उपनिर्वाचन तयारी पूरा : आयोग

काठमाडौँ — निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरेर निर्वाचनका लागि आवश्यक कर्मचारी र निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुगिसकेको जानकारी दिएको हो ।

उपनिर्वाचन तयारी पूरा : आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको बताए । उनले उपनिर्वाचनलाई उत्साह र उत्सवको उल्लासमय अवसरका रूपमा लिन मतदातालाई आह्वान गरे । प्रतिनिधिसभाको कास्की–२, प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२), दाङ ३(२) मा उपनिर्वाचन हुँदै छ । त्यस्तै, स्थानीय तहतर्फ धरान उपमहानर प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदको निर्वाचन हुन लागेको हो । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र विभिन्न नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि समेत उपनिर्वाचन हुँदै छ ।


प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलको ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । आठ सयसम्म मतदातालाई एउटा मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ मतदाता छन् । प्रतिनिधिसभा निर्वाचन हुने कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् । प्रदेशसभाको तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् । तीनवटै तहका गरी ३ सय ३३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


प्रमुख आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम, सरकार सबैलाई निर्वाचन आचारसंहिता पालनाका लागि आग्रह गरेका छन् । उनले बुधबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार गर्न नपाइने, सामाजिक सञ्जाल, मोबाइललगायत माध्यमबाट पनि मतदातालाई प्रभावित गर्न नपाइने बताए ।

प्रकाशित : मंसिर ११, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?