१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मेडिकल कलेजले फिर्ता गरेनन् शुल्क

सुदीप कैनी

काठमाडौँ — सरकारले दिएको १५ दिने म्याद सकिए पनि मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । शिक्षा मन्त्रालयले कात्तिक २४ गते सूचना जारी गरेर १५ दिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले तेस्रो पटक दिएको समयसीमा आइतबार सकिँदै छ । मन्त्रालयले यसअघि गत चैत र दसैंअघि पनि शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । 

मेडिकल कलेजले फिर्ता गरेनन् शुल्क

सरकारको निर्देशनलाई बेवास्ता गरेपछि मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन चर्कंदै गएको छ भने सरकारले कलेजहरूविरुद्ध कारबाही अगाडि बढाउने तयारी गरेको छ । शुल्क फिर्ता गर्ने विषयमा कलेज प्रशासनले छलफलसम्म नगरेको गुनासो विद्यार्थीले गरेका छन् । ‘बढी लिएको रकम फिर्ता गर्नभन्दा आन्दोलन दबाउन सञ्चालकहरू लागिपरेका छन्,’ नेसनल मेडिकल कलेजका एक छात्रले भने, ‘रकम फिर्ताका लागि छलफलसम्म भएको छैन ।’


शिक्षा मन्त्रालयले १५ दिनभित्र रकम फिर्ता नभए विद्यार्थीलाई जिल्ला प्रशासनमा उजुरी दिन र प्रशासनलाई कारबाही अघि बढाउन आग्रह गरेको थियो । कारबाहीका लागि उसले गृह मन्त्रालयमा पत्राचारसमेत गरिसकेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले प्रमाणसहित विद्यार्थीले प्रशासनमा उजुरी दिन सक्ने बताए । ‘मेडिकल कलेजको शुल्क विवाद विश्वविद्यालयसँग जोडिएको छ, शिक्षा मन्त्रालयले नै टुंगो लगाओस् भनेर कलेजहरूलाई मौका दिइएको हो,’ उनले भने, ‘अन्तिम मौका दिँदा पनि टुंगो लाग्दैन भने जिल्ला प्रशासन कार्यालयले उजुरी लिएर कारबाही प्रक्रिया अघि बढाउँछ ।


उनले जुनसुकै विद्यार्थीले ठगीको प्रमाणसहित उजुरी दिन सक्ने बताए । ‘कुन–कुन कलेजले के–कति बदमासी गरेका छन्, शिक्षा मन्त्रालयसँग पुनः विवरण माग्दै पत्राचार गरेका छौं,’ शर्माले भने, ‘विवरण आएपछि कारबाही प्रक्रिया अघि बढ्छ ।’


सम्पत्ति शुद्धीकरण विभागले विद्यार्थीबाट अवैध शुल्क लिने कलेजका सञ्चालक, कर्मचारी र तिनका नातेदारको सम्पत्तिमाथि समेत छानबिन सुरु गरेको छ ।


०७५ असोज २८ मा मन्त्रिपरिषद् बैठकले एमबीबीएस र बीडीएसको शिक्षण शुल्क तोकेको थियो । तोकिएकोभन्दा बढी शुल्क लिए प्रशासनमा उजुरी दिन सक्ने र प्रशासनले कानुनी कारबाही अघि बढाउने निर्णयसमेत भएको थियो । उजुरी दिए पनि प्रमुख जिल्ला अधिकारीहरूले हतपत मेडिकल कलेजविरुद्ध उजुरी नलिने गरेको गुनासो विद्यार्थीको छ । ‘उजुरी दिँदा छलफल गराउने र शुल्क फिर्ता/समायोजन गर्ने सहमति गराउने गरिएको छ,’ चि तवन मेडिकल कलेजका अर्का छात्रले भने ।


गृहमन्त्री रामबहादुर थापाले समेत कलेजहरूलाई कारबाही अघि बढाउन कास्की, पर्सा, रूपन्देही र चितवनका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ । ‘शिक्षामन्त्री र गृहमन्त्रीबीच सकेसम्म शिक्षण शुल्कको विषय शिक्षा मन्त्रालयबाटै टुंगो लगाउने कुरा भएको थियो, कलेजहरूले अटेर गरेपछि ठगीअन्तर्गत मुद्दा चलाएर कारबाही अघि बढाउने तयारी गरिएको छ,’ स्रोतले भन्यो, ‘विद्यार्थी आन्दोलित बनेका जिल्लाहरूबाट कारबाही प्रक्रिया थाल्ने कुरा छ ।’


कास्कीको गण्डकी मेडिकल कलेजमा १० महिना, चितवनमा भदौ ५ देखि, युनिर्भसल र नेसनल मेडिकल कलेजमा दुई महिनादेखि आन्दोलन जारी छ । कलेज सञ्चालकले आन्दोलनप्रति बेवास्ता गर्दै आएका छन् । उनीहरूले शुल्क फिर्ता गर्नुपरे आगामी वर्षको भर्ना नै रोक्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष तथा नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले आन्दोलित विद्यार्थीलाई दमन गर्दै आएका छन् । अन्सारीसहित उच्च तहका कर्मचारी र सिनिअर विद्यार्थीले ज्यान मार्ने धम्की दिने गरेको विद्यार्थीले बताए । नेसनलमा विद्यार्थीलाई होस्टल प्रवेशमा रोक लगाउने र कुटपिटसमेत हुने गरेको छ । अन्सारी प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेकपाका नेताहरूनिकट छन् । सत्ताको संरक्षणमा उनले कलेजमा अवैध शुल्क उठाउने गरेको विद्यार्थीको आरोप छ । गण्डकी र युनिर्भसल मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल र नोबेल मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मालाई प्रतिपक्षी कांग्रेसनिकट नेताले संरक्षण गरेको उनीहरूको दाबी छ ।


चितवन मेडिकल कलेजले शुल्क समायोजन गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयन गरेको छैन । ०७५ सालयताको शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएको तर विद्यार्थीले माग थपेका कारण समस्या समाधान हुन नसकेको अध्यक्ष हरिशचन्द्र न्यौपानेले जनाए । ‘०७५ पछिको बढी शुल्क समायोजन गर्ने भनिएको हो, विद्यार्थीले ०७२ देखि नै फिर्ता माग्न थालेका छन्,’ उनले भने ।


सीएमसीको होस्टेल परिसरबाट पेस्तोल र गोली बरामद

यसैबीच चितवन मेडिकल कलेजको भरतपुर कैलाशनगरस्थित होस्टेल परिसरबाट प्रहरीले पेस्तोल र गोलीहरू बरामद गरेको छ । हतियार लुकाएको भन्ने सूचनाका आधारमा शनिबार साँझ खानतलास गर्दा कलेजको कम्पाउन्डभित्र होस्टेलको उत्तरपूर्वी किनारमा रहेको टेबलटेनिस कोर्टनजिक झोलामा पेस्तोलसहित गोली भेटिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । ‘होस्टेलबाहिर टेबलटेनिस कोर्टनिर बेवारिस अवस्थामा झोलामा भेटिएको हो,’ मल्लले भने ।


मेड इन यूएसए लेखेको एकथान पेस्तोलसहित दुई थान गोली, थ्रीनटथ्रीको एक थान गोली र एक थान खोका, एसएलआरको ६ थान खोका र ४ मिटर बिजुलीको तारसमेत फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले बताए । प्रहरीले घटनाको अनुसन्धानका लागि कलेजका ५ जना सुरक्षागार्डलाई नियन्त्रणमा लिएको छ । हतियार बरामदको विषयमा प्रतिक्रिया लिन खोज्दा कोही विद्यार्थी नेता उपलब्ध भएनन् । विद्यार्थीले आइतबार भरतपुरमा शुल्कविरुद्ध प्रदर्शन गर्दै छन् ।

प्रकाशित : मंसिर ८, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?