३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कर नेपालमा, जग्गा भारतमा

कमल पन्थी

(बर्दिया) — गुलरिया–१० थपुवा गाउँका बन्धिया थारूका नाममा २ बिघा ७ कठ्ठब जग्गाको धनीपुर्जा छ । मालपोत अभिलेखमा कित्ता नम्बर १४९ रहेको जग्गा एक दशकअघि भारतीय सुरक्षाकर्मीले आफ्नो भूभाग भन्दै जबर्जस्ती अतिक्रमण गरे । उनले अहिलेसम्म जग्गाको मालपोत भने गुलरिया नगरपालिकामा बुझाउँदै आएका छन् ।

कर नेपालमा, जग्गा भारतमा

गाउँका हैबु थारूको कित्ता नम्बर १८१ को १ बिघा ७ कठ्ठा जग्गा पनि भारतीयले दाबी गर्दै आएका छन् । महारजिया चौधरीको १८२ नम्बर कित्ता भएको १४ कठ्ठा जग्गा भारतीय सुरक्षाकर्मीले अतिक्रमण गरेको १० वर्ष भयो । जोतभोग गर्न नदिएको उक्त जग्गाको मालपोत भने उनले गुलरियामै बुझाउँदै आएका छन् । जिरिया थारूको कित्ता १५२ को १० कठ्ठा र खटिक थारूको कित्ता १८० को ७ कठ्ठा जग्गा पनि भारतीय अतिक्रमणमा परेको छ ।

सबै जग्गाधनीले जोतभोग गर्न पाएका छैनन् । २०७१ र ०७४ मा आएको बबईको बाढीले ८० प्रतिशत जग्गा कटान गरेको थियो । बगाएको जग्गा भारतीय सुरक्षाकर्मीले भारतको भन्दै त्यहाँ कुनै किसिमका गतिविधि गर्न रोक लगाएको जग्गाधनीको गुनासो छ । स्थानीयस्तरमा भारतीय सुरक्षाकर्मीसँग प्रतिवाद गरे पनि केही नलागेको पीडित कृष्णप्रसाद थारूले बताए । नदीले भंगालो पसेको भूभाग भारतको भन्दै सुरक्षाकर्मीले दाबी गर्ने गरेको जिरिया थारूले बताइन् ।


सीमास्तम्भ बबई नदीले बगाएपछि यहाँ विवाद आएको स्थानीयको भनाइ छ । भारतले सीमास्तम्भ सारेको ठाउँमा विगतमा नेपाललाई तटबन्ध गर्न नदिएकाले कटान बढ्दै गएको हो । कब्जा गरिएको अधिकांश जग्गा अहिले बबई नदीले कटान गर्दै लगेको छ । दुई दशकयता साना–ठूला गरी ३२ वटा सीमास्तम्भ बबईलगायत नदीले बगाइसकेका छन् । भारतले जग्गा कब्जा गरेकाले फिर्ता दिलाइपाउँ भन्दै थपुवाका पीडितले गृह मन्त्रालयमा ०७२ मंसिर २७ निवेदन दर्ता गराएको थारूले बताए । तर मन्त्रालयले पनि खासै चासो नदिएपछि जग्गा फिर्ता हुन नसकेको पीडित परिवारको गुनासो छ ।


नेपाली सुरक्षा बलको नियमित गस्ती नभएका कारण भारतीयले जग्गा कब्जा गर्दै गएको स्थानीय जोद्धी सोनकारको भनाइ छ । सीमा मिचिएको स्थानदेखि झन्डै दुई किमि पश्चिममा सशस्त्र प्रहरी बल छ । भारतीय सीमाबाट एक किमि दूरीमा एसएसबीको क्याम्प छ । यता प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने जनशक्ति कम भए पनि नियमित गस्ती भइरहेको दाबी गरे ।


६ वर्षयता बबई र कर्णालीले कटान गरी साना, मझौला गरी ३२ सीमास्तम्भ बगाइसकेको छ । पूर्व मानखोलादेखि पश्चिम राजापुर गाविसमा कर्णाली नदी ८३ दशमलव ८ किमि लामो छ । करिब ९० प्रतिशत सीमामा जंगल पर्छ । दशगजा नजिकै भारत उत्तरप्रदेश बहराइचको कतरनिया वन्यजन्तु आरक्ष छ ।


सशस्त्रको बेस स्थापना भएपछि १० वर्षको अवधिमा सीमा अतिक्रमण नभएको दाबी सशस्त्रका एस्पी यादव विकले गरे । नेपाल–भारत छुट्याउने सीमामा गाडिएका मुख्य ७ सहित ९३ स्तम्भ हराएका छन् । घना जंगल सँगैको २४५ सीमास्तम्भ कटानसँगै नदीले ओगटेको भूभाग भारतीय सुरक्षाकर्मीले आफ्नो दाबी गर्दै आएका छन् । ६१ नम्बर सीमा स्तम्भमा भारतीयले दशगजा मिचेर सडक र घर बनाएका छन् ।

प्रकाशित : मंसिर १०, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?