३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भरतपुरमा चिकित्सा शिक्षाका विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन

चितवन — अतिरिक्त शुल्क फिर्ता नभएपछि भरतपुर मेडिकल कलेजका विद्यार्थीले अभिभावक र नागरिक समाजका प्रतिनिधिसहित आइतबार सडक प्रदर्शन थालेका छन्  । अतिरिक्त शुल्क फिर्ता गर्न कलेजहरूलाई सरकारले दिएको समय सीमा आइतबारबाट समाप्त हुँदैछ ।

भरतपुरमा चिकित्सा शिक्षाका विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन

आइतबार भरतपुर विरेन्द्र क्याम्पसबाट निस्केको विरोध र्‍याली नारायणगढ सहिदचोक पुगेर भरतपुर तर्फ नै फर्केको थियो । भरतपुर चौबिसकोठीमा आयोजित कोणसभामा विद्यार्थी र अभिभावकहरुले सम्बोधन गरेका थिए ।


चितवन मेडिकल कलेज (सिएमसी)का विद्यार्थीले गठन गरेको चिकित्सा शिक्षा संघर्ष समितिले आइतबार भरतपुरमा रहेको सिएमसीको शिक्षण अस्पताल अगाडी विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो । शनिबार साँझपख सिएमसीको शिक्षण ब्लक भित्र पेस्तोल फेला परेको समाचार सार्वजनिक भएको थियो । पूर्व निर्धारित कार्यक्रम बिथोल्न हतियार बरामदको कुरा निकालेको विरोध प्रदर्शनमा आएको विद्यार्थीले आरोप लगाए ।

विद्यार्थी भेला हुने भनेर तोकिएको क्षेत्र वरपर प्रहरीको बाक्लो उपस्थिती थियो । चौबिसकोठी चोकमा सशस्त्र प्रहरीको समूहले पहरा दिएको थियो । सिएमसीको शिक्षण अस्पताल गेटमा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु सुरक्षाका लागि तैनाथ थिए । विरेन्द्र क्याम्पस अगाडी नारायणगढ वडा प्रहरी कार्यालयका प्रहरीहरु बसेका थिए । ठाउँ ठाउँमा प्रहरीको बाक्लो उपस्थिती थियो । प्रदर्शनमा सिएमसी बाहेकका विद्यार्थी पनि सहभागि थिए ।


चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द कार्यक्रममा देखिएनन् । चन्द प्रतिबन्धित नेकपा समूहका नेता नेत्रविक्रमका छोरा हुन् । सिएमसीका विद्यार्थी प्रकाशले आन्दोलनको अगुवाइ गरेका कारण कलेजले ‘यो आन्दोलन कसैको राजनीतिक अभिष्ट पुरा गर्न सञ्चालन भएको’ भन्ने धारणा सार्वजनिक नै गरेको छ । चितवन मेडिकल कलेजमा गएको भदौदेखि नै आन्दोलन चल्दै आएको छ ।


लगभग महिना दिन आन्दोलन भएपछि गएको असोज ४ गते चितवन जिल्ला प्रशासन कार्यालयमा कलेज सञ्चालक, विद्यार्थी र अभिभावकहरुबीच वार्ता भएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा भएको वार्तामा कात्तिक १८ गतेभित्र सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्न कलेज प्रशासन तयार भएको थियो ।


कसलाई कति रकम फिर्ता दिने वा समायोजन गर्ने भनेर प्रतिवेदन तयार गर्न सोही दिन अभिभावक टंकप्रसाद चापागाईंको नेतृत्वमा टोली गठन भएको थियो । तर सो टोलीलाई मेडिकल कलेजले अघिल्ला दुई वर्षमा लिएको शुल्कको विवरण दिए पनि पछिल्ला दुई वर्षको विवरण नदिएको हुँदा प्रतिवेदन तयार गर्न नसकेको चपागाईंले बताए । विद्यर्थाीले शैक्षिकसत्र ०७२/७३ यताको शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राखेका छन् ।


चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिश न्यौपानेले कात्तिक १५ मा पत्रकार सम्मेलन राखेर शैक्षिकसत्र ०७५/७६ मा भर्ना भएका एमबीबीएस र बिडिएसका विद्यार्थीको शुल्क मात्र समायोजन गर्ने जानकारी दिएका थिए । सोही दिन चितवन मेडिकल कलेजले जिल्ला प्रशासनमा भएको सहमति विरुद्ध अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट पनि दर्ता गरायो ।


सो रिटमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने अदालतको आदेश आइसकेको छ । विद्यार्थीले शैक्षिकसत्र ०७२/७३ यताका चार शैक्षिकसत्रमा मेडिकल कलेजले १२ देखि २० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको बताउँदै आन्दोलित छन् । चितवन मेडिकल कलेजले अघिल्ला शैक्षिकसत्रमा नियम अनुसार नै अतिरिक्त शुल्क लिएको र शैक्षिकसत्र ०७५/७६ मा ६ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको बताएको छ ।


‘यो शैक्षिकसत्रमा नियमभन्दा धेरै लिएको देखिन आएको दुई लाख रुपैयाँसम्म समायोजन गर्न तयार छौं । अरु फिर्ता वा समायोजन गर्न पर्दैन, नियम अनुसार नै छ,’ डा. न्यौपानेको भनाइ रहने गरेको छ ।


देशभरका मेडिकल कलेजबाट विद्यार्थी प्रतिनिधि चितवन पुगेका छन् । भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरिएको हो ।

त्यस्तै आइतबार नै नेशनल मेडिकल कलेजका विद्यार्थीको अगुवाइमा वीरगञ्जमा पनि प्रदर्शन गरिने चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ । यसअघि मेडिकल शिक्षाका विद्यार्थीले लगातर ३ दिनसम्म काठमाडौंमा प्रदर्शन गरेका थिए । गण्डकी मेडिकल कलेज पोखराबाट सुरु भएको थियो । विद्यार्थी आन्दोलनका कारण गण्डकी, चितवन, नेसनल युनिभर्सल मेडिकल कलेजमा पढाई ठप्प छ ।


प्रकाशित : मंसिर ८, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?