१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर [अपडेट]

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएपछि सेन्टरले प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर [अपडेट]

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछि पोस्ट अपरेटिभ वार्डमा राखिएको छ । 'उपचार गरिकन हाल सघन उपचारको सम्पूर्ण व्यववस्थासहित निरन्तर निगरानीमा राखिएको छ,' विज्ञप्तिमा भनिएको छ ।


प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।


प्रधानमन्त्री ओली स्वास्थ्य समस्या देखिएपछि मंगलबार बिहान उक्त सेन्टरमा गएका थिए । ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको थापाले बताए ।

उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतलगायत संलग्न छन् । प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ ।

चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलसिस गरिएको थियो ।


.......................

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिसको शल्यक्रिया भइरहेको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरिराखिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

प्रधानमन्त्री ओलीको रमेश सिंह, दिव्य सिंहलगायत चिकित्सक टोलीले शल्यक्रिया गरिरहेको छ । थापाले भने, 'प्रधानमन्त्रीको अप्रेसन चलिरहेको छ । यो समान्य अप्रेसन हो । उहाँलाई पेट दुःखेर आज बिहान ८ बजे ल्याइएको थियो । यो एपेन्डीसाइटिस अकस्मात हुने र तत्काल उपचार गर्नुपर्ने रोग हो ।'

.....

उपचारमा संलग्न चिकित्सक अरुण सायमिले कान्तिपुरसित भने, 'प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी सुरु गर्दैछौं ।' प्रधानमन्त्रीको उपचारमा रमेशसिंह भण्डारी लगायतका चिकित्सक संलग्न छन् ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्रीको अपरेशनको तयारी भइरहेको बताएका छन् ।


प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन् । उनको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो ।

गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन् । उनको रगतमा क्रिएटिनिनको स्तर वृद्घि भएपछि मिर्गौलाको सम्भावित समस्या आकलन गर्दै करिब ६ महिनायता कुनै न कुनै रूपमा उपचार जारी छ ।

के हो एपेन्डिक्स ?

एपेन्डिक्स हाम्रो शरीरमा ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा भएको एउटा अंग हो । यसैमा संक्रमण भएर पेट मर्ने गरी दुखेपछि ‘एपेन्डेसाइटिस’ रोग भएको मानिन्छ ।


पहिले चिकित्सकहरू एपेन्डिक्सलाई नचाहिने अंग मान्थे । तर पछिल्ला अध्ययनमा, स्वस्थ शरीरका लागि एपेन्डिक्ससमेत आवश्यक अंग हो भन्ने पत्ता लाग्यो। यो अंगमा पाचनलाई सघाउन राम्रो ब्याक्टेरिया जम्मा हुन्छ । लामो रोगले गर्दा ब्याक्टेरियाको कमी हुँदा यही एपेन्डिक्सले पाचन प्रणालीलाई ठीक राख्छ ।


एपेन्डिक्समा संक्रमणको यकिन कारण हालसम्म थाहा भएको छैन । आन्द्रामा संक्रमण, पेटमा खराब ब्याक्टेरियाको वृद्घि आदि कारणले एपेन्डिक्स नलीमा अवरोध पुग्ने वा सुन्निने भएर एपेन्डिसाइटिस हुन्छ ।


के हुन्छ ?

एपेन्डिसाइटिसको समस्या भएकाहरूमध्ये ३०–४० प्रतिशतमा एक्कासि नाइटो दुख्न थाल्छ । यो पीडा ६–७ घण्टापछि दाहिनेतिरको तल्लो पेटमा सर्छ ।

‘यो खास एपेन्डिेसाइटिसकै दुखाइ हो,’ डा. रमेशसिंह भण्डारी भन्छन्, ‘कसैकसैको सीधै दाहिने पेटसमेत दुख्न थाल्छ।’ यो दुखाइ हरेक व्यक्तिमा फरकसमेत हुन सक्छ, किनभने एपेन्डिक्सले फरकफरक अंगलाई छुने गरेको छ । यसैले प्राय: चिकित्सकहरू एपेन्डिसाइटिस पहिचान गर्न अलमलिन्छन्।

हिँड्दा, कुरा गर्दा अझ दुख्छ । यो दुखाइसँगै बिरामीलाई खान मन नलाग्ने, वान्ता हुने, ज्वरो आउने हुन्छ । एपेन्डिसाइटिस बढ्दै जाँदा कामज्वरोसमेत आउँछ । यस्तो लक्षण ८० प्रतिशत बिरामीमा देखिन्छ ।


गर्भावस्थामा एपेन्डिक्स पेटको माथिल्लो भागमा बस्छ । यसैले त्यस्तो बेला यस्तो पीडा पेटको माथिल्लो भागमा हुन सक्छ।


दुई प्रकारका शल्यक्रिया

एपेन्डिसाइटिसको शल्यक्रिया दुई प्रकारले गरिन्छ । पेटलाई चिरेर वा ल्याप्रोस्कोपिक विधिले सानो प्वाल पारेर । हाम्रो मुलुकमा ८०–९० प्रतिशत शल्यक्रिया चिरेरै हुने गरेको छ । धेरै सामान नचाहिने, जहाँ पनि गर्न सकिने भएकोले यो शल्यचिकित्सकले सबैजसो संरचनामा गर्न सक्छन् ।


ल्याप्रोस्कोपिक विधिले गरिने शल्यचिकित्सामा आधुनिक उपकरण चाहिन्छ । पेटमा ३–४ प्वाल पारेर एपेन्डिक्स झिक्न पेटमा क्यामेरा र औजार पठाइन्छ । यस्तो शल्यक्रियाले छिटो स्वास्थ्य लाभ हुन्छ । कम दुख्छ, पेटमा सानो दाग हुन्छ।


जटिलता

एपेन्डिसाइटिसमा कहिलेकाहीँ जटिलता समेत हुने गर्छ । यस्तो समस्या भएका १०–१५ प्रतिशतमा एपेन्डिक्स बिस्तारै कुहिने, फुट्ने आदि हुन्छ । यो अवस्थामा पेटभरि संक्रमण सर्छ । यसमा मुख्य जटिलता एपेन्डिक्समा पिप बग्नु र फुट्नु हो ।


यस्तो अवस्था भए पनि समयमै उपचार गरे बिमार निको हुन्छ । तर समयमै उपचार नगरे संक्रमण फैलिएर बिरामी नबाँच्ने सम्भावनासमेत हुन्छ ।


पहिचान

यो रोगको पहिचान मुख्य रूपमा बिरामीमा देखिने लक्षणका आधारमा गरिन्छ । चिकित्सकले बिरामीको बाह्य परीक्षण र सामान्य रगत जाँच गरेरसमेत करिब ८० प्रतिशत केसमा निक्र्योल गर्न सक्ने अवस्था रहेको डा. भण्डारी बताउँछन् । तर कुनै बिरामीमा चिकित्सकलाई रोग पहिचान गर्न अलमल भए अल्ट्रासाउन्ड परीक्षण र अत्यन्त न्यून केसमा सिटी स्क्यान परीक्षण गर्ने गरिन्छ ।


मुख्य लक्षण

- नाइटोमा पीडा सुरु भएर पेटको दाहिनेतर्फ सर्नु

- भोक कम लाग्नु

- वान्ता हुनु

- कब्जियत हुनु वा पखाला लाग्नु

- ज्वरो आउनु

प्रकाशित : मंसिर १०, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?