सुब्बाले यसरी कमाए १९ करोड

२९ वर्षे जागिर अवधिमा २७ लाख ९२ हजार रुपैयाँ तलब बुझेका सुब्बाको राजधानी र तराईका जिल्लाहरुमा ६ वटा घर र जग्गा 
कृष्ण ज्ञवाली

काठमाडौँ — पद नायब सुब्बा, कमाइ करोडौं । राजधानीको सुन्धारा र कलंकीमा घरजग्गा । सर्लाहीसहित तराईका जिल्लाहरूमा घरजग्गा र सम्पत्ति । आफ्नो कार्यालयका सहयोगीका सासूका नाममा समेत जग्गा खरिद ।

सुब्बाले यसरी कमाए १९ करोड

२९ वर्षअघि खरिदारका रूपमा सरकारी जागिर सुरु गरेका मदनकुमार गुप्ताको सम्पत्ति विवरण हो यो । उनले कुल १९ करोड ३६ लाख रुपैयाँ कमाएको भेटिएको छ । अख्तियारका अनुसार त्यसमध्ये ४ करोड ५४ लाख रुपैयाँ मात्रै वैध कमाइ हो । जागिर अवधिमा उनले २७ लाख ९२ हजार रुपैयाँ तलब बुझेका थिए । सर्वोच्च अदालतले ठहर गरेको मापदण्ड हेर्ने हो भने त्यो तलबबाट १९ लाख ५५ हजार रुपैयाँबाहेक एक पैसा पनि बच्दैन । १९ लाख रुपैयाँ कमाएको व्यक्तिसँग १९ औं करोड रुपैयाँ कसरी आयो ?


‘एउटा कार्यालयमा हुँदा हामीले परीक्षण गरेको आठ महिनाको अवधिमा उनले ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको देखिन्छ,’ अख्तियार स्रोतले गत जेठ ३ गते दायर गरेको भ्रष्टाचार मुद्दाबारे कान्तिपुरलाई भन्यो, ‘नक्कली रसिदप्याड छाप्ने, जग्गापास गर्नेहरूसँग नगद लिने र सरकारी खातामा नबुझाउने गरेको भेटियो । केही फाइल हेर्दै करोडौंको अनियमितता गरेको देखिन्छ, अरूमा के हाल होला ?’ ०७५ साउनदेखि फागुन १२ गतेसम्म मात्रै अख्तियारले गुप्ताको नेतृत्वमा साढे ४ करोड अनियमितता भएको भेट्टाएको थियो ।


केही महिनाअघि बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता भएको विवरण सार्वजनिक भएसँगै देशभर अतिक्रमित सरकारी जग्गाको खोजीनीति र चासो एकाएक बढ्यो । मालपोत कार्यालयका कर्मचारीका बारेमा विभिन्न निकायमा उजुरीको चाङ लाग्यो । त्यसैमध्येको हो– बाराको कलैयास्थित मालपोत कार्यालयका नासु गुप्तामाथिको उजुरी । उक्त उजुरी पछ्याउने क्रममा अख्तियारले जेठ १ गतेयता उनीविरुद्ध पाँचवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।


गत जेठ १ गते अख्तियारले नासु गुप्तामाथि एकैपटक दुईवटा मुद्दा दायर गर्‍यो । गुप्तासहित मालपोत अधिकृत राजराजेश्वरी त्रिवेदी, लेखापाल युगलकिशोर ठाकुर, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापालहरू प्रवीण गौतम र कमल खतिवडा अनि लेखापरीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयका उपसचिवस्तरका निर्देशक अजयकुमार सापकोटाविरुद्ध दायर पहिलो मुद्दामा २ करोड ५० लाख भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । उनीहरूले ०७४ कात्तिक २० देखि ०७५ साउन २८ सम्मको अवधिमा मालपोतको राजस्व हिनामिना गरेको अख्तियारको आरोप छ ।


त्यही दिन नासु गुप्तासहित ५ जनामाथि अर्को भ्रष्टाचार मुद्दा दायर भयो । आर्थिक वर्ष ०७४/७५ मा राजस्व रसिद हिनामिना गरेको, सक्कल कागजात र अन्य विवरण गायब बनाएको आरोपमा उनीहरूमाथि कुनै रकम बिगो मागदाबी नगरी मुद्दा दायर भएको थियो । नासु गुप्ता मालपोत कलैयामा हुँदा भ्रष्टाचारको प्रमाण नष्ट गर्न महत्त्वपूर्ण कागजात फालेको भेटियो । पछि उनका निजी सवारीचालक सुनिलकुमार पटेलको डेराबाट महत्त्वपूर्ण कागजात बरामद भयो । अख्तियारले लेखापाल युगलकिशोर ठाकुर, नासु शत्रुघ्न राउत र कार्यालय सहयोगी निरजकुमार गुप्तामाथि पनि मुद्दा चलायो ।


पर्सिपल्ट अर्थात् ०७६ साल जेठ ३ गते नासु गुप्ताविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर भयो । आर्थिक वर्ष ०७५/७६ मा संकलित राजस्व हिनामिना गरेको आरोपमा सिमरा मालपोत कार्यालयमा रहँदा नासु गुप्ता, लेखापाल युगलकिशोर ठाकुर र नासु शत्रुघ्न राउतमाथि ४ करोड ५८ लाख रुपैयाँ नोक्सान गरेको आरोपपत्र दर्ता भयो । उनको समूहले आठ महिनाको अवधिमा यो लुट मच्चाएको थियो । अनि ०७६ साल मंसिर २ गते गुप्तामाथि चौथो भ्रष्टाचार मुद्दा दायर भयो । उनी मालपोत कार्यालय पर्सामा हुँदा आर्थिक वर्ष ०७०/७१ मा गरेको अनियमितताको छानबिन भयो । लिखत पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिस्ट्रेसन पास गरेको, अनि राजस्व हिनामिना गरेको आरोप उनीमाथि थियो । सरकारी अभिलेख र प्रमाण नष्ट गरेको थप आरोपमा ७७ लाख ८६ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।


कति कमाए ?

अख्तियारको अनुसन्धानअनुसार जागिरे अवधिमा उनले कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको भेटिएको छ । आफूले आर्जन गरेको सम्पत्ति विभिन्न व्यक्तिका नाममा लुकाउने, विभिन्न स्रोत देखाई शुद्धीकरणसमेत गर्ने भएकाले यस्तो आर्जन अरू धेरै हुन सक्ने अख्तियारका अनुसन्धान अधिकृतहरू बताउँछन् ।


०४७ साल असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट जागिर सुरु गरेका गुप्ता ०६४ सालमा नासुमा बढुवा भएका थिए । पछिल्लो समय उनी मालपोत कार्यालय सिमराको निमित्त प्रमुखसमेत भए । कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेका उनको तलब र अन्य वैध आय ४ करोड ५४ लाख रुपैयाँ मात्रै भएको अख्तियारको दाबी छ । चारवटा मुद्दामा गुप्तामाथि लागेको राजस्व हिनामिनाको आरोपको तथ्यांक केलाउने हो भने उनका कारणले ७ करोड ८५ लाख रुपैयाँ राज्यकोषमा नोक्सानी भएको छ । अख्तियारले हेर्न नसकेका थुप्रै फाइलमा गुप्तालगायतको समूहले थप राजस्व हिनामिना गरेको हुन सक्छ ।


मुद्दामाथि मुद्दा खेपेका नासु गुप्ता विशेष अदालतमा हाजिर भए । एउटा मुद्दामा अदालतले ८६ लाख रुपैयाँ धरौटी माग्यो । ‘त्यति रकम त उनले चुट्कीका भरमा निकाल्न सक्थे,’ अदालत स्रोतले भन्यो, ‘तर सम्पत्ति अनुसन्धानको दायरामा तानिएका उनी मागेजति धरौटी राख्दा त्यसको स्रोतमाथि छानबिन हुने भएकाले थुनामा गएर बसिदिए ।’ उनी थुनामै भएका बेलामा अख्तियारले ‘गैरकानुनी सम्पत्ति आर्जन गरेको’ आरोपमा फेरि छानबिन थाल्यो ।


अख्तियारका अनुसार गुप्ताले काठमाडौं र तराईका विभिन्न जिल्लामा गरी छवटा घर खरिद गरेको भेटियो । काठमाडौं र वीरगन्जमा २/२ वटा घर छन् । सर्लाहीमा पनि घर किनेर बेचेको भेटियो । उनले किनेका जग्गाको हिसाबकिताब नै छैन । सरकारी खातामा जम्मा गर्नुपर्ने रकम उनी र लेखाका कर्मचारी युगलकिशोर मिलेर छुट्टै संयुक्त खातामा राखेको भेटियो । यसरी लुकाइएको २ करोड ४६ लाख रुपैयाँको स्रोतबारे गुप्तालाई मुद्दा चल्यो भने युगलकिशोरमाथि छुट्टै अनुसन्धान भइरहेको छ । ‘जग्गाको कारोबार गर्न आउनेलाई नक्कली रसिद दिने,’ विशेष अदालतमा दायर आरोपपत्रमा भनिएको छ, ‘संकलित राजस्व चाहिँ संयुक्त निजी खातामा जम्मा गर्ने गरेको भेटियो ।’


गुप्ताले आफ्नो आर्जन कार्यालय सहयोगी र उनका ससुरालीका नाममा पनि लुकाएको भेटिएको छ । पत्नी रीतादेवीको नाममा काठमाडौं कलंकीमा एक करोड २५ लाख रुपैयाँको घर बनाएको खुल्यो । परिवारका सदस्यको नाममा भएको घरको मूल्यांकन मात्रै ४ करोड ८ लाख रुपैयाँको छ । गुप्ताले २ करोड ३३ लाखको घर बिक्की गुप्ता, जुगुली प्रसाद र जगतनारायण प्रसाद यादवको नाममा राखेको अख्तियारको दाबी छ ।


जता पनि लुकाउने

गुप्तामाथि छानबिनका क्रममा अख्तियारले मालपोत कार्यालय पर्साका कार्यालय सहयोगी श्यामप्रसाद तिमल्सिनाको कोठामा छापा मारेको थियो । कोठामा ३३ लाख रुपैयाँको रसिद भेटियो । उनीहरूले अर्का व्यक्ति बृजलालप्रसाद रौनियारको खातामा रकम लुकाएको खुल्यो । छानबिनका दौरान कार्यालय सहयोगी श्याम तिमिल्सिनाकी सासू इन्दिरादेवी काफ्लेका नाममा पर्साको चार ठाउँमा जग्गा किनेको भेटियो । गुप्ताले भदाहा राजेशकुमार गुप्ताका नाममा जग्गा राखेको खुल्यो । अनि उनीहरूले प्रयोग गर्ने गाडी भदैनी कविता कुमारीका पति निरजकुमार गुप्ताका नाममा राखेको पत्ता लाग्यो ।


मदनप्रसादले सुन्धारामा किनेको घर छोरा बिक्की, कार्यालय सहयोगी जुगुलीप्रसाद र अर्को व्यक्ति जगतनारायणको नाममा थियो । पछि बयानमा उनीहरूले उक्त घर मदनप्रसादको रहेको प्रमाणसमेत दिए । वीरगन्जमा रहेको घर श्रीमती र कार्यालय सहायककी पत्नी कविताका नाममा राखेको भेटियो । अर्का सहायक निरजका नाममा गाडी र पेट्रोलपम्पमा लगानी गरेको खुल्यो । अख्तियारले यी सबै व्यक्तिहरूको सम्पत्तिमाथि छुट्टै अनुसन्धान हुने निर्णयसमेत गरेको छ ।


ती सुब्बाको सम्पत्ति केलाउँदा मुलुकमा घरजग्गाको कारोबार बढेसँगै अथाह आर्जनको ग्राफ चुलिएको देखिन्छ । ०४७ देखि ०५७ सालसम्म १० वर्षको अवधिमा एक लाख ८७ हजार रुपैयाँ मात्रै आर्जन गरेका उनले एक लाख ३४ हजार खर्च गरेर ५३ हजार रुपैयाँ जोगाएका थिए । त्यसपछिको पाँच वर्षको अवधि (०६४ सालसम्म) मा आफ्नो आम्दानी घरजग्गामा लगानी गर्न थाले ।


अर्को एक वर्षमा उनको २२ लाख २१ हजार रुपैयाँ आम्दानीको स्रोत भेटिएन । ०७१ सालसम्म २ करोड ८० लाख अवैध आर्जन गरेका गुप्ताले त्यसपछिको तीन वर्षमा ४ करोड ३२ लाख पुर्‍याए ।


०७६ सम्म थप ४ करोड ७० लाख रुपैयाँ अस्वाभाविक आम्दानी भयो । अख्तियारले त्यसबाहेक थप ७ करोड ४६ लाख रुपैयाँ ‘स्रोत नखुलेको’ दाबी गरेको छ । स्रोत नखुलेको कुल कमाइ १४ करोड ८१ लाख रुपैयाँ हुन्छ । गत जेठयता गुप्ताले भ्रष्टाचारको आरोप खेपेका ५ मुद्दाको कुल बिगो २२ करोड ६६ लाख रुपैयाँ हुन्छ ।


प्रकाशित : मंसिर १२, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?