कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पहिलो हिमपातले किसान खुसी

छपाल लामा

हुम्ला — बिहीबार रातिबाट जिल्लाका अधिकांश भागमा हिमपात सुरु भएपछि उत्पादन बढ्ने भन्दै किसान खुसी भएका छन् । यस वर्ष हुम्लामा पहिलो पटक हिमपात भएको हो ।

पहिलो हिमपातले किसान खुसी

हिमपातका कारण चिसो बढेपछि जिल्लाभरिको जनजीवन कष्टकर बनेको छ । हिमपात शुक्रबार दिउँसोसम्म जारी रह्यो । जेठासे बाली लगाउने सिजन सुरु भएकै समयमा हिमपात भएपछि किसान उत्साही बनेका हुन् । हिउँ परेपछि जमीन लामो समयसम्म ओसिलो हुने भएकाले उत्पादन बढ्ने सिमकोट गाउँपालिका–३, ठेहेकी हुनी भण्डारीले बताइन् । ‘उवा र जौ लगाउने समयमै हिउँ पर्दा धेरै सजिलो भएको छ,’ उनले भनिन्, ‘जोत्न पनि सजिलो हुन्छ, हिउँका कारण बीउ छिटो उम्रन्छ ।’


हिउँले डाँडाकाँडा छोपेकोले पशुचौपायालाई चरनका लागि लैजान समस्या भएको सिमकोट गाउँपालिका–४ का स्याराप लामाले बताए । उनका अनुसार चौरी, घोडा, जोवा र खच्चडपालनमा लागेका किसानलाई पशु चराउन समस्या भएको हो । उनले हिउँ परेपछि जाडो अत्यधिक बढेको जानकारी दिए । ‘बाहिर निस्कनै समस्या भयो,’ उनले भने, ‘अधिकांश काम प्रभावित भएका छन् ।’ हिमपातकै कारण नाम्खा गाउपालिकाको माथिल्लो क्षेत्र लिमी, चाला, यारी, मुचु, यालवाङलगायत गाउँमा हिउँ बढी परेको छ । उक्त क्षेत्रमा हिमपातका कारण आउजाउ बन्द भएको उनले जानकारी दिए ।

चार हजार मिटर उचाइको लिमीमा स्थानीयलाई बाहिरै निस्कन समस्या भएको छ । हिमपातका कारण सामुदायिक विद्यालयको पठनपाठन र परीक्षा प्रभावित हुने देखिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयले मंसीर २७ गतेबाट परीक्षा लिने निर्णय गरिसकेका छन् । सुनखानी प्राथमिक विद्यालयका प्रधानाध्यापक कर्णजीत वुढाका कारण हिमपातका कारण शुक्रबार जिल्लाभरिका अधिकांश विद्यालय बन्द रहे । ‘विद्यार्थीको कोर्ष सकिएको थिएन,’ उनले भने, ‘हिमपातले केही दिन पठनपाठन प्रभावित हुने देखियो ।’


हिमपातसँगै जिल्लाको तापक्रम माईनस ४ डिग्रीमा झरेको छ । सदरमुकाम आसपासका डाँडाहरू हिउँले सेताम्मे बनेका छन् । हिमपातका कारण व्यवसाय सञ्चालनमा समस्या भएको पानस सपिङ सेन्टरका प्रोपराइटर सरोज रावतले बताए ।

प्रकाशित : मंसिर १३, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?