कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

केरूङमा खुल्यो पैदल नाका

लक्ष्मी लम्साल

बेइजिङ — तिब्बतले नेपाल-चीन सिमा क्षेत्रको केरूङ नाकामा पैदल यात्रुका लागि आधा दर्जन नाकाहरू खुला गरेको छ । केरूङलाई चिनियाँ भाषामा ‘चिलोङ’ भनिन्छ । चिलोङ नाका व्यवस्थापन कमिटी चिलोङ काउन्टी, सिगात्सेबाट प्राप्त समाचार अनुसार त्यहाँबाट सवारी साधन मात्रै नभएर इतिहासमै यति ठूलो संख्यामा पैदल यात्रुहरू आवतजावत गर्नका लागि गत मंगलबारदेखि औपचारिक रूपमा यो रूट खुला गरिएको हो ।

केरूङमा खुल्यो पैदल नाका

नेपाल लगायत दक्षिण एसिया प्रवेशका लागि २०७२ को भूकम्पपछि यो नाका पुनः खुलेको थियो। तिब्बतको सिगात्से सहरको एउटा काउन्टी अन्तर्गत पर्ने केरूङ नाकालाई चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा विकसित गरेको हो। चीनले बेल्ट एण्ड रोड (बीआरआई) को दक्षिण एसियाआदान प्रदान तथा तेश्रो मुलुकतर्फ व्यापारका लागि यस नाकालाई सन् २०१७ अगष्ट ३० देखि अन्तर्राष्ट्रिय नाकाको रूपमा विकसित गरेको हो।

चिलोङ नाका व्यवस्थापन कमिटीका उपप्रमुख चङ सिङपाङका अनुसार खोलिएका ६ वटा नाकाबाट तिब्बतका ६ वटा टाउनसीप, २ दर्जनभन्दा बढी गाउँहरू छुन्छ। चिलोङका स्थानीय टाउनसीपमा हाल यातायात सुविधा दर शतप्रतिशत पुगेको उपप्रमुख चङले बताए। यसबाट नाका वरिपरिका स्थानीय दुर्गम गाउँका ११ हजार २ सय किसान तथा पशुपालकको जीवनमा समृद्धि आउने तिब्बतले अपेक्षा गरेको छ।

ल्हासास्थित चाइना न्यूज नेटवर्कका अनुसार केरूङ अध्यागमन भएर यस वर्षको नोभेम्बरसम्ममा नेपाल वा तेश्रो मुलुकतर्फ ओहोरदोहर गर्ने यात्रुको संख्या डेढ लाख भन्दा बढी पुगेको छ।

केरूङ काउन्टीदेखि ७८ किलोमिटर पर रहेको केरूङ नाका ल्हासाबाट ८३० किलोमिटरको दूरीमा पर्दछ। नेपालको काठमाडौंबाट १३१.५ किलोमिटर दूरीमा रहेको यस नाकालाई तिब्बतको तेश्रो मुलुकसँगको सम्पर्क च्यानलको रूपमा विकसित गर्दै जाने चीनले बताएको छ।


प्रकाशित : मंसिर १४, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?