'ओलीको राष्ट्रवाद कालापानी पुगेर समर्पणवादमा' : कांग्रेस सभापति देउवा

लालप्रसाद शर्मा

पोखरा — कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संसदबाट पारित हुन नदिने बताएका छन् । सहमति र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत अध्यादेश ल्याउन खोजिएको भन्दै देउवाले सरकारले जवरजस्ती गरे सडकमासमेत जाने जनाए ।


सहमतिको बाटो बन्द गरेर सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन ल्याउन लागेको भन्दै उनले आक्रोश व्यक्त गरे। परिषद्लाई कठपुतली बनाएर सबै निकायमा एकलौटी गर्ने उद्देश्य रहेको भन्दै उनले यसविरुद्ध सदनमा मात्र नभइ सडकमासमेत जाने बताए। ‘अख्तियारलगायत संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ती गरी सरकारले शाही आयोगजस्तो बनाउन लागेको छ,’ उनले भने, ‘कम्युनिष्ट सरकारले जनताका सबै अधिकार खोस्न लागेको छ। हामी कुनै हालतमा छाड्ने छैनौं।’

सत्तापक्षले बदमासी गर्छ भनेर संसद राखिएको र सत्तापक्ष र संसद मिलेर अनियमित गर्न खोजे त्यसको नियन्त्रणका लागि स्वतन्त्र न्यायपालिकाको अवधारणा रहेको देउवाले बताए। ‘सत्ता र संसद मिलेर न्यायका सिद्धान्त, प्रजातन्त्रका मुल्य र मान्यताविपरीत काम गरेमा खत्तम पार्छ भनेर स्वतन्त्र न्यायालय राखिएको हो,’ नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनको वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै देउवाले भने, ‘अहिलेको सरकार न्यायलयलगायत विभिन्न संवैधानिक अंगको अधिकार खोस्न थालेको छ। यसतर्फ कानुन व्यवसायी चनाखो हुनुपर्छ।’

देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा पुगेर समर्पणवादमा परिणत भएको जनाए। राष्ट्रवाद चुनाव जित्ने खोल मात्रै बनाएको भन्दै उनले अहिले कालापानीमा पुगेर लम्पसारवादमा गएको उनले आरोप लगाए। विगतमा नेताबीचको झगडाले निर्वाचनमा हार्नुपरेको भन्दै अव मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पठाइएको भन्दै यो चिन्ताको विषय रहेको बताए। संविधान र राज्य व्यवस्थामा क्याविनेट भन्दा पनि माथिको संस्था परिषद् रहेकोमा प्रधानमन्त्रीले खल्तीमा हाल्न खोजेको आरोप उनले लगााए।

‘प्रधानमन्त्री तानाशाह बन्दैछन्,’ उनले भने, ‘६ जनाको सहमतिले नियुक्ति गर्ने प्रणालीमा अव प्रमले एकजनालाई साथमा लिएर निर्णय गर्ने छन। यो राष्ट्रिय चिन्ताको कुरा हो।’ जनताका अधिकार कटौती गरी संविधानका धारा कुल्चेर ऐनबाट नियन्त्रणमा ल्याउने काम सरकारले गरिरहेको उनले बताए। परिषद्लाई आफु अनुकुलमा ल्याउने गरी अध्यादेश जारी हुनु संविधानको मर्म र भावनामा आघात पुग्ने भन्दै उनले अध्यादेश लोकतन्त्र, संविधान र गणतन्त्र बिरोधी काम रहेको जनाए। राष्ट्रपतिले अध्यादेशमा लालमोहर लगाउन नहुने उनको भनाइ थियो।

कांग्रेस महामन्त्री सशांक कोइरालाले सरकारलले कुनकुन क्षेत्र र अंगमा हस्तक्षेप गर्‍यो, कहाँ हस्तक्षेपको संभावना छ भन्ने विषयमा कानुन व्यवसायीले आवाज बुलन्द गर्नुपर्ने बताए।

प्रकाशित : मंसिर ६, २०७६ १४:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किमाथांका नाकामा तस्करको नजर

दीपेन्द्र शाक्य

संखुवासभा — असोज २७ गते पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित भोटखोला गाउँपालिकाको च्याम्ताङबाट तोप्चेन भोटे पक्राउ परे । झोलामा सुन राखेर ल्याउँदै गर्दा उनी पक्राउ परेका थिए । सुन तस्करीको यो पहिलो घटना थिएन ।

पटकपटक ठूलो मात्रामा सुन तिब्बतबाट सदरमुकाम खाँदबारी हुँदै जिल्ला बाहिरिन्थ्यो । यो पटक भने प्रहरीलाई गतिलो सुराकी फेला पर्‍यो । प्रहरी स्रोतका अनुसार सुराकीले जिल्ला प्रहरी कार्यालयमै खबर गरेर सुन ल्याइँदै गरेको जानकारी गराएको थियो । तिब्बतबाट नेपालतर्फ सुन ल्याउँदै गरेका भोटे पक्राउ परेसँगै लामो समयदेखि यो सीमाबाट सुन तस्करी हुने गरेको खुल्यो ।

भोटेको बयानका आधारमा प्रहरीले खाँदबारी नगरपालिका–१ का जर्का भोटे र भोटखोला गाउँपालिका स्थायी घर भई खाँदबारी बस्ने छ्याङ रिन्जिन भोटेलाई पनि पक्राउ गर्‍यो । प्रहरीसँगको बयानमा भोटेले लामो समयदेखि यही नाकामा सुन ओसार्ने भरियाको काम गरिरहेको खुलाए । सदरमुकाम खाँदबारीबाट ३ दिनको पैदल दूरीमा सुनसहित भोटेलाई पक्राउ गरिएको थियो ।

च्याम्ताङ भौगोलिक रूपमा निकै विकट मानिन्छ । त्यहाँसम्म पुग्न सदरमुकाम खाँदबारीबाट कम्तीमा ३ दिन हिँड्नैपर्छ । किमाथांकाबाट चाँगा बजार पुग्न भने आधा घण्टा लाग्छ । सुन तस्करका नाइकेसम्म पुग्ने गरी अनुसन्धान थालेकाले तस्करीको जालो खुल्ने प्रहरीको दाबी छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) मीमबहादुर लामाका अनुसार भोटेले सुन सीमा कटाउनासाथ सुराकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उत्तरी क्षेत्रमा कडाइका साथ प्रहरी परिचालन गरिएको डीएसपी लामाले बताए ।

किमाथांका पारी चाँगा र देन्दाङ सहर छन् । त्यहाँ ठूला सपिङ कम्प्लेक्स खुलिसकेका छन् । तिब्बत र नेपाली व्यापारीको लगानीमा सुन ल्याइन्छ ।

एक ठाउँबाट सुन अर्को ठाउँसम्म पुर्‍याउने जिम्मामा धेरै समूह परिचालित भएको आशंका प्रहरीको छ । चीनबाट खाँदबारी हुँदै लुकिछिपी विराटनगर, काठमाडौंलगायत सहरमा सुन तस्करी हुने गरेको प्रहरी अनुमान छ । ‘सुन तस्करीमा ठूलो समूहको संलग्नता रहेको देखिन्छ,’ डीएसपी लामाले भने, ‘यस विषयमा हामी सूक्ष्म अनुसन्धान गरिरहेका छौं ।’ यो बाटो हुँदै सुन ओसारपसार हुने हल्ला चले पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको थिएन । ‘हामीले नाकाहरूमा गरेको सूक्ष्म निगरानीले बल्ल परिणाम देखिएको छ,’ भोटे पक्राउपछि उनले भने, ‘यो घटनाले अब अरू तस्करीको पनि पोल खुल्दै जानेछ ।’

भारतको जोगबनी–विराटनगर हुँदै खाँदबारीबाट किमाथांका नाका त्रिदेशीय लिंक रोडका रूपमा परिचित छ । चीनको तिब्बत निस्कने सबैभन्दा छोटो बाटो नै कोसी–ल्हासा राजमार्ग हो । तिब्बत र संखुवासभाको सीमावर्ती किमाथांका नाका खुला रहेकाले चीनतर्फ आवतजावत सहज भएको छ । जसका कारण तस्करी पनि मौलाएको छ । खाँदबारी किमाथांकाको १६२ मध्ये १४ किलोमिटर मात्र सडक निर्माण हुन बाँकी छ । अहिले हिउँद र वर्षात्को बेला हटियाको गोला अर्थात खाँदबारीबाट करिब ८२ किलोमिटरसम्म साना सवारीका साधन चल्छन् ।

नाकामा भन्सार छैन
भौगोलिक विकटता र भन्सारमा जाँच नहुँदा यस नाकामा तस्करी बढेको स्थानीयको भनाइ छ । किमाथांका भन्सार कार्यालय पनि सदरमुकामको एउटा कोठामा छ । भन्सार नहुँदा यस्ता गतिविधि मौलाएको हटियाका थुदोक भोटेले बताए । ‘प्रहरीको उपस्थिति न्यून छ,’ उनले भने, ‘त्यसको फाइदा तस्करले उठाइरहेका छन् । दरबन्दीअनुसारको प्रहरी जनशक्ति छैन ।’

पर्याप्त प्रहरी भए सुरक्षा व्यवस्था कडा हुन्थ्यो । ‘केही समयअघिसम्म वन्यजन्तुको हाडछाला यो नाका हुँदै तिब्बत लगिन्थ्यो,’ उनले भने, ‘अहिले सुन तस्करी हुन थालेको रहेछ ।’ प्रहरीले यसअघि पटकपटक यही नाकाबाट तस्करी भएको वन्यजन्तुको हाडछाला पक्राउ गरेको थियो । स्थानीय बासिन्दाले भन्सार नाकामै स्थापनाको माग गरे पनि सुनुवाइ भएको छैन ।

हेलिकप्टर प्रयोग
भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाकामा पर्ने किमाथांका, हटिया, पावाखोला, चेपुवालाई सरकारले निषेधित क्षेत्रमा राखेको छ । यो क्षेत्रमा हेलिकप्टर उडाउँदा कति समय र के प्रयोजनका लागि हो भन्ने खुलाउनुपर्छ । तर, निजी कम्पनीका हेलिकप्टर यो क्षेत्रमा आउँदा बिरामी रेस्क्युको नाममा आउँछन् । स्थानीयले बिरामी बोक्ने नाममा अवैध धन्दा गरेको आरोप लगाउँदै आएका छन् ।

त्यसपछि प्रहरी प्रशासनले निषेधित क्षेत्रका लागि उड्ने हेलिकप्टरका लागि कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा अवतरण गरिसकेपछि चेकजाँच गर्ने र एक जना प्रहरी कर्मचारी राखेर उडान भर्ने गरिएको छ । यी क्षेत्रमा आउने हेलिकप्टर कम्पनीले तुम्लिङटारमा रहेको नागरिक उड्डयन कार्यालयसँग पनि सम्पर्क नगरी निषेधित क्षेत्र जाने गरेपछि प्रहरीले कडाइ गरेको हो ।

करोडौंको कारोबार
सुन तस्करको आरोपमा पक्राउ परेका खाँदबारीका जर्का भोटेको बैंक खातामा करोडौंको कारोबार भएको भेटिएको छ । स्रोतका अनुसार भोटेको बैंकको एउटा शाखामा ठूलो रकम कारोबार भएको हो । उक्त रकम भोटे पक्राउ परेपछि कारोबार भएको भेटिएको छ । पक्राउ परेका भरियाले जर्कालाई एउटा फलामे बाकसमा सामान ल्याउने र बुझाउने गरेका थिए । भोटेको बैंक खातामा करोडौं रकम कसले र किन पठायो भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

पटकपटक यो नाकाबाट सुन तस्करी भए पनि सदरमुकाम खाँदबारीका सुन पसलमा भने बिक्री नभएको प्रहरी अनुसन्धानले देखाएको छ । तस्करी भएर आएको सुन जिल्ला सदरमुकाम र आसपासका बजारमा किनबेच नभएको प्रहरी स्रोतले जनायो । तस्करी भएको सुन धरान, विराटनगर र राजधानीसम्म पुग्थ्यो । तस्करले खाँदबारीसम्म मात्र सुन ल्याउन पनि हरेक गाउँपिच्छे अर्को भरियाको प्रयोग गर्ने गरेका थिए । तस्करले सुन ओसारपसार गर्न यो जिल्लालाई एउटा रुट मात्रै बनाएको खुलेको छ ।

सुन समातिएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै नाकामा कडाइ गर्ने निर्णय गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी जीवन दुलालले सुन तस्करीमा संगठित रूपमा अपराध गर्ने गिरोह नै संलग्न भएको बताए । ‘सुन तस्करीसहित अन्य आपराधिक क्रियाकलाप रोक्न हामी सूक्ष्म अनुसन्धानमा छौं,’ उनले भने, ‘त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी अहिले पनि परिचालन गरिरहेका छौं ।’ प्रशासनले छिट्टै सशस्त्र प्रहरीको युनिट पनि किमाथांकामा राख्ने योजना बनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७६ १३:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×