काठमाडौँ — राम जानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार विधिपूर्वक तिलकोत्सव सम्पन्न भएको छ । महोत्सव मूल समारहोह समितिले ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा आयोजन गरेको स्वागत समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी पनि सहभागी भइन् ।
राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रदेश २ प्रमुख तिलक परियार, मुख्यमन्त्री लालबाबू राउत, प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र शोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, प्रदेश मन्त्रीहरु रामनरेश राय, नवल किशोर साहसहित संघीय र प्रदेश सरकारका आधा दर्जन मन्त्री तथा राम जन्मभूमि अयोध्याबाट आएका विशिष्ट साधु सन्तहरुको सहभागिता थियो ।
कार्यक्रममा मिथिला नाट्यकला परिषद्ले जानकी लीला नामक गीति नाटक प्रदर्शन गरेको थियो । राष्ट्रपति भण्डारीले अयोध्याबाट जन्तीको रुपमा आएका विशिष्ट साधुहरुलाई सम्मान गरेकी थिइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईले राम जानकी विवाह महोत्सवलाई नेपाल भारत बीच त्रेतायुगदेखि विद्यमान सुमधुर सम्बन्धको उदाहरणको रुपमा व्याख्या गरे । उनले भने, ‘यो धार्मिक तथा सांस्कृति महोत्सव दुई देशबीच विद्यमान सुमधुर सम्बन्धको प्रतीक हो । हामी यस सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौँ ।’