१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उपनिर्वाचनलाई ३२ हजार सुरक्षाकर्मी

सेनासहितको सुरक्षा : गृह

काठमाडौँ — सरकारले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि करिब ३२ हजार सुरक्षाकर्मी खटाउने गरी विशेष सुरक्षा कार्ययोजना तय गरेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको हो ।

उपनिर्वाचनलाई ३२ हजार सुरक्षाकर्मी

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उपनिर्वाचन सुरक्षा कार्ययोजना तय गरिएको जानकारी दिए । ‘उपनिर्वाचन र सागमा सेनाले बाहिरी तथा प्रहरी, सशस्त्र र अनुसन्धान विभागले आवश्यकताअनुसार भित्री घेरामा बसेर सुरक्षा प्रदान गर्नेछन्,’ उनले भने, ‘विगतमा झैं सेनाले प्रहरी र सशस्त्रले गर्ने जिम्मेवारीको बाहिरी घेरामा बसेर एरिया प्रोटेक्सन र नियमित गस्ती गर्नेछ ।’


निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंसिर ११ गते निर्वाचन बुथमा कर्मचारी र सुरक्षाकर्मी पुग्ने गरी आवश्यक तयारी गरिएको बताए । प्रवक्ता श्रेष्ठका अनुसार मुख्य निर्वाचन अधिकृतसहित उपनिर्वाचनमा करिब ५ हजार ५ सय कर्मचारी खटिने छन् ।


५ सय ३७ मतदान केन्द्र र २ सय ४७ मतदान स्थल स्थापना गरिएको छ । कास्की–२ मा प्रतिनिधिसभा सदस्य र ३ प्रदेशसभा सदस्यसहित ५२ पदका लागि उपनिर्वाचन हुँदै छ । प्रवक्ता श्रेष्ठले मतदानमा निर्धक्क सहभागी हुन पनि मतदातालाई अपिल गरे । ‘सुरक्षा व्यवस्था चुस्त रूपमा मिलाइएको छ, ढुक्क भएर आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सकिन्छ,’ श्रेष्ठले भने ।


गृह मन्त्रालयका प्रवक्ता शर्माले पनि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएकाले ढुक्क भएर मतदान गर्न अनुरोध गरेका छन् । निर्वाचनमा सेनासहित एकीकृत सुरक्षा फौज तैनाथ भइसकेको छ ।


मतपत्र पुर्‍याइयो : आयोग

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ । निर्वाचन आयोगले आइतबार जनाएअनुसार नेपाली सेनाले मतपत्र र मतदाता परिचयपत्र उपनिर्वाचन हुने ३७ जिल्लामध्ये सुगम स्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरबाट ढुवानी गरी पुर्‍याएको हो । संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मा सेनालाई दिइएको हो । प्रतिनिधिसभा सदस्यको एक पदका लागि २१ र प्रदेशसभा सदस्यका तीन पदका लागि ४३ र स्थानीय तहका ४८ पदका लागि २ सय ७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।


साग सुरक्षामा १६ हजार खटिने

गृह मन्त्रालयले आउँदो १५ देखि २५ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तय गरेको छ । विमानस्थलदेखि होटल र होटलदेखि खेल आयोजना स्थलसम्म खेलाडी, पदाधिकारी, दर्शक र अन्य पाहुनाको सुरक्षा व्यवस्थासहित कार्ययोजना तय गरिएको गृहले जनाएको छ । सागमा पनि सेनासहितको सुरक्षा व्यवस्था हुनेछ । नेपालसहित सागमा ८ राष्ट्रबाट खेलाडी, प्रशिक्षक, पदाधिकारीसहित करिब ६ हजारको सहभागिता हुने जनाइएको छ । काठमाडौंमा १२, ललितपुर र कास्कीमा ९/९ र धनुषामा कुस्ती गरी ३१ खेल सञ्चालन हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।


प्रकाशित : मंसिर ९, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?