कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

उपनिर्वाचनका कारण महोत्तरीको सुरक्षा व्यवस्था कडा 

रवीन्द्र उप्रेती

महोत्तरी — उप निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । चुनावकाकारण सुरक्षा संवेदनशीलता बढेसँगै यस भेगमा सेना, सशस्त्र र प्रहरीको गस्ती बढाइएको छ । 

उपनिर्वाचनका कारण महोत्तरीको सुरक्षा व्यवस्था कडा 

पिपरा गाउँपालिकामा अध्यक्ष पद र मटिहानी तथा बलवा नगरपालिकाका ३ वडाका वडाध्यक्षका लागि शनिबार उपनिर्वाचन हुने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको हो । नेपाल भारत सीमा क्षेत्र र सवारी जाँचमा कडाइ गरिएको छ । गाउँवस्तिमा सुरक्षा गस्ति बढाइएको छ ।


प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चुनाव अवधिभर सेना, सशस्त्र र नेपाल प्रहरीका थप एक हजार ५ सय सुरक्षाकर्मी परिचालित गरिएको बताए । ‘निर्वाचनका बेला सुरक्षा सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने, ‘यो बेला अपराधीलाई भय र मतदातालाई भयमुक्त पार्ने गरी सुरक्षा रणनीति बनाएका छौं ।’

महोत्तरीको सीमा क्षेत्र भारत बिहारको सीतामढी र मधुवनी गरी २ जिल्लासँग जोडिएको छ । ती जिल्लासँग जोडिएको करिव ४० किमि क्षेत्र सुरक्षा दृष्टिले अति संवेदनशील मानिन्छ । विवाहपञ्चमीको अगिल्लो दिन हुने उपचुनाव सांस्कृतिक चपेटामा छ । यसले सुरक्षा चुनौतिलाई थप जटिल बनाएको छ ।


विवाहपञ्चमीकै कारण यो उपचुनावमा नेपाल भारत सीमा सील नहुने प्रजिअ खत्रीले बताए । सीमा सील नभए पनि निर्वाचन सुरक्षाका लागि जाँचमा कडाई र अपराध र आपराधीक व्यक्ति बारेमा सूचना आदानप्रदानमा भने दुवै पक्षका सुरक्षाकर्मीले एक अर्कालाई सघाउन सहमति भएको छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीकाअनुसार भारतीय सीमासँ जोडिएइको मटिहानीमा सर्तकता र सुरक्षा गस्ति बढाइएको छ ।


विवाहपञ्चमीका लागि भारतबाट हजारौंको संख्यामा भित्रिने तीर्थयात्री पिपरा हुँदै जनकपुर जाने भएकाले प्रशासनले सुरक्षाको थप व्यवस्था मिलाएको हो । जिल्ला सुरक्षा समितिको बैठकले विवाहपञ्चमीका लागि नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सुरक्षा स्कर्टर्ङीमा जनकपुरसम्म पुर्‍याउने निर्णय गरेको छ । यसबीच भारतीय सवारीले बाटोमा कसैलाई चढाउन र ओराल्न भने नपाउने व्यवस्थासमेत गरिएको छ । ‘तर जनकपुरबाट जलेश्वर चल्ने नेपाली सवारी भने मतदान अवधिभरका लागि आवागमनमा रोक लगाईएको छ,’ खत्रीले भने ।


उपनिर्वाचन हुने तीनवटै स्थानिय तहअर्न्तगत १९ मतदान स्थल र २९ मतदान केन्द्र कायम गरिएको छ । प्रजिअ खत्रीकानुसार यीमध्ये पिपराका ३ , बलवाका २ र मटिहानीका १ गरि ६ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा सुचिकृत गरिएको छ । बाकी १३ मतदानस्थल सुरक्षा दृष्टिले संवेदनशील मानिएको छ ।


जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीकाअनुसार सबै मतदानस्थलमा केन्द्रिय सुरक्षा योजनाले तोकेको मापदण्ड अनुरुप सुरक्षा व्यवस्था मिलाइएको छ ।


प्रकाशित : मंसिर १२, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?