कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लामो दूरीका चालक १६ घण्टा एक्लै !

सरकारले लामो रुटका बसमा दुई जना चालक अनिवार्य गरे पनि व्यवहारमा लागू भएको छैन । खर्च बढ्छ भनेर बसधनी एउटै चालकलाई गाडी कुदाउन बाध्य पार्छन् ।
दुर्घटना भइहाले चालकले लापरबाही गरेको भनिन्छ । हामीले रहरले दुर्घटना गर्ने हो र ! हामीलाई आफ्नो ज्यानको माया हुँदैन ? परिवारको माया हुँदैन ?

(सुर्खेत) र (काँकडभिट्टा) — पृथ्वी शाहीले बस चलाउन थालेको १८ वर्ष भयो । दशकयता उनी सुर्खेत–काठमाडौं रात्रिबस चलाइरहेका छन् । पेसागत जीवनमा दुर्घटना सामना नगरेका उनले यात्राका क्रममा धेरै दुर्घटना भने देखेका छन् । उनको अनुभवले भन्छ– चालकले कहिल्यै चाहेर दुर्घटना गराउँदैनन्, तर सबैले दोषी उनैलाई देख्छन् ।

लामो दूरीका चालक १६ घण्टा एक्लै !

सर्वसाधारण मात्र होइनन्, ट्राफिक प्रहरीको अध्ययनले समेत अधिकांश सडक दुर्घटनाको कारण चालकको लापरबाहीलाई देखाएको छ । गत आर्थिक वर्षमा मुलुकभर १३ हजार ४ सय २१ सवारी दुर्घटनामा २ हजार ७ सय ६२ को मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार ९ हजार ९ सय ४० दुर्घटनाको कारण चालकको लापरबाही थियो । शाही यो तथ्य स्वीकार्न तयार छन् । तर उनको प्रश्न छ, ‘चालकलाई दुर्घटनाको डिलमा पुर्‍याउन बाध्य तुल्याउने पक्षलाई किन बेवास्ता गरिन्छ ?’


प्रफुल्लित मन लिएर बसपार्कबाट हिँडेका उनी जब सडकमा अरू कुनै सवारी दुर्घटना भएको देख्छन्, तब ‘मुड’ एकाएक बिग्रिन्छ । सुर्खेत–काठमाडौं यात्रामा यस्ता क्षण उनले धेरैपटक बेहोरेका छन् । ‘बाटोमा बस रोकेर ‘रिफ्रेस’ होऔं भने यात्रु रिसाउँछन्, साथमा अर्को ड्राइभर (सहकर्मी) पनि हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा दुर्घटनाको भय बोकेर अघि बढ्नुको विकल्प हुँदैन ।’


सुर्खेत–काठमाडौं रात्रि सेवाको बस यात्रा १६ घण्टाको हुन्छ । जस्तोसुकै परिस्थिति आओस्, यो यात्रा उनीहरूले एक्लैले तय गर्नुपर्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रमिकलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन बाध्यात्मक सिद्धान्त त्यत्तिकै निर्धारण गरेको होइन । दैनिक हजारौं यात्रुको ज्यान बोकिरहेका यात्रुको हकमा भने यो नियमको कुनै परवाह छैन । ‘काठमाडौं आएर एक दिन सुत्ने हो, भोलिपल्ट फेरि आँखा मिच्दै कुदिहाल्नुपर्छ,’ उनले भने, ‘यस्तो तनावमा बस चलाउँदा दुर्घटना भइहाल्यो भने दोष फेरि ड्राइभरमाथि थोपरिन्छ ।’


सुर्खेत–काठमाडौं रुटमा दैनिक २६ वटा रात्रिबस ओहोर–दोहोर गर्छन् । जाजरकोट, जुम्ला र कालीकोटबाट काठमाडौंका लागि दुई–तीनवटा बस छुट्ने गर्छन् । सरकारले लामो रुटका बसमा दुई जना चालक अनिवार्य गरे पनि व्यवहारमा भने लागू भएको देखिँदैन । खर्च बढ्छ भनेर बसधनीले दुइजना चालक राख्दैनन् । सुर्खेत काँक्रेविहार यातायातका अध्यक्ष रमेश सापकोटाका अनुसार दुइजना चालक राख्दा प्रत्येक ट्रिपमा बसधनीलाई करिब १० हजार रुपैयाँ व्ययभार थपिन्छ । सुर्खेत–काठमाडौं रुटमा एउटा बसले सरदर ६ ट्रिप गर्ने गर्छन् । ‘कहिलेकाहीँ त बसमा सीट संख्याको आधा पेसेन्जर पनि हुँदैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा खर्च बढाउन थप ड्राइभर कसरी राखियोस् ।’ यस्तो अवस्थामा पनि सुर्खेत–काठमाडौं रुटमा करिब ४० प्रतिशत बसमा दुइजना चालकको ‘व्यवस्था’ गरिएको उनले बताए ।


सुर्खेत–काठमाडौंमात्र होइन, सुर्खेतदेखि कालीकोट, जुम्ला र मुगु चल्ने रुटमा चालकका दु:ख अझ बढी छन् । यी रुटमा दुर्घटनाको प्रमुख कारक सडकको अवस्था हो । कर्णाली प्रदेश ट्राफिक कार्यालयका अनुसार गत वर्ष कर्णाली प्रदेशमा भएका १ सय ४६ सडक दुर्घटनामा १ सय १९ को मृत्यु भयो । चालु आर्थिक वर्षको चार महिनामा ६९ दुर्घटना भएका छन्, जसमा ३७ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी प्रमुख रामेश्वरप्रसाद यादव भन्छन्, ‘कर्णालीमा हुने सवारी दुर्घटनाको प्रमुख कारण भनेकै गुणस्तरहीन सडक हो, सडक नसुधारेसम्म दुर्घटना न्यूनीकरण गर्न असम्भव छ ।’


कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक र छिन्चु–जाजरकोटमा साँघुरा मोड हुनुका साथै सडक साँघुरो र बिग्रेभत्को छ । त्यसमाथि सुर्खेत–जुम्ला रुटको करिब १२ घण्टा लामो यात्रा एकजना चालककै भरमा चल्ने गर्छ । ०६६ देखि करिब तीन वर्ष कर्णाली राजमार्गमा बस चलाएका अनिल विक कर्णालीका ठूला दुर्घटनामा सडकको दोष औंल्याउँछन् । ‘प्राय: ठूला एक्सिडेन्ट अप्ठेरो मोडमा भएका देखिन्छन्, जहाँ ड्राइभरसमेत बाँचेका छैनन्,’ उनले भने, ‘दोष भने मरेको ड्राइभरमाथि थोपरिन्छ ।’


हाल सुर्खेत–काठमाडौं रुटमा बस चलाउँदै आएका विकले तीन महिनाअघि ठूलो दुर्घटनाबाट बस जोगाए । काठमाडौंबाट सुर्खेतका लागि छुटेको केही समयमै गल्छी भन्ने स्थानमा बसको ब्रेक फेल भयो । धन्न जुक्ति लगाएर सडकको भित्तापट्टि बस धकेले । ‘सडक राम्रो छ, मैले पनि राम्रैसँग चलाएको छु,’ उनले भने, ‘तैपनि प्राविधिक कारणले बस झन्डै दुर्घटनामा परेको थियो, मुस्किलले जोगाइयो ।’ प्राविधिक कारणले पनि दुर्घटना हुने गरेको उनले बताए ।


सडक सुधार गर्ने, लामो रुटका बसमा दुइजना चालकको व्यवस्था अनिवार्य गर्ने, ठाउँ–ठाउँमा रिफ्रेसमेन्ट सेन्टर बनाउनेजस्ता सुधारका काम गर्न सकिए सवारी दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने चालकहरूको भनाइ छ । शारीरिक र मानसिक थकानका कारण पनि दुर्घटना निम्तिने उनीहरू बताउँछन् । ‘कहिलेकाहीँ त साहु (बसधनी) ले पनि तनाव दिन्छन्, हिँड्ने बेला मुड नै खराब भइदिन्छ,’ सुर्खेत–काठमाडौं रुटका एक चालकले भने, ‘बस कन्ट्रोल गर्ने काम त हातखुट्टाले मात्र होइन, दिमागले पो गर्छ भन्ने हेक्का कसैले गर्दैनन् ।’ चार वर्षअघि साहुसँग झगडा गरेर यात्रामा निस्केका एकजना चालकका कारण बस दुर्घटना भएको घटना उनले सुनाए ।


कतिपय अवस्थामा यात्रुको बलजफ्तीले पनि दुर्घटना निम्तिने गरेको चालकहरूको अनुभव छ । बस कुरेर बसेका यात्रुलाई सिट नहुँदा पनि चढाउनैपर्ने बाध्यता आउने र त्यसले ‘ओभरलोड’ हुने गरेको चालक पदम दाहालले बताए । ‘रोकेन भने ढुंगा हान्न पछि पर्दैनन्, फेरि अर्को गाडी कति बेला आउने हो, ठेगान हुँदैन,’ उनले भने, ‘त्यस्ता बेला बसमा क्षमताभन्दा बढी यात्रु भरिन्छन् ।’


०७० भदौमा कालीकोटको बिर्तामोडमा भएको बस दुर्घटनामा २८ जना र त्यसअघि ०६७ चैतमा दैलेखको किट्टुभीरमा भएको दुर्घटनामा ३६ जनाको ज्यान गयो । यी दुवै ठूला दुर्घटनामा क्षमताभन्दा बढी यात्रुभार र साँघुरो सडक रहेको निष्कर्ष प्रहरीले निकालेको थियो । ठाउँ–ठाउँमा प्रहरी चेकपोस्ट रहे पनि प्रहरीले ‘बसको बाध्यता’ भन्दै छाडेको पाइएको थियो । ‘कर्णाली राजमार्गमा चल्ने बसमा त कहिलेकाहीँ क्षमताभन्दा दोब्बर बढी यात्रु हुन्छन्, थोत्रा बसले धान्नै सक्दैनन्,’ दाहालले भने, ‘यसले गर्दा पनि धेरै दुर्घटना हुने गरेका छन् ।’


प्रदेश ट्राफिक प्रमुख एसपी यादव दुर्घटनामा सडक पूर्वाधार, राज्यको नीति तथा कानुन कार्यान्वयनजस्ता कारण महत्त्वपूर्ण भए पनि चालकको भूमिकालाई कम आँक्न नमिल्ने बताउँछन् । चालकले मादक पदार्थ सेवन नगर्ने, मानसिक थकान बोकेर यात्रा नगर्ने, क्षमताभन्दा बढी यात्रु नबोक्ने र तीव्र गतिमा ड्राइभिङ नगर्ने हो भने सडक दुर्घटनालाई निकै हदसम्म कम गर्न सकिने उनको भनाइ छ ।


गुरुजीका दु:ख

बस चालकलाई बोलीचालीमा सम्मानका साथ ‘गुरुजी’ भन्ने गरिन्छ, तर पेसा भने खासै सम्मानित देखिँदैन । बेला–बेला यात्रुबाट हुने दुर्व्यवहार छँदै छ । दुर्घटना भइहाले दोष चालकमाथि थोपरिन्छ । ‘चालकले लापरबाही गरेको भनिन्छ । हामीले रहरले दुर्घटना गर्ने हो र ?,’ काँकडभिट्टा–काठमाडौं रुटका बसचालक राजु लामा गुनासो गर्छन् । उनको भनाइमा चालकले लापरबाही गरे भन्नु गलत हो । ‘सबै चालकको घरपरिवार छ । ज्यानको माया सबैलाई छ,’ उनले भने । यो पेसालाई मर्यादित बनाउनुभन्दा पनि बेइज्जत गर्न राज्य आफैं लागेको उनले आरोप लगाए । ‘राज्यले कहिल्यै माया गरेन, उपेक्षा मात्रै गर्‍यो,’ उनले भने ।


डेढ दसकदेखि बस हाँक्दै आएका झापाका सुमन मेचे केही समयअघि मेचे एक्लै करिब ९ सय किलोमिटर लामो दूरी पार गरेर भैरहवा पुग्थे । अहिले चाहिँ यो हैरानी खेप्नुपरेको छैन । हेटौंडापछि अर्को चालकले उनलाई पालो दिन्छन् । प्राय:जसो लामो रुटका रात्रिबसले वैकल्पिक चालक व्यवस्था गर्न थालेका छन् । ‘पहिला एउटैले रातभरि गाडी हाँक्नुपर्ने बाध्यता थियो, जसका कारण नचाहँदा नचाहँदै दुर्घटनाको डर हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले अलि सजिलो भएको छ ।’ धेरैजसो चालकलाई राति गाडी कुदाउन बानी परेकाले निदाउने सम्भावना ज्यादै न्यून हुने उनको भनाइ छ । ‘मलाई त राति निद्रा लाग्दैन, बरु दिउँसो निदाउने बानी छ,’ उनले भने ।


चालक निदाएर दुर्घटना भएका खबर आउँदा चालक वासुदेव अधिकारीको चित्त बुझ्दैन । भन्छन्, ‘चालक निदाउने कुरा असम्भव हुन्छ । उसलाई आफ्नो ज्यानको माया हुँदैन ? परिवारको माया छैन ?’ १४ वर्षदेखि गाडी चलाइरहेका हेटौंडाका मोहन बर्तौलासँग खाडीमा ६ वर्षजति हेभी ट्रेलर गुडाएको अनुभव छ । त्यही अनुभव स्वदेशमै उपयोग गरिरहेका उनलाई केही समययता यो पेसादेखि वाक्क लागेको छ । आफ्नो गल्ती नहुँदा पनि दुर्घटनाको जिम्मेवार ठूला सवारीसाधनका चालकलाई दिइने प्रवृत्तिले दिक्क लागेको उनले बताए ।


‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान यातायातको हकमा ठीक उल्टो रहेको चालकहरू बताउँछन् । दुर्घटनाको कारण नपहिल्याई ठूला सवारी मात्रलाई दोषी ठम्याउने प्रवृत्तिले हैरान बनेको उनीहरूको भनाइ छ । ‘गल्ती साना सवारीको भए पनि क्षतिको सम्पूर्ण दायित्व भर्न ठूला सवारी व्यवसायीलाई बाध्य बनाइनु जायज छैन,’ काँकडभिट्टा–पोखरा रुटका चालक अधिकारीले भने । बाटो साँघुरो छ । गाडीको चाप दिनदिनै थपिएको छ । यस्तो अवस्थामा दुर्घटनाको दर पनि उच्च छ । ‘मोटरसाइकलले हाम्रो गाडीलाई ठक्कर दिन्छ,’ काँकडभिट्टा–नारायणगढ रुटका चालक शालिग्राम काफ्लेले भने, ‘दुर्घटनाको सबै क्षतिपूर्तिको भार चाहिँ ठूला गाडीको भागमा पारिन्छ ।’


राज्यकै नीतिका कारण ठूला सवारीमाथि अन्याय हुने गरेको चालकहरूको भनाइ छ । ‘प्रहरी–प्रशासनले नै ठूलो गाडी भएकै कारणले क्षतिपूर्ति तिर्नुपर्ने भन्ने ढंगबाट दोष देखाउँछन्,’ चालक नारायण पाण्डेले भने । बिमा कम्पनीले क्षतिपूर्ति रकम दिए सवारी पक्षले नै ५ लाख तिर्नुपर्ने बाध्यता प्रशासनिक तहबाटै हुने गरेको छ । कतिपय स्थानमा ५ लाखका अतिरिक्त सवारीधनी र संघसंस्थालाई पैसा तिर्न बाध्य पारिने गरिएको उनले बताए । यात्रु र तेस्रो पक्षबीचको क्षतिपूर्ति रकमको असमानताका कारणसमेत चालक र यातायात व्यवसायी मारमा परेको उनको भनाइ छ ।


रातभर अनिँदो बसेर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने चालकहरू बसधनीसँगै राज्यबाट समेत ठगिएका छन् । अधिकांश चालकको न्यूनतम पारिश्रमिकसमेत निर्धारण भएको छैन । भत्ताका भरमा छन् । लामो रुटमा चालकले २ हजारदेखि २५ सय रुपैयाँसम्म भत्ता पाउँछन् । त्यही भत्ताले गुजारा चलेको छ । ‘तलब भनेर कुनै ड्राइभरले पाएको मलाई थाहा छैन,’ चालक अधिकारी भन्छन्, ‘न साहुले चासो दिएको छ, न त राज्यले ।’ दर्जनौं यात्रुको ज्यानको सुरक्षाको जिम्मेवारी बोकेर हिँड्ने चालककै ज्यानको टुंगो छैन । दुर्घटनामा घाइते हुँदा राज्यले उपचारमा कुनै सहयोग नगरेको चालकहरूको गुनासो छ । ‘दुर्घटनामा घाइते हुँदा उपचार राज्यले गर्नुपर्ने हो,’ चालक काफ्ले भन्छन् ।

प्रकाशित : मंसिर १२, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?