बस दुर्घटना: शोकमा डुब्यो अर्घाखाँची

वीरेन्द्र केसी

अर्घाखाँची — भूमिकास्थान नगरपालिका-९ ठूलोडेबाका २२ वर्षीय शैलेस थापा बुधबार अध्ययनका लागि बुटवल जाँदै थिए । नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा उनको निधन भयो । वाणिज्य क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत उनी केही दिन अघि घर आएका थिए । ‘पढाइमा अब्बल उनी अनुशासित र लगनशील थिए,’ आफन्त राजमी भट्टराइले भने, ‘अकल्पनीय भयो ।’

बस दुर्घटना: शोकमा डुब्यो अर्घाखाँची

सन्धिखर्क नगरपालिका-७ की माया पुरी घुम्तीस्थित दिदीको घरबाट आफ्नो घर नरपानी बजारतर्फ जाँदै थिइन् । घुम्तीबाट नरपानी करिब ६ किमी दुरीमा छ । घुम्तीबाट गाडी चढेको १० मिनेट नबित्दै दुर्घटनामा उनको निधन भयो । उनको साथमा रहेका १४ महिनाका छोरा घाइते छन् । दिदीलाई भेट्न मंगलबार उनी घुम्ती गएकी थिइन् ।

‘नजिक भएकाले आउजाज भइरहन्थ्यो,’ पुरीका आफन्त कमल केसीले भने, ‘दिदी बहिनीबीच राम्रो सम्बन्ध थियो ।’ उनका श्रीमान भारतमा रोजगारी गर्छन् । धनचौरका छविलाल गैरे र उनकी पत्नी विष्णुमाया बाथ रोग लागेपछि उपचार गर्न सन्धिखर्कबाट गाडी चढेर बुटवल हिँडेका थिए । दुर्घटनामा मृत्यु भयो । घटनामा परी १९ जना मृत्यु भएका मध्ये ८ जनाको शव गच्छेघाटमा सामूहिक दाहसंस्कार गरियो ।


थापा, पुरी, गैरे दम्पती सन्धिखर्क नगरपालिका-२ की ५९ वर्षीय सिता सार्की, सन्धिखर्क नगर-७ की मोनिका खडका, सन्धिखर्क नगर-७ का ५६ वर्षीय शिवलाल भट्टराई र ५४ वर्षीय बलाराम भट्टराइको गच्छेघाटमा सामुहिक दाहसंस्कार गरियो । एउटै गाउँ नभएपछि वारीपारीका छिमेकी हुन । धनचौर, सन्धिखर्क, खाँचीकोट गाउँमा शोकमा छ । सबै अध्ययन, आफन्तको विवाहमा र उपचारमा बुटवल जाने थिए ।


बिहीबार सन्धिखर्क अस्पतालमा मृतकका आफन्तले शव बुझे । ठुलो दुर्घटना भएकाले जिल्ला शोकमा डुब्यो । दिनभर बजारका पसल खुलेनन । करिब आठ वर्षदेखि लगातार नरपानी क्षेत्रमा गाडी दुर्घटना किन हुन्छन भन्दै धेरैले जिज्ञासा राखे । सडक साँधुरो भएर सधै दुर्घटना हुन्छ भन्ने सबैलाई थाहा छ तर, सडक बनाउनेतर्फ कसैको ध्यान जाँदैन, सन्धिखर्कका व्यावसायी सन्तोष बस्नेतले भने । दुर्घटना भएपछि दुईचार दिन हल्ला हुन्छ, त्यसपछि कसैले चासो दिँदैन । सांसद, जनप्रतिनिधि र सरोकारवाला त्यहीबाटो हुँ बुटवल काठमाडौ जान्छन । डरलाग्दा घुम्तीलाई फराकिलो बनाउने, के कारणले दुर्घटना भएको हो त्यसको खोजी खासै हुँदैन, उनले भने । जाडोको बेला त्यस क्षेत्रमा तुषारो पर्छ । बाटो सधै चिसो हुन्छ । तुषारोमा गाडी चिप्लिएरै जोगाएर सडक पार गर्न सकस नै पर्ने उनले बताए ।


साँधुरो सडक, अप्ठेरा घुम्तीमा गाडी छिटो कुदने प्रतिप्रर्धाले दुर्घटना हुने गर्छन । गाडीको चाप धेरै सडक जोखिमपूर्ण भएकाले यात्रा त्रासदीपूर्ण नै छ । सन्धिखर्कबाट बुटवलसम्म जाने बसलाई समय निर्धारण गरिएको छ । समितिले तोकेको समयमै गाडी कुँदाएर लैजानुपर्छ । बुधवारको घटना पनि तीव्रगतिमा दौडिएको बस घुम्ती काटन नसक्दा दुर्घटना भएको प्रहरीले जनायो ।


सन्धिखर्क देखि गोरुसिंगे सडकमा विस्तारै गाडी हाँक्ने र तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरे दुर्घटना न्यूनीकरण हुने यातायात व्यावसायी प्रेम पाण्डेले बताए । गन्तव्यमा छिटो पुग्ने भनेर साँघुरो सडकमा तीव्र गतिमा दौडाउँदा धेरै दुर्घटना भएका छन । घुम्तीमा मोड काटन नसकेरै दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी वियजराज पौडेलले बताए । दुर्घटना न्युनिकरण कसरी गर्ने भन्ने बारेमा सुक्रवार विहान संघ, प्रदेस सांसद, जनप्रतिनिधि, व्यावसायी सहित सरोकारवालाबीच बैठक बस्ने बताए ।


चारको अवस्था गम्भीर

भैरहवा(कास)- दुर्घटनाका घाइतेमध्ये ९ जनाको उपचार यहाँस्थित युनिभर्सल शिक्षण अस्पतालमा जारी छ । ती मध्ये, चार जनाको अवस्था गम्भीर रहेको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, उनीहरुलाई उपचारकालागि बुधवार राती यहाँ ल्याइएको थियो । केहीलाई सिधै यहाँ ल्याइएको थियो । केही अन्य अस्पतालबाट रिफर भएर आएका छने ।

घाइतेको उपचारकालागि अस्पतालले तत्काल ६ जना चिकित्सकको टोली गठन गरि परिचालन गरेएको जनसम्पर्क अधिकृत तेज केसीले बताए । केसीका अनुसार, अस्पतालका रेडियोलोजिष्ट बिशेषज्ञ सदन मुखीको संयोजकत्वमा न्यूरो सर्जन, कार्डियोथोराोसिक सर्जन, अर्थोपेडिक, जनरल सर्जन र एनेस्थेससीया बिशेषज्ञको टोलीको परिचालन गरिएको हो ।

यहाँ उपचारत घाइते मध्ये अर्घाखाँचीको पाणीनी गाउँपालिकाका ४२ बर्षिय कृष्ष्ण बिक, ३५ बर्षिय बिष्णु बिक, भूमिकास्थान नगरपालिकाकास्थित डेवाका २५ वर्षीय जीवन बिक, सन्धिखक-५ वाग्लाका ३७ बर्षिय होम बहादुर अधिकारी, सन्धिखर्कर् ११ डिभर्नाका २८ बर्षिय कमल मुखिया, सन्धिखर्क-६ नरपानीका १५ वर्षीय अंकित थापा, सन्धिखर्क-४ वाग्लाकी सरस्वती भट्टराई, कपिलबस्स्तुको बाणगंगा- ७ बनगाइ बस्ने २४ बर्षिया बिमला पोखरेल र उनका ३ वर्षीय छोरा स्पर्श छन । जसमध्ये कृष्ण, जीवन बिक, कमल र स्पर्शको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।


मृतकहरु :


१) शिवलाल भट्टराई ५६ वर्षीय सन्धिखर्क नगरपालिका-७

२) माया पुरी १८ वर्षीय सन्धिखर्क नगरपालिका-७


३) शोभाखर पोखरेल ३ महिनाको बालक वाणंगंगा नगरपालिका-७ कपिलवस्तु

४) बलाराम भट्टराई ५४ वर्षीय सन्धिखर्क नगरपालिका-७


५) सिता बस्नेत २७ वर्षीय शीतगंगा नगरपालिका-२ हाल कपिलवस्तु चप्पर गाउँ

६) छविलाल गौरे ५४ भूमीकास्थान नगरपालिका-१०


७ ) ओमबहादुर थापा ३२ वर्षीय रुपन्देही भैरहवा .(चालक)

८) मोनिका खडका ९ वर्षीय सन्धिखर्क नगरपालिका-७


९) राजकुमार महत २७ वर्षीय धुर्कोट गापा-२ गुल्मी

१०) सिताकुमार सार्की ५९ वर्षीय सन्धिखर्क नगरपालिका-२


११) सिता घिमिरे ५० वर्षीय भूमिकास्थान नगरपालिका-९

१२) विष्णुमाया गैरे ५० वर्षीय भूमिकास्थान नगरपालिका-९


१३) मैद्यनाथ जैसी भण्डारी ५१ वर्षीय भूमिकास्थान नगरपालिका-७

१४) मञ्जु विक १५ वर्षीय शीतगंगा नगरपालिका-१


१५) कृष्णबहादुर सुनार ४२ वर्षीय छत्रदेव गापा-९

१६) लोकबहादुर सार्की ४९ वर्षीय शीतगंगा नगरपालिका-७


१७) हरिबहादुर दर्जी ५५ वर्षीय शीतगंगा नगरपालिका-७

१८) सन्तबहादुर बस्नेत ३८ वर्षीय शीतगंगा नगरपालिका-२ (गाडीधनी)


१९) शैलेस थापा २२ वर्षीय भूमीकास्थान नगरपालिका-९

प्रकाशित : मंसिर १२, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?