१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु : अध्यक्ष दाहाल

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको जिम्मेवारी मेलमिलापकै आधारमा टुंग्याउने पक्षमा आफू रहेको बताएका छन् । 

जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु : अध्यक्ष दाहाल

१७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धका क्रममा भएका राम्रा नराम्रा घटनाहरुको जिम्मेवारी आफूले लिने बताएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘युद्ध निर्मम नै हुन्छ । तत्कालिन माओवादी पार्टी र जनयुद्धको नेतृत्वको हैसियतले जनयुद्धकाक्रममा भएका सबै घटनाको जिम्मेवारी लिन्छु ।’

‘शान्ति सम्झौतामा हस्ताक्षर गर्नुअघि द्वन्द्वमा जे भयो त्यो सबै बिर्सौं’ भन्ने प्रस्तावलाई आफूले नै खारेज गरेको अध्यक्ष दाहालले स्मरण गराए ।

‘त्यति बेला सबै बिर्सौं भन्ने प्रस्ताव आएको थियो । तर मैले यसो गर्नु हुँदैन भने,’ दाहालले भने, ‘किनकी फेरि गलत ढंगले मानिसहरुको हत्या, बलात्कार नहोस् । हत्या, बलात्कार र जघन्य अपराधमा संलग्नहरुले उन्मुक्ति पाउने वातावरण नबनोस् भनेर मैले नै त्यसो गर्न हुँदैन भनेको हुँ ।’

आफूमाथि पनि धेरै मुद्दा रहेको र त्यसमा दोषी ठहरिए कारबाही भोग्न तयार रहेको दाहालले बताए । ‘म माथि पनि धेरै मुद्दा छन्, ती झुठा छन्, सही छन्, पछि थाहा हुने कुरा हो । यदि म दोषी नै ठहरिन्छु भने कारबाही भोग्न तयार छु ।’

सशस्त्र द्वन्द्वकालका घटनाहरुको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारबाही र मेलमिलापको वातावरण बनाउन छिट्टै आयोगहरु बन्ने र त्यसमा सत्तापक्ष र प्रतिपक्षबीच समझदारी बनेको पनि दाहालले बताए ।


प्रकाशित : मंसिर १५, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?