ। म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु। मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु।’

प्रकाशित : मंसिर १६, २०७६ १७:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्राधिकरणले स्वीकृत गर्‍यो रसुवाको एक र मकवानपुरका दुई स्थानमा एकिकृत बस्ती निर्माण गर्ने योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवाको एउटा र मकवानपुरका दुईवटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको कार्यकारी समिति बैठकले रसुवाको आमा छोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीलाई सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी ५१ घरधुरी एकीकृत वस्ती विकास गर्ने प्रारम्भिक योजना स्वीकृत गरेको हो ।

त्यो प्रारम्भिक योजनामा थप ५ जग्गाधनी मिलाउने प्राधिकरणको योजना छ ।

त्यसैगरी, मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत वस्तीहरुका प्रारम्भिक योजना पनि प्रधिकरण कार्यकारी बैठकले स्वीकृत गरेको छ । राक्सिराङ–५ को चुरिडाँडाटोलका १० भूकम्प पीडित घरधुरीले मनहरी गाउँपालिका–६ को जोगीतालमा एकीकृत वस्ती विकास गर्ने योजना बैठकबाट स्वीकृत भएको हो । त्यस्तै, कैशाल–१० को न्याम्सेढुंगा टोलका १० भूकम्प पीडित घरधुरीलाई सोही वडाको वमलटारमा एकीकृत वस्ती विकास गरिनेछ ।

प्राधिकरणले एकीकृत वस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रति घरधुरीका दरले रकम उपलब्ध गराउने प्राधिकरणको सूचना शाखाले जनाएको छ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत वस्तीका लागि प्रति घर ५ लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रति घर ४ लाख र तराईका जिल्लामा बन्ने वस्तीका लागि प्रति घर ३ लाखका दरले एकमुष्ठ रकम उपलब्ध गराउँछ ।

कार्यालयमा आएका गुनासा सम्बोधन
प्राधिकरणले कार्यालयमा आएका गुनासालाई सम्बोधन गर्दै चार हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गर्दै छुट तथा पुनः जाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषण गरी ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो ।

कार्यकारी समितिले ४ सय १० जनालाई संभावित लाभग्राही र २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको प्राधिकरणको सूचना शाखाले जानकारी दिएको छ । बैठकले ३५ हजार ७९ जनगुनासोकर्तालाई गैर लाभग्राही कायम गरेको छ ।

शाखाले छुट तथा पुनःजाँच सर्भेक्षण अन्तर्गत दर्ता भएका बाँकी गुनासोहरुको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका चार दर्जन इञ्जिनियरले विश्लेषण गरिरहेको बताइएको छ ।

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : मंसिर १६, २०७६ १६:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×