१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कालापानी विवादबारे उत्तराखण्डका मुख्यमन्त्री भन्छन्- ‘वार्ताबाट समाधान निकाल्नुपर्छ’

सुरेशराज न्यौपाने

देहरादुन — अघिल्लो बुधबार कालापानी भारतकै भएको दाबीसहित अभिव्यक्ति दिएका कारण नेपालमा सामाजिक सन्जाल लगायतमा चर्को विरोध गरिएका भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले आफ्नै बचाउ गर्दै आफूले फरक प्रसंगमा उक्त अभिव्यक्ति दिएको दाबी गरेका छन् ।

कालापानी विवादबारे उत्तराखण्डका मुख्यमन्त्री भन्छन्- ‘वार्ताबाट समाधान निकाल्नुपर्छ’

भारतले २ नोभेम्बरमा सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई क्षेत्रलाई समावेश गरिएपछि नेपालमा चर्को विरोध जारी छ । भारतले नयाँ नक्सामा नेपालले आफ्नो दाबी गरेको क्षेत्रलाई आफ्नो उत्तराखण्ड राज्यमा समावेश गरेको छ । भारतले आफ्नो राजनीतिक नक्सामा उक्त क्षेत्रलाई समावेश गरेकोमा नेपालले त्यसको विरोध जनाउँदै शुक्रबार भारतलाई ‘कूटनीतिक नोट’ समेत पठाएको छ ।


अघिल्लो बुधबार भारतीय हिन्दी दैनिक अमरउज्याला लगायतका पत्रिकाले मुख्यमन्त्री रावतलाई उद्धृत गर्दै उनले भारतद्वारा जारी पछिल्लो राजनीतिक नक्साका कारण नेपालमा चर्को विरोध चलिरहेको विषयप्रति कालापानी क्षेत्र भारतकै भएको दाबी गरेको उल्लेख गरेका थिए । रावतले सञ्चारमाध्यममा आएको भनाइलाई पुरै अस्वीकार नगरे पनि फरक प्रसंगमा आफूले त्यस्तो टिप्पणी गरेको तर, सञ्चारमाध्यमले आफ्नो हिसाबले मात्र विषयलाई प्रस्तुत गरेको दाबी गरे । ‘मैले त्यस क्षेत्रको भारत र नेपालबीच रहेको आर्थिक र सामाजिक सम्बन्धलाई लिएर आफ्नो अभिव्यक्ति दिएको थिएँ’ उनले भने । रावतले कालापानी भारतको दाबी गरेको समाचार प्रकाशित भएपछि त्यसलाई लिएर नेपालमा उनको चर्को विरोध भएको थियो ।


देहरादुनमा सञ्चारकर्मीहरुसँगको भेटमा रावतले काली नदी र त्यसको क्षेत्रमा भारत र नेपालबीच ‘रोटीबेटी सम्बन्ध’ रहेको दाबी गर्दै यस्ता विवादलाई दुई मुलुकको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई असर पार्ने गरी चर्काउन नहुने समेत बताए । उनले सीमालाई लिएर विवाद छ भने दुवै देशले वार्ताद्वारा समाधान निकाल्नु पर्ने समेतको जिकिर गरे । ‘समस्या छ भने त्यसलाई वार्ताद्वारा नै समाधान गर्नुपर्छ, दुवै देशका सरकार मिलेर उचित निकास निकाल्नुपर्छ’ उनले भने ।


मुख्यमन्त्री रावतले कालापानीको विषयलाई लिएर नेपालमा चर्को विरोध हुनुका पछाडि तेस्रो शक्तिको हात हुनसक्नेमा आशंका व्यक्त गरे । ‘यस्ता विषयलाई उठाएर नेपाल र भारतलाई भिडाउने कोसिस जारी छ । कसैको कुटिल नजर छ दुई देशको सम्बन्धमा’ उनले भने । उनले त्यस्तो नजर लगाउने तेस्रो शक्तिका बारेमा केही बताएनन् ।


यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले पनि भारतीय नक्सालाई लिएर नेपालमा जारी विरोधका पछाडि केही स्वार्थी तत्वहरुको हात रहेको बताएका थिए । ‘हामीहरु दुवै मुलुकबीच असमझदारी सिर्जना गर्न चाहने त्यस्ता तत्वहरुबाट पनि जोगिनुपर्छ’ नेपालमा भइरहेको विरोधलाई लिएर दुई साताअघि भारतको तर्फबाट पहिलो पटक औपचारिक टिप्पणी गर्दै उनले भनेका थिए । प्रवक्ता कुमारले पनि मुख्यमन्त्री रावतले जस्तै त्यस किसिमको असझदारी सिजर्ना गराउन चाहने तत्वहरुका बारेमा भने खुलाएका थिएनन् ।

प्रकाशित : मंसिर ८, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?