प्रधानमन्त्रीलाई 'छोरी' ठिल्लेको शुभकामना

राजबहादुर शाही

मुगु — प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएको खबरले ठिल्ले साङ्मू र उनका अभिभावकलाई बेचैन बनाएको छ । ठिल्ले प्रधानमन्त्री ओलीकी ‘छोरी’ हुन् । उनलाई २०७५ वैशाख १ गते ओलीले अभिभावकत्व प्रदान गर्दै विद्यालय भर्ना गरेका थिए । माग्रीगाउँकी ९ वर्षीया यी बालिका र उनका अभिभावकले प्रधानमन्त्री ओली बिरामी भएको खबर पाएपछि स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

प्रधानमन्त्रीलाई 'छोरी' ठिल्लेको शुभकामना

‘अस्पतालमै गएर त भेट्न सकिँदैन होला, तैपनि हामीले भगवान बुद्धसँग छिटो निको होस् भनेर कामना गरिरहेका छौं,’ ठिल्लेका ७८ वर्षीय हजुरबुवा कार्माछेवाङ तामाङले भने, ‘कसैले काठमाडौं पुर्‍याइदिए त भेटेरै भलाकुसारी गर्न हुन्थ्यो ।’ रेडियोबाट प्रधानमन्त्री बिरामी भएको खबर थाहा पाएपछि नातिनी पनि चिन्तित भएकी उनले बताए ।


दुई वर्षअघि ठिल्लेलाई प्रधानमन्त्री ओलीले काखमा राखेर विद्यालय भर्ना गरेका थिए । त्यसयता ‘बाउ–छोरी’को भेट भएको छैन । यद्यपि ओलीले उनको लागि स्टेसनरी, पोशाक, खाजाको लागि पैसा पठाइरहेका छन् । प्रधानमन्त्रीको सचिवालयबाट वर्षेनि करिब २५ हजार बराबर सहयोग हुँदै आएको उनी अध्ययनरत बुद्ध माध्यमिक विद्यालयले जनाएको छ । ठिल्ले २ कक्षामा पढिरहेकी छिन् ।


उनले १ कक्षाको अन्तिम परीक्षामा ८५ प्रतिशत ल्याएर उत्तीर्ण भएकी थिइन् । उनी आफ्नो पढाइ र प्रगतिबारे बुवा (प्रधानमन्त्री)लाई सुनाउन चाहन्छिन् । गाउँमा पनि उनलाई सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर बोलाउँछन् । विद्यालयका प्रधानाध्यापक डिलेन्द्र शाहीले प्रधानमन्त्रीको स्वास्थ्यबारे चर्चा हुँदा ठिल्ले चिन्तित देखिने गरेका बताए । एकपटक काठमाडौंमै गएर भए पनि भेट्ने इच्छा देखाएको उनको भनाइ छ । ‘उनी नियमित विद्यालय आउँछिन्, पढाइमा पनि तेज छिन्,’ उनले भने, ‘तिम्रो ‘बुवा’ बिरामी छन् भनेर कसैले सुनाउँदा दुःखी हुन्छिन् ।’


ठिल्ले गर्भमै हुँदा बुवाको मृत्यु भयो । आमा छिजु लामा र हजुरबुवा कार्माछेबाङको संरक्षणमा उनी हुर्किइन् । उमेर बढे पनि विद्यालय पढ्न भने पाइनन् । यस्तैमा २०७५ वैशाख १ मा कर्णाली प्रदेश सरकारले आयोजना गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष’ उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले अभिभावकत्व प्रदान गर्दै विद्यालय भर्ना गरेका थिए । घरमा अनेक समस्या भए पनि प्रधानमन्त्रीकी ‘छोरी’ भएकै कारण साङ्मूको पढाइमा मिहिनेत गरेको आमा छिजुले बताइन् । ‘साँझ दियालो बालेर भए पनि छोरीलाई पढ्ने व्यवस्था मिलाएकी छु,’ उनले भनिन्, ‘सुख, दुःख जेजस्तो भए पनि पढाउनै पर्‍यो नि ।’


गाउँमा बालविवाह ठूलो समस्याको रुपमा रहेको छ । यसले नातिनीबारे हजुरबुवा कार्माछेवाङ चिन्तित छन् । आफू पनि दमको बिरामी भएको र प्रधानमन्त्री पनि अस्वस्थ भइरहँदा भोलि बीचमै पढाइ छोडेर विवाह गराइदिने हुन् कि भन्ने चिन्ता लागिरहने उनले बताए ।


माग्रीगाउँकै छिरिङछोन्जुङ लामालाई प्रधानमन्त्रीपत्नी राधिका शाक्यले अभिभावकत्व प्रदान गर्दै सोही दिन विद्यालय भर्ना गरेकी थिइन् । प्रधानमन्त्रीको स्वास्थ्यले उनलाई पनि पिरोलेको छ । प्रधानाध्यापक शाहीका अनुसार विद्यालय र गाउँमा उनलाई पनि प्रधानमन्त्रीकी छोरी भनेर बोलाउने गरिन्छ । ‘भावनात्मक सम्बन्धले पनि धेरै प्रभाव पार्दोरहेछ,’ उनले भने, ‘हाम्रो विद्यालयमा अध्ययनरत प्रधानमन्त्री र प्रधानमन्त्रीपत्नीका छोरीहरु यसबाट कसरी अछुतो रहन सक्छन् ?’


११ वर्षीया छिरिङछोन्जुङ ३ कक्षामा पढ्छिन् । उनका बुवा कार्मानाङग्याल लामाको यार्सा टिप्न जाँदा चार वर्षअघि अपरिचित व्यक्तिले हत्या गरेका थिए । आमा टोमाले घरको समस्याले विद्यालय नगइरहेको बेला प्रधानमन्त्रीकी पत्नीले भर्ना गरेर ठूलो गुन लगाएको बताइन् ।


मुगुका प्रतिनिधिसभा सदस्य मोहन बानियाँले केही समयअघि प्रधानमन्त्री ओलीले दुईजनै ‘छोरी’लाई काठमाडौं बोलाएर राम्रो विद्यालयमा भर्ना गर्नेबारे योजना सुनाएको बताए । प्रधानमन्त्रीको उक्त सन्देश सुनाएपछि बालिका र उनको परिवार खुसी भएका उनको भनाइ छ ।

प्रकाशित : मंसिर ११, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?