१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मतदाता थपिए पनि मतदान गर्ने थोरै

प्रदेश ब्युरो

पोखरा — प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा ०७४ को तुलनामा कम मतदान भएको छ । प्रारम्भिक विवरणअनुसार करिब ६३.४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता थपिए पनि मतदान गर्ने थोरै

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता छन् । ४५ हजार ५ सय ६३ जनाले मतदान गरेका छन् । ०७४ मा ७० हजार ६ सय ५१ मतदाता हुँदा ४९ हजार ९ सय १३ (७०.६ प्रतिशत) मत खसेको थियो । यो शनिबारको उपनिर्वाचनको भन्दा करिब ७.२ प्रतिशत बढी थियो । मतदाताहरू रोजगारी तथा अध्ययनका लागि बाहिर जानु, आफ्नो काम छाडेर मतदानमा नआउनु आदिले कम मत खसेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए । छिटपुट बम विस्फोटका घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र तोकिएको थियो । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा अधिकांश केन्द्र सुनसान जस्तै थिए । दिउँसोमात्रै मतदाता आउन थाले । चारवटा मतदानस्थल नजिक बम विस्फोट भए पनि कुनै क्षति र अवरोध नभएको प्रहरीले जनाएको छ ।


पोखरा–३३ भरतपोखरीको बरपाण्डेथुममा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि केहीबेर विवाद भएर मतदान रोकिएको थियो । पछि सर्वदलीय बैठकले हस्ताक्षर नभएका मतपत्र भेटिए पनि सदर गर्ने सहमतिपछि मतदान सुचारु भएको थियो । उक्त केन्द्रबाट नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी थिइन् ।

पोखरा–३३ बाघमारास्थित सरस्वती टीका मावि, पोखरा–९ नयाँबजारको नवप्रभात मावि, पोखरा–१६ को शान्ति मावि र दीप चण्डीका मतदानस्थल नजिकै बम विस्फोटका घटना भए । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सामान्य विस्फोट भए पनि त्यसले चुनावमा बाधा नभएको बताए ।


१० पार्टी र ११ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा छन । उनीहरूमध्ये आठ जनाले मात्रै आफैंलाई मतदानको अवसर पाए । कांग्रेस उम्मेदवार खेमराज पौडेल ३ नम्बर क्षेत्रका स्थायी बासिन्दा भएकाले मतदान गर्न पाएनन् । समाजवादीका धर्मराज गुरुङले पोखरा–१६ र साझा पार्टीका उम्मेदवार रजनी केसीले पोखरा–४ को मतदान केन्द्रबाट मतदान गरे ।

मतगणना जिल्ला समन्वय समिति कास्कीको सभाहलमा हुनेछ । सबै केन्द्रबाट मतपेटिका ल्याइएको छ । सर्वदलीय बैठकको निर्णयपछि मात्रै मतगणना थालिने सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए । रवीन्द्र अधिकारीको गत फागुन १५ मा निधन भएपछि रिक्त क्षेत्रमा निर्वाचन भएको हो ।


बागलुङ संवाददाताका अनुसार गण्डकी प्रदेशसभा सदस्यका लागि बागलुङ–२ (ख) मा ६१ प्रतिशत मत खसेको छ । ३५ हजार १ सय ८४ मतदातामध्ये २१ हजार ४ सयले मताधिकार प्रयोग गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको गत मंसिर २८ मा कलेजो रोगको उपचारका क्रममा मृत्यु भएपछि उक्त क्षेत्र खाली थियो । वाम गठबन्धनका तर्फबाट राजमोका खिमविक्रम शाही र कांग्रेसका जीतबहादुर शेरचन चुनावी मैदानमा छन् । ८ दल र २ स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा छन् । २५ मतदानस्थलमा ४५ केन्द्र राखिएको क्षेत्रमा मतदान शान्तिपूर्ण भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


सबै केन्द्रका मतपेटिका इलाका प्रहरी कार्यालय बुर्तिबाङमा संकलन गरी गणनाका लागि सदरमुकाम ल्याउने तयारी भएको छ । बुर्तिबाङ सदरमुकाम बागलुङ बजारदेखि ९० किलोमिटर र निसीखोला गाउँपालिकाको भल्कोट १४२ किलोमिटर पश्चिममा पर्छन् ।

बागलुङकै बडीगाड गाउँपालिका–२ मा वडाध्यक्ष पदमा पनि निर्वाचन भएको छ । वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिमा उपप्रमुख भएपछि पद रिक्त भएको थियो । वडामा १ हजार ७ सय ४२ मतदातामध्ये १ हजार १ सय १५ मत अर्थात् ६५ प्रतिशत खसेको छ ।


लमजुङको सुन्दरबजार–२ को वडाअध्यक्ष पदका लागि भएको निर्वाचनमा ६६.३० प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचनमा ७०.२४ मत खसेको थियो । २ हजार २ सय ९७ मतदातामध्ये १ हजार ५ सय २३ ले मतदान गरेका छन् । मतपेटिका सुन्दरबजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । पूर्वी नवलपरासीको बौदीकाली–५ मा वडाध्यक्षका लागि भएको चुनावमा ७२.९ प्रतिशत मत खसेको छ । ८ सय ५३ मतदातामध्ये ६ सय १५ ले मतदान गरेका छन् । वडाध्यक्ष दलबहादुर खरु मगरको गत वर्ष निधन भएपछि वडामा चुनाव भएको हो ।


धरानमा मतदान ५९ प्रतिशत


सुनसरी– धरान उपमहानगरपालिकाका प्रमुख र ७ नम्बरको वडाध्यक्षका लागि भएको चुनावमा ५९ प्रतिशत मतदान भएको छ । २८ मतदानस्थलका ९९ मतदान केन्द्रमा यसअघिको स्थानीय तहको चुनावकै हाराहारी मत खसेको हो ।

०७४ को स्थानीय तह निर्वाचनमा ६७.८७ प्रतिशत मत खसेको थियो । मतदाता संख्या त्यसबेला ७९ हजार २ सय ९० थियो । यसपटकको चुनावमा १३ हजार मतदाता थपिएका छन् । धरान–१४ को विजयपुरस्थित पञ्चायत माविको मतदानस्थलमा ६७ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम धरान–८ भोटेपुलस्थित ल्याबरोटरी माविमा ५० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक ५४ हजार ७ सय मत खसेको छ । यसअघिको निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।


मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएपछि मतपेटिकाहरू धरान–१५ को पुष्पलाल मार्गस्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको र गणनाका लागि सर्वदलीय बैठक बसेर निर्णय गर्ने तयारी भएको बताए ।

उत्साहपूर्ण मतदान


हेटौंडा– भरतपुर महानगरपालिकाको एउटा र खैरहनीका दुईवटा वडाहरूमा ७५ प्रतिशत हाराहारी मत खसेको छ । भरतपुर–१६ र खैरहनीको ४ र ५ नम्बर वडामा चुनाव भएको हो । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर–१६ मा मतदान ७४ प्रतिशत हाराहारीमा भएको छ भने खैरहनी–४ मा ८० प्रतिशत र ५ मा ७९ प्रतिशत भएको छ । खैरहनीका दुईवटै वडामा पहिले कांग्रेस र भरतपुर–१६ मा साविक एमालेका प्रतिनिधिले जितेका थिए । उनीहरूको निधन भएकाले उपनिर्वाचन भएको हो ।

भरतपुर–१६ मा ८ हजार ४ सय ८१ र खैरहनी–४ मा २ हजार ६ सय ९२ मतदाता छन् । कुनाघारी र हात्तीलेवटका दुई स्कुलमा तीन मतदान केन्द्र थिए । खैरहनी–५ मा मतदाता संख्या २ हजार १ सय २१ छ । तीनवटा वडामा १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । गणनाको काम छिटै सकेर आइतबार बिहानसम्म सबै वडाको नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।


काभ्रेका संवाददाताअनुसार धुलिखेल नगरपालिका–२ मा ८०.०२ प्रतिशत मत खसेको छ । १ हजार ८ सय ७७ मतदातामध्ये १ हजार ५ सय २ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत पुरुषोतम ढकालले बताए । साविक रविओपी गाविस फुटेर बनेको धुलिखेल–२ मा ९ सय ४९ महिला र ९ सय २८ पुरुष मतदाता छन् ।

तत्कालीन वडाअध्यक्ष राजन कोइरालाको मृत्यु भएपछि रिक्त पदमा निर्वाचन भएको हो । नेकपाका देवप्रसाद कोइराला, कांग्रेसका दर्णबहादुर खत्री, राजपा नेपालका कृष्णबहादुर तामाङ र राप्रपा (संयुक्त) का बासु थापा उम्मेदवार छन् ।


रामेछाप संवाददाताका अनुसार उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १ हजार ७ सय ४९ मतदातामध्ये १ हजार २ सय ७२ जना मतदानमा सहभागी भएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बताइन । मतदान केन्द्रबाट मतपेटिकाहरू च्यादलुस्थित गाउँपालिकाको मुख्यालयमा ल्याई छिटै गणना थालेर नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको छ । उक्त वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष कुविरबहादुर खत्रीले आत्महत्या गरेपछि रिक्त पदमा चुनाव भएको हो ।

सिन्धुपाल्चोक संवाददाताका अनुसार इन्द्रावती–८ मा वडाध्यक्षका लागि मतदान उत्साहजनक रूपमा भएको छ । १ हजार ४ सय ४ मतदातामा ८३.६९ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । १ हजार १ सय ७७ जनाले मतदान गरेका छन् ।


१० पद, मतदान ७५ प्रतिशत


जनकपुर– स्थानीय तहका रिक्त १० सिटका लागि शान्तिपूर्ण रूपमा सम्पन्न चुनावमा ७५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष, सप्तरीको छिनमस्ता गाउँपालिका–७ को वडाध्यक्ष, सिरहाको कल्याणपुर–१२ को वडाध्यक्ष, महोत्तरीको बलवा गाउँपालिकाका २ र ८ का वडाध्यक्ष, मटिहानी नपा–६ को वडाध्यक्ष, सर्लाहीको हरिपूर्वा–१ वडाध्यक्ष, बाराको गढीमाई–२ वडाध्यक्ष, रौतहटको बारागढी–१ वडाध्यक्ष र पर्साको सखुवापर्सैनी–५ को वडाध्यक्षका लागि निर्वाचन भएको हो । सप्तरीको छिन्नमस्ता–७ मा ७९ प्रतिशत मत खसेको छ । १ हजार ४ सय ३ मतदातामध्ये १ हजार १ सय १४ जनाले मतदान गरेको जिल्ला निर्वाचन सप्तरी प्रमुख दिलीप यादवले बताए । सात उम्मेदवार भए पनि राजपा र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवार प्रमिलादेवी यादव र नेकपाका अच्छेलाल यादवबीच नै मुख्य प्रतिस्पर्धा रहने देखिएको छ । वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि रिक्त पदका लागि चुनाव भएको हो ।


रौतहटको गढीमाई–२ नम्बर वडामा शनिबार सम्पन्न उपनिर्वाचनमा ८५.०२ प्रतिशत मत खसेको छ । निर्वाचनमा १० जना उम्मेदवार छन् । राजपातर्फ जितेका वडाध्यक्ष जोगिदास तत्माको ०७५ वैशाख ७ मा निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । १ हजार ८ सय २२ मतदाता रहेको वडामा १ हजार ५ सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्षका लागि उपचुनावमा १ हजार ३ सय ५६ मतदातामध्ये १ हजार ९३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए । वडाध्यक्ष इसाक अन्सारीको क्यान्सरले गत वर्ष मृत्यु भएपछि रिक्त पदका लागि निर्वाचन भएको हो । सीके राउतको जनमत पार्टी र दुई जना स्वतन्त्रसहित सात उम्मेदवार छन् । सिरहाको कल्याणपुर–१२ को वडाअध्यक्षका लागि ७२ प्रतिशत मतदान भएको छ । २ हजार ४ सय ८० मतदातामध्ये १ हजार ४ सय ४७ महिला र १ हजार ३३ पुरुषले मतदान गरेका छन् । पर्साको सखुवापर्सैनी–५ को वडाध्यक्षका २ हजार ६ सय २ मतदातामध्ये २ हजार १ सय २८ मताधिकार प्रयोग गरेका छन् ।

कपिलवस्तुमा ८३, रोल्पामा १६ प्रतिशत मतदान


बुटवल– प्रदेशमा सबैभन्दा बढी कपिलवस्तुमा ८३ प्रतिशत र सबैभन्दा कम रोल्पामा १६ प्रतिशत मत खसेको छ ।

दाङमा ६६.९३ प्रतिशत मत खसेको छ । दाङ–३ (ख) को प्रदेशसभा सदस्य र घोराही–१६ को वडाध्यक्षका लागि निर्वाचन भएको हो । दाङ–३ (ख) मा ६८ हजार ७ सय १९ मतदातामध्ये ४५ हजार ७ सय १८ ले मतदान गरे । पार्टी र स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उक्त क्षेत्रमा चुनाव भएको हो ।


घोराही–१६ मा ७२.४४ प्रतिशत मत खसेको छ । ४ हजार ४ सय ५३ मतदातामध्ये ३ हजार २ सय २६ ले मताधिकार उपयोग गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार दाङ–३ (ख) को मतगणना आइतबार बिहानदेखि मात्रै हुनेछ । निर्वाचनस्थल विकट ठाउँमा भएकाले राति अबेरसम्म मतपेटिका ल्याउन समय लाग्ने भएकाले गणनाको समय तोकिएको हो ।

गुल्मीको रुरु क्षेत्र–६ रिमुवामा वडाध्यक्षका लागि १ हजार ५ सय ४४ मत खसेको छ । २ हजार ४८ मतदातामध्ये ७५.३९ प्रतिशतले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए ।


अर्घाखाँचीको मालारानी–३ को वडाध्यक्षको निर्वाचनमा ३ हजार ११ मतदातामध्ये २ हजार २ सय ५० मत खसेको छ । कपिलवस्तुको शिवराज–१० को वडाध्यक्षको चुनावमा ८३.१० प्रतिशत मत खसेको छ । २ हजार ७२ मतदातामध्ये १ हजार ७ सय २२ ले मतदान गरेका हुन् । १२ जनाले उम्मेदवारी दिएका थिए ।


प्यूठान–२ को वडाध्यक्षका लागि भएको निर्वाचनमा ३ हजार २१ मतदातामध्ये ६६.०३ प्रतिशतले मतदान गरेका छन् । ऐरावती–१ र २ वडाध्यक्षका लागि भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । मतगणना आइतबार बिहानदेखि सुरु गर्ने निर्णय भएको छ ।

प्रकाशित : मंसिर १४, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?