कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समय लम्बिएको लम्बियै

माधव ढुंगाना

(भैरहवा) — तेस्रो पटक थपिएको म्यादमा पनि गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण नसकिने भएको छ । सन् २०१९ को अत्यबाट विमानस्थलबाट परीक्षण उडान गर्ने भनिएको थियो । उपकरण आयातमा भएको ढिलाइका कारण आयोजनाको काम सक्न ढिलाइ भएको हो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समय लम्बिएको लम्बियै

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले अहिलेसम्म विमानस्थलको टर्मिनल भवनका लागि आवश्यक उपकरण आयोजनास्थलमा ल्याइसक्नुपर्ने थियो । उक्त कम्पनीले एकैपटक सबै उपकरण ल्याउन सकेको छैन । केही मात्र आएका छन् । केही आउने क्रममा छन् । ‘ठेकेदार कम्पनीले जति छिटो उपकरण ल्याउँछ, आयोजनाको काम त्यति छिटो अघि बढ्नेछ,’ आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘हामीले ठेकेदार कम्पनीलाई सहजीकरण गर्दै उपकरण चाँडो ल्याउन ताकेता गरिरहेका छौं ।’ ठेकेदार कम्पनीले अन्य निर्माण कार्य भने तीव्रतासाथ गरिरहेको छ ।


टर्मिनल भवनमा जडान गरिने एलिभेटर, ब्यागेज ह्यान्डलिङ सिस्टम र धावनमार्गमा आवश्यक लाइट ल्याउन बाँकी छ । यी उपकरणमध्ये केही चीन र केही भारतबाट ल्याइँदै छ । फ्लाइट इन्फरमेसन एन्ड ब्यागेज डिस्प्ले सिस्टम, पब्लिक एड्रेस सिस्टम, एक्सेस कन्ट्रोल सिस्टम, सीसीटीभी केबल टेलिभिजन, फायर डिटेक्सन एन्ड अलार्म सिस्टम, एयर कन्डिसन, एलिभेटर लिफ्टलगायत उपकरण भने ल्याइसकिएको छ । तिनको जडान पनि धमाधम भइरहेको छ ।


विमानस्थल सिभिल निर्माणतर्फको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो । यसका लागि ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ लागतमा सम्झौता भएको थियो । विमानस्थललाई अत्याधुनिक बनाउन करिब ६० करोड रुपैयाँ बजेट थप स्वीकृत गरिएपछि सम्झौता रकम ६ अर्ब ८२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । ‘विभिन्न अवरोधले ठेकेदार कम्पनी घाटामा गएको निश्चित हो,’ आयोजना प्रमुख अधिकारीले भने, ‘घाटामा गए पनि कामलाई निरन्तरता दिइरहेको छ । आयोजना सम्पन्न गरेरै छाड्ने कम्पनीको प्रतिबद्धता हाम्रा लागि ठूलो कुरा हो ।’

मोबिलाइजेसनसमेत गरेर अहिलेसम्म आयोजनाले ठेकेदारलाई ३ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । उपकरणका लागि थप १ अर्ब ७० करोडभन्दा धेरै रुपैयाँ खर्च लाग्छ । सिमेन्ट, छड, ढुंगा, गिट्टी, बालुवा, माटो, टिपर, मजदुर, कर्मचारी, अलकत्रा, इन्धनलगायत निर्माण सामग्री र साधनको भुक्तानीका लागि खर्च अलग गर्नुपर्ने भएकाले ठेकेदारको आर्थिक परिचालन कमजोर देखिएको छ । उपकरण ल्याएर आयोजनास्थलमा राखेपछि मात्र आयोजनाले ठेकेदार कम्पनीलाई बिलको भुक्तानी दिने जानकारी दिएको छ ।


उपकरण उत्पादन गर्ने कम्पनी तथा सप्लायरले अर्डर गर्नासाथ अग्रिम भुक्तानी लिएर समान पठाउने गर्छ । त्यसैले एउटा उपकरणको बिल भुक्तानी सकिएपछि मात्रै अन्य उपकरण ल्याउने मनस्थितिमा ठेकेदार कम्पनी देखिएको आयोजनाका एक कर्मचारीले बताए । ठेकेदार कम्पनीलाई तत्काल नगद परिचालन (फ्लो) गर्न समस्या भएको आयोजनाका लागि चिनियाँ कर्मचारीका सहयोगी त्रिलोचन भट्टले बताए ।


आयोजनाको कामलाई निरन्तरता दिन गत वर्ष ठेकेदार कम्पनीले आफ्ना तर्फबाट २ अर्ब रुपैयाँ लगानी गरिसकेको जनाएको छ । थप १ अर्ब जति पुनः लगानी गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘जतिसुकै घाटा खाए पनि ठेकेदार कम्पनीले यो आयोजना रोक्ने अवस्था छैन,’ उनले भने, ‘केही समय थप भने लाग्न सक्छ ।’


ठेकेदार कम्पनीलाई आर्थिक समस्या भएकाले एकैपटकमा उपकरण ल्याउन ढिलाइ भएकाले सक्दो सहयोग गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘ठेकेदार कम्पनीले सबै उपकरणको अर्डर गरिसकेको छ,’ उनले भने, ‘अन्य भौतिक पूर्वाधार धमाधम तयार भइरहेको छ । ठेकेदारको पक्षबाट बीचमै काम रोकिने अवस्था अब छैन ।’


विमानस्थलको भौतिक संरचनाबाहेक एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनका लागि उपकरण आयात गरी जडानका लागि थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको छ । करिब ५० करोड रुपैयाँमा कम्पनीसँग ७ मार्च २०१९ मा ठेक्का सम्झौता भएको थियो । यसअन्तर्गत भीओआर/डीएमई (विमान र विमानस्थलबीच समन्वय गर्ने, विमान कति उचाइ, कति दूरीमा छ भन्नेबारे पत्ता लगाएर सम्पर्क गर्ने) उपकरण, कन्ट्रोल टावरमाथि राख्ने सामग्री, एक्सरे, मौसम पूर्वानुमान र वारुणयन्त्रमा आवश्यकलगायत उपकरण जडान हुनेछन् ।


‘यो ठेक्काअन्तर्गत आवश्यक उपकरण अर्डर, उत्पादन र आयात गर्न सामान्यतया एक वर्ष लाग्छ,’ आयोजना हेर्ने एक कर्मचारीले भने, ‘सामुद्रिक मार्ग हुँदै आयोजनास्थलमा आइपुग्ने ती उपकरण एक महिनाअघि पठाइसकिएको छ ।’ जनवरी मध्यसम्म ती सामग्री आइपुग्ने उनको भनाइ छ ।


उपकरण जडानपछि विमानस्थलको धावनमार्गमा साढे तीन सय मिटर भिजिबिलिटी (आँखाले देख्न सकिने दूरी) मा पनि विमान अवतरण गर्न सकिनेछ । हाल विमान अवतरण गर्न न्यूनतम १ हजार ६ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।


आयोजना सम्पन्न गर्न पछिल्लो पटक थपिएको म्याद डिसेम्बर १७ मा पूरा हुँदै छ । डिसेम्बरसम्ममा संरचनाका सबै काम सम्पन्न गरी त्यसपछिको तीन महिनामा विमानस्थल सञ्चालनका लागि तयार पार्ने लक्ष्य थियो ।


निर्धारित म्यादमा संरचनाका निर्माण कार्य सम्पन्न नहुने देखिएको छ । ‘म्यादअनुरूप निर्माण कार्य सम्पन्न गर्न केही समय थप लाग्ने भए पनि मार्चसम्म विमानस्थल सञ्चालनमा ल्याउन सकिने गरी सम्पूर्ण निकाय अगाडि बढेका छौं,’ आयोजना प्रमुख अधिकारीले भने, ‘आयोजनाका तर्फबाट निरन्तर छलफल गरेर मार्चको अन्तिमसम्मको लक्ष्य राखेका छौं ।’ सन् २०१५ जनवरी १५ का दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो आयोजना डिसेम्बर २०१७ सम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । आयोजनाको पहिलो पटक म्याद थप गरेर १५ जुन २०१८, दोस्रोपटक २८ जुन २०१९ र तेस्रो पटक डिसेम्बर २०१९ कायम गरिएको हो ।


विमानस्थलको भौतिक कार्य पूर्ण रूपमा सम्पन्न भइसकेपछि पनि विमानस्थलको परीक्षण र प्रमाणीकरणका लागि कम्तीमा पनि तीन महिना समय लाग्ने महानिर्देशक पोखरेलले बताए । ‘यो आयोजना पहिल्यै ठेक्का तोडिने अवस्थामा पुगिसकेको छ । बल्लबल्ल यहाँसम्म आइपुगेको हो,’ उनले भने, ‘आयोजना अब करिब सम्पन्न हुने अवस्थामा पुगेको छ । चाँडो सम्पन्न गरी सञ्चालनमा ल्याउनेतर्फ हामी आफ्नो तहबाट लागिरहेका छौं ।’

आयोजना सुरु हुनासाथ मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, मुख्य ठेकेदार र सहठेकेदारबीचको अन्तर्द्वन्द्वलगायत कारणले तीन वर्षसम्म आयोजना सुस्ताएको थियो । ०७४ मा चिनियाँ मुख्य ठेकेदार कम्पनीले व्यवस्थापनको जिम्मेवारीमा परिवर्तन गरी अर्कोलाई खटाएपछि आयोजनाले गति लिएको हो ।


डेढ वर्षको अवधिमा आयोजनाको काम द्रुत गतिमा अघि बढे पनि सुरुवाती समयको ढिलाइको असर अहिलेससम्म परेको आयोजना प्रमुख अधिकारी बताउँछन् । ‘आयोजनाको सुरुको तीन वर्षमा कार्य प्रगति विभिन्न समस्याका कारणले २७ प्रतिशतको हाराहारीमा थियो । दुई वर्षको अवधिमा आयोजना अघि बढेको छ,’ उनले भने, ‘निर्धारित समयमा केही दिन तलमाथि भएमा पनि आत्तिनुपर्ने छैन ।’


विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, जहाज बिसौनी क्षेत्रको सिभिल निर्माणतर्फका काम पूरा भएका छन् । टर्मिनल भवनतर्फको मुख्य संरचना पूरा भएको छ । छानाको काम जारी छ । प्रशासनिक भवन र कन्ट्रोल टावरको संरचनाको काम सम्पन्न भई फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ ।


प्रकाशित : मंसिर १६, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?