कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्राधिकरणले स्वीकृत गर्‍यो रसुवाको एक र मकवानपुरका दुई स्थानमा एकिकृत बस्ती निर्माण गर्ने योजना

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवाको एउटा र मकवानपुरका दुईवटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको कार्यकारी समिति बैठकले रसुवाको आमा छोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीलाई सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी ५१ घरधुरी एकीकृत वस्ती विकास गर्ने प्रारम्भिक योजना स्वीकृत गरेको हो ।

प्राधिकरणले स्वीकृत गर्‍यो रसुवाको एक र मकवानपुरका दुई स्थानमा एकिकृत बस्ती निर्माण गर्ने योजना

त्यो प्रारम्भिक योजनामा थप ५ जग्गाधनी मिलाउने प्राधिकरणको योजना छ ।


त्यसैगरी, मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत वस्तीहरुका प्रारम्भिक योजना पनि प्रधिकरण कार्यकारी बैठकले स्वीकृत गरेको छ । राक्सिराङ–५ को चुरिडाँडाटोलका १० भूकम्प पीडित घरधुरीले मनहरी गाउँपालिका–६ को जोगीतालमा एकीकृत वस्ती विकास गर्ने योजना बैठकबाट स्वीकृत भएको हो । त्यस्तै, कैशाल–१० को न्याम्सेढुंगा टोलका १० भूकम्प पीडित घरधुरीलाई सोही वडाको वमलटारमा एकीकृत वस्ती विकास गरिनेछ ।


प्राधिकरणले एकीकृत वस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रति घरधुरीका दरले रकम उपलब्ध गराउने प्राधिकरणको सूचना शाखाले जनाएको छ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत वस्तीका लागि प्रति घर ५ लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रति घर ४ लाख र तराईका जिल्लामा बन्ने वस्तीका लागि प्रति घर ३ लाखका दरले एकमुष्ठ रकम उपलब्ध गराउँछ ।


कार्यालयमा आएका गुनासा सम्बोधन

प्राधिकरणले कार्यालयमा आएका गुनासालाई सम्बोधन गर्दै चार हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गर्दै छुट तथा पुनः जाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषण गरी ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो ।


कार्यकारी समितिले ४ सय १० जनालाई संभावित लाभग्राही र २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको प्राधिकरणको सूचना शाखाले जानकारी दिएको छ । बैठकले ३५ हजार ७९ जनगुनासोकर्तालाई गैर लाभग्राही कायम गरेको छ ।


शाखाले छुट तथा पुनःजाँच सर्भेक्षण अन्तर्गत दर्ता भएका बाँकी गुनासोहरुको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका चार दर्जन इञ्जिनियरले विश्लेषण गरिरहेको बताइएको छ ।


लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रकाशित : मंसिर १६, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?