कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

आफ्नो भूमिका स्थापित गर्ने कोसिसमा दाहाल !

कार्यकारी अधिकार पाएपछि बढ्यो दाहालको सक्रियता
बबिता शर्मा

काठमाडौँ — नेकपा सचिवालय बैठकले पार्टी अध्यक्षको कार्यकारी भूमिका निभाउने जिम्मा दिएलगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहालको सक्रियता ह्वात्तै बढेको छ । दाहालले सक्रियता बढाएर कार्यविभाजनअनुसार आफ्नो भूमिका स्थापित गर्ने कोसिस गरेका छन् । 

आफ्नो भूमिका स्थापित गर्ने कोसिसमा दाहाल !

सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएपछि दाहालले भेटघाट र दौडधुप बढाएका हुन् । यस्तो भेटघाट र कार्यक्रममा दाहालले दुई अध्यक्षबीचको कार्यविभाजन र आफ्नो भूमिकाबारे सकेसम्म धेरै स्पष्ट गर्ने कोसिस गरेका छन् ।


दाहाल निकट नेकपाका एक स्थायी कमिटी सदस्य अनुसार दाहाल आफ्नो भूमिका स्थापित गर्ने कोसिसमा छन् । उनका अनुसार अहिलेको सक्रियता यसैको उदाहरण हो ।


नेकपाको मंसिर ४ गतेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अध्यक्ष दाहालले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै दाहालले पार्टी नेताहरुसँगको भेटघाट र धेरैभन्दा धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।


नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘पार्टी एकताको १८ महिनासम्म अध्यक्ष भएको अनुभूति भएन भनेर उहाँ (दाहाल)ले सार्वजनिक रुपमै पनि भन्नुभएको थियो । अहिले कार्यकारी भएको अनुभूति गर्ने र गराउने गरी उहाँको सक्रियता बढेको देखिन्छ ।’


अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष दाहाल कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने नेकपाको निर्णयसँगै दाहाल निवास नेकपाका नेता-कार्यकर्ताको आवतजावत बाक्लिएको छ । आफ्नो निवासमा भेटन आउने नेकपाका नेताकार्यकर्तालाई पनि दाहालले दुई अध्यक्षबीचको जिम्मेवारीबारे ‘ब्रिफ्रिङ’ गर्ने गरका छन् ।


तर, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालको जिल्ला दौडधुप र भेटघाट कार्यकारी भूमिका तोकिएपछिको नभई पहिलाकै निरन्तरता भएको बताए । ‘कार्यकारी भूमिका केन्द्रीयस्तरमा बनाउने हो । त्यसको निम्ति बैठक बसेर योजना बनाउने र ती योजनालाई कार्यान्वयन गर्नेतर्फ उहाँ अगाडि बढ्नु होला,' प्रवक्ता श्रेष्ठले भने, ‘अहिले जिल्लामा जाने कुरा कार्यकारी बनाएको कारण भन्दा पनि पहिलाकै निरन्तरता हो ।’


यद्यपी पछिल्लोपटक दाहालको दौडधुप मंसिर १४ मा हुन लागेको उपचुनावमा केन्द्रित छ । यसका लागि उनी काठमाडौंबाहिर पनि निस्केका छन् । चुनाव प्रचारमा हिँडेका दाहालले दुई अध्यक्षबीचको कार्यविभाजन र आफूले पाएको अधिकारबारेसमेत व्याख्या गर्ने गरेका छन् ।

चुनाव प्रचारका क्रममा दाहाल बुधवार पोखरा र धरान पुगे । सबैभन्दा पहिला कास्की-२ मा हुन लागेको उपनिर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराईको पक्षमा प्रचारका लागि दाहाल पोखरा पुगेका थिए ।


पोखराको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले भनेका छन्, ‘केही दिनअघिसम्म कताकता सरकार पाँच वर्ष चल्ने हो कि हैन भन्ने संशय थियो । पार्टी सुदृढ र एकता भएर जाने हो कि हैन भन्ने चिन्ता जनताको मनमा, पार्टी नेता कार्यकर्ताको मनमा धेरै थोरै थियो । त्यो संशयलाई सचिवालय बैठक बसेर खत्तम गरिदियौं ।’


पोखराबाटै दाहाल हेलिकप्टर मार्फत अर्को चुनावी सभालाई सम्बोधन गर्न धरान पुगे । धरान उपमहानगरपालीका प्रमुखका लागि हुन लागेको उपनिर्वाचन नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएको छ । अध्यक्ष दाहाल राईको पक्षमा प्रचारका लागि धरान पुगेका हुन् । दाहालले त्यहाँ पनि दुई अध्यक्षको कार्यविभाजनबारे प्रस्ट्याउने कोसिस गरे ।


बुधबार कास्की र धरान जानु अगाडि दाहाल बारा र मकवानपुरमा थिए । दाहाल बुधबार दिउँसो बाराको निजगढमा नेकपाको बृहत् सभा तथा प्रदेश २ का राष्ट्रिय गौरवका योजनाहरुलाई कसरी कार्यान्वयन गर्ने भन्ने कार्यक्रममा सहभागी भएका थिए ।


त्यहाँ पुगेर दाहालले तराई मधेसको समस्या समाधान गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताएका थिए । केही वर्ष पहिला मधेससँग परेको ‘लभ’लाई सानदार ढंगले निभाउने बाचा फेरि गरे ।


निजगढबाट फर्केपछि दाहाल सिधै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा पुगेर एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।


हेटौंडामा मुख्यमन्त्री निवासमा भएको भेटघाट कार्यक्रममा बोल्दै दाहालले अब आफूले अली बढी पार्टी र सङ्गठनमा जोडबल दिने निर्णय भएको बताएका थिए । संविधानमा उल्लेख भएअनुसारको समाजवाद निर्माण गर्न नेकपाका दुवै अध्यक्षले भूमिका खेलिरहेको कार्यक्रममा दाहालको भनाइ थियो । ३७ ठाउँमा हुन लागेको उपनिर्वाचनमा जनता उत्साहित रहेको र जनताले नेकपालाई जिताउने दाहालले बताएका थिए ।


हेटौंडा जानुअगाडि सोमबार दाहाल चितवन पुगेर चुनाव प्रचारमा जुटेका थिए । भरतपुर महानगरपालिका-१६ उपचुनाव हुँदैछ । नेकपाको भरतपुर महानगरपालिका-१६ निर्वाचन परिचालन समितिले विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले दुई अध्यक्षको कार्यविभाजनबारे भनेका थिए, ‘प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु ।’ दाहालले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको समेत बताएका थिए । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवनमा पुगेर दाहालले अरु राजनीतिक भेटघाट पनि गरेका थिए ।


चितवन जानुभन्दा एक दिन अगाडि अर्थात शनिबार चुनावी प्रचारका लागि दाहाल बागलुङ पुगेका थिए । बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिवाङमा उपनिर्वाचनका लागि आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले पार्टी एकता र कार्यविभाजनको काम सकिएको भन्दै नेकपाले अव सम्पूर्ण ध्यान विकास र समृद्धिमा लगाउने बताएका थिए ।


पछिल्लो निर्णयले पार्टी एक ढिक्का भएको भन्दै दाहालले भनेका थिए, ‘दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने पनि टुङ्ग्याएका छौँ । एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुङ्ग्याएका छौँ । पार्टीमा अब कुनै भ्रम छैन । बाटो साफ भएको छ ।’ बागलुङ क्षेत्र नं २ को (ख) बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीको निधनपछि त्यस क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् ।


बागलुङ जानुभन्दा अघिल्लो दिन दाहाल भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रम पुगेका थिए । कार्यकारी अधिकार पाएपछि दाहालको पहिलो कार्यक्रम भने शान्ति प्रक्रियासँग जोडिएको विषयमा थियो । मंसिर ५ गते अर्थात विहिवार दाहाल द्वन्द्व पीडित साझा चौतारीले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका थिए ।

प्रकाशित : मंसिर ११, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?