कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

रसुवाको लाङटाङ क्षेत्रमा भालु आतंक

बलराम घिमिरे

रसुवा — पछिल्लो समय रसुवा जिल्लामा भालुको आक्रमण बढ्न थाले पछि आतंक मच्चिएको छ । कार्तिक १७ गते गोसाइँकुण्ड गाउँपालिका–५ तिवारीमा भालुको आक्रमणबाट आङदावा तामाङ गम्भिर घाइते भए । तिवारीबाट स्याफ्रुबेंसी आउँदै गर्दा करिब ४ देखि ५ बजेको समयमा तामाङलाई भालुले आक्रमण गरेको थियो ।

रसुवाको लाङटाङ क्षेत्रमा भालु आतंक

उनको अनुहार र टाउकोमा चाट लागेको छ ।


भालुको आक्रमणबाट गम्भीर घाइते भएका तामाङको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । असोज १० गते गोसाईकुण्ड गांउपालिका–६ भिमलीमा हरीप्रसाद घिमिरे पनि भालुको आक्रमणबाट घाइते भए । बाटोमा हिँड्दै गर्दा उनलाई भालुले आक्रमण गरेको हो ।


त्यस्तै भालुले आक्रमणबाट भदौ महिनामा तीनजना घाइते भएका छन् । आमा छोदिङ्मो गांउपालिका–१ हाकुका मिना तामाङ, नैकुण्ड गाउँपालिका–१ यार्साका मेम्बर लोप्चन र बेलकोटगढी नगरपालीका –११ नुवाकोटका प्रकाश तामाङ घाइते भएका छन् ।


भालुले आक्रमण गरेपछि घाइते पाँचैजनाले राहतको लागि लाङटाङ राष्ट्रिय निकुञ्जमा निवेदन दिएका छन् । त्यसमध्ये दुईजनाले राहत पाइसकेको लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर रमेश बस्नेतले बताए । ‘राहतको लागि तीनजनाको प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले भने ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधन २०७४ मा मानविय क्षति क्षतीको लागि राहत दिने व्यवस्था छ । क्षतिको राहत सहयोग निर्देशिकाको दोस्रो संशोधन २०७४ अनुसार सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको परिवारलाई क्षतिपूर्तिबापत बढिमा १० लाख रुपैयाँसम्म दिने व्यवस्था गरेको छ । सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेको लागि घाइतेको प्रकृति हेरी प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा रु दुई लाख सम्मको उपचार खर्च दिने व्यवस्था रहेको छ ।

पछिल्लो समय भालु गाउँबस्तीमै पस्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–३ वृद्धिममा दिनकै घरमै आएर भालुले दुःख दिने गरेको त्यहाँका वडा अध्यक्ष लाक्पा ग्याल्बो तामाङले बताए । ‘भालुले अहिलेसम्म १० वटा घरमा क्षति गरिसकेको छ । भालुको कारण गाउँलेहरु त्रसिद बनेका छन्,’ तामाङले भने, ‘तीन–चारवटाको बथान हिँड्छ राति गाउँमा एक्लै हिँड्डुल गर्न सकिँदैन ।’

जाडो महिना भर भालु गुफा बस्दछ । गुफा बस्नुभन्दा अगाडि भालुले खानेकुरा ठूलो मात्रामा खान्छन् । त्यसैले मानिसले लगाएको अन्नबाली खानको लागि बस्तीमा आउने गर्दछन् । साँझपख र राति पनि सक्रिय हुने भएकाले यसले बस्तीमा आंतक मच्चाउने गर्दछ । वनजंगलहरू मासिंदै जानु र बासस्थान अतिक्रमणका कारण जंगली जनवारहरु मानव बस्ती नजिकै आउने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । आहारको कमी, बासस्थान अतिक्रमणका कारणले जंगली जनवार र मानिसबीच द्वन्द्व बढ्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षाण अधिकृत सुष्मा रानाले बताइन् । ‘जंगली जनवारका नजिक मानिस देखा पर्‍यो भने पनि उसले आफूलाई आक्रमण गर्न आएको सोच्छ र मानिसलाई आक्रमण गर्छ,’ उनले भनिन् ।


भालुको आक्रमण बढ्दै गएपछि लाङटाङ राष्ट्रिय निकुञ्जले एकलै हिँड्डुल नगर्न सूचना समेत जारी गरेको छ ।


प्रकाशित : मंसिर ८, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?