कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बारागढी–१ मा चौधरी निर्वाचित

पवन यादव

सिमरा — बाराको बारागढी गाउँपालिकामा रिक्त रहेको वडा नं. १ को वडाध्यक्षको लागी भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार सुरेशप्रसाद चौधरी विजयी भएका छन् ।

बारागढी–१ मा चौधरी निर्वाचित

राति अबेर सम्पन्न मतगणना परिमाण अनुसार, उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार शंकरप्रसाद चौधरीलाई ७७ मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी मनिषकुमार साहले जानकारी दिए ।

निर्वाचनमा उनले ७ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार शंकरप्रसाद चौधरीले ६ सय ७२ र नेपाली कांग्रेसका उम्मेदवार तसविरिया थरुनीले ४ सय ७१ मत प्राप्त गरेका थिए ।

वडाध्यक्षको लागी शनिबार भएको उपनिर्वाचनमा ८२ दशमलव ६७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी साहले जानकारी दिए ।

उक्त वडाका लागी ३ वटा मतदान केन्द्र कायम गरी भएको निर्वाचनमा १९ सय ५६ जनाले मतदान गरेका थिए । जसमध्ये ९ सय २८ जना महिला र एक हजार २८ जना पुरुषले मतदान गरेको उनले जानकारी दिए । उक्त वडामा २ हजार ३ सय ६६ जना मतदाता थिए ।

वडाध्यक्ष नन्दलाल खाँ थारुको ब्रेन हेमरेज भएर गत वर्ष मंसिर १४ गते निधन भए पछि वडाध्यक्षको लागी उप निर्वाचन भएको हो । वडाध्यक्ष खाँ को निधन भएपछि वडासदस्य रामखेलावन चौधरीले कार्यसंचालन गर्दै आएका थिए । वडाध्यक्षको लागी भएको उपनिर्वाचनमा २ जना महिला र ७ जना पुरुष उम्मेदवार गरी ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।


निर्वाचित उम्मेदवार चौधरीलाई पद तथा गोपनियताको शपथ ग्रहण र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम सोमबार गराउने तय गरिएको उनले जानकारी दिए ।


बदर मत प्रतिशत घट्यो

स्थानीय तहको निर्वाचनको तुलनामा उप निर्वाचनमा बदर मत प्रतिशत घटेको छ । उप निर्वाचनमा ० दशमलव ९२ प्रतिशत मत मात्र बदर भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी मनिष कुमार साहले जानकारी दिए । यसपाली १८ वटा मत मात्र बदर भएको उनले जानकारी दिए ।


यस अघिको स्थानीय तहको निर्वाचनमा ४ प्रतिशतको हाराहारीमा मत बदर भएको थियो । यसपाली एउटा मतपत्रमा एउटै व्यक्तीलाई मत दिनु पर्ने भएकोले मतदातालाई मतदान गर्न सजिलो भएको र मतदातालाई व्यापक मतदाता शिक्षा दिईएकोले मत बदर संख्या घटेको उनले दाबी गरे ।


प्रकाशित : मंसिर १५, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?